२०८२, पौष १२ गते

Dec 27 2025 | २०८२, पौष १२ गते

लुम्बिनीमा आजदेखि लुम्बिनी न्युज फेस्टिवल

शनिवार , पौष १२, २०८२

  • 253
    Shares
  • 253
    Shares
  • भैरहवा । बुद्ध जन्न्मस्थल लुम्बिनीमा आजदेखि लुम्बिनी न्युज फेस्टिवल शुरु भएको छ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको आयोजनामा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ शुरु भएको हो । 

    आजदेखि शुरु भएको लुम्बिनी न्यूज फेस्टिवल पुष १४ गते सकिने छ । लुम्बिनीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयको सभाहलमा आयोजना गरिएको न्युज फेस्टिवलमा पत्रकारिताको प्रबद्र्धन, पत्रकारिताको माध्ययमबाट लुम्बिनीको प्रबद्र्धन र यस क्षेत्रका मुद्दाहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्न फेस्टिवल आयोजना गरिएको क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दीपेन्द्र बडुवालले जानकारी दिनुभयो । 

    न्युज फेस्टिबल कार्यक्रममा मोफसलको समग्र पत्रकारिता, संघीयतामा प्रेसको संरचना, आर्थिक विकास र पर्यटन प्रबद्र्धनमा पत्रकारको भूमिका, समाचारका विषय, लेखन र साहित्य, कलाको विषयमा नेपालमा अग्रज पत्रकार, सम्पादक, लेखक, संवाददाता सहभागी भएर बहसको सिर्जना गरिने बडुवालको भनाइ छ । 

    न्युज फेस्टिवलले मोफसलको पत्रकारितालाई थप उचाइ प्रदान गर्ने विश्वास लिइएको अध्यक्ष कमल रायमाझीको भनाई छ । उहाँकाअनुसार यो कार्यक्रमका माध्ययमबाट  यस क्षेत्रको आर्थिक, सामाजिक, राजनीतिक, औद्योगिक एवं व्यवसायिक मुद्दा, स्थानीय तह र प्रदेश सरकारको भूमिका, प्रभावकारिता र गर्नुपर्ने कामबारे राष्ट्रियरुपमा नै बहस सिर्जना हुनेछ । 

    कार्यक्रममा भारतको दिल्ली प्रेस क्लब, काशी पत्रकार संघ, बनारस प्रेस क्लब, गोरखपुर प्रेस क्लब, महाराजगन्ज प्रेस क्लब, सिक्किम प्रेस क्लबबाट पत्रकारहरुको सहभागिता रहने महासचिव प्रकाश न्यौपानेले जानकारी दिनुभयो । 

    भारतीय राष्ट्रिय मिडियाका प्रभावशाली पत्रकारहरु र बीबीसी हिन्दीदेखि सहाराका सम्पादक तथा पुर्वसम्पादकहरु आउने क्रममा रहेको क्लवले जनाएको छ ।

    यस्तै, लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरु, सभामुख, उपसभामुख, प्रतिपक्षी दलका नेता, प्रदेश सरकारका सचिवहरु, प्रदेश पत्रकार महासंघ, प्रदेशका १२ जिल्लाका पत्रकार महासंघका अध्यक्ष, चितवन, बर्दिया र पोखराबाट पर्यटन व्यवसायी तथा पत्रकारहरु, रुपन्देही, कपिलवस्तु र नवलपरासी (ग्रेटर लुम्बिनी) क्षेत्रका पत्रकार, स्थानीय तहका जनप्रतिनिधि, लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारी, लुम्बिनी बौद्ध विश्वविद्यालयका अधिकृत तहका कर्मचारी, उद्योगी, व्यवसायी, सामाजिक संघसंस्था, विद्यार्थी र सर्वसाधरण सहभागी हुनेछन् ।

    करिब ४० मिडियामाबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रममा ५ सयभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ ।

    कार्यक्रम उद्घाटन सत्रपछि ‘सीमापार सम्बन्धः आवश्यकता र सम्भावनाना’, ‘लुम्बिनीः लगानी र पर्यटनको सामथ्र्य’ र ‘पत्रकारितामा प्रश्नः जिम्मेवारी र जवाफदेहिता’ विषयमा प्यानल डिस्कसन हुनेछ । यसले लुम्बिनी क्षेत्रको ब्राण्डिङ गर्नुका साथै लुम्बिनी प्रदेशको पत्रकारिताको विकास र सीमापार सम्वन्धलाई अझै मजबुत पार्ने क्लवको उपाध्यक्ष दीपक घिमिरेले बताउनु भयो । प्यानल छलफलमा नेपाल–भारतका चर्चित पत्रकारहरु सहभागी हुनुहुने छ । 

    ‘पत्रकारितामा सफलताका लागि काठमाडौँ भन्ने परम्परालाई बाहिर बसेकाले पनि गरेको मेहनतबारे यो कार्यक्रमले विशेष महत्व राख्ने अग्रज पत्रकार तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष डा बालकृष्ण चापागाईले बताउनु भयो । 

    ‘मुलुकमा संविधान जारी भएर संघीयता कार्यान्वयन भएको लामो समय भइसकेको छ । संघ, प्रदेश र स्थानीय सरकार कार्यान्वयन भइसकेका छन् । यससँगै सिंहदरबारको अधिकार घरघरमा पुगेको छ । यसले काठमाडौँमा केन्द्रित शासनव्यवस्था विकेन्द्रिकृत भएको छ । यससँगै मुलुकमा रहेका संचारमाध्यामले आफूलाई संघीय स्वरुप प्रदान गरिरहेका छन् । तर पत्रकारिताको मूलधार अझै संघीय राजधानीमै केन्द्रित छ । यस्ता कार्यक्रमले यी विषयलाई चिर्दै जानेछ,’ उहाँले भन्नुभयो । 

    क्लबले २०७६ साल मंसिर १, २ र ३ गते प्रथम लुम्बिनी न्युज फेस्टिबल आयोजना गरेको थियो । कोरोना महामारीलगायत कारण यसलाई वार्षिक रुपमा निरन्तरता दिन नसकेपछि २०८० मा भैरहवामा दोस्रो न्युज फेस्टिबल गरेर यसपटक लुम्बिनीमा भव्यरुपमा ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना गर्न लागिएको उपाध्यक्ष घिमिरेले बताउनुभयो । 

    क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले मोफसलमा रहेका पत्रकारहरुको क्षमता, रचना र योजना यसखालका कार्यक्रमले देखाउने बताउँदै स्वदेशसँगै विदेशबाट आउने विशिष्ट पत्रकारले यो क्षेत्रको पत्रकारितासँगै पर्यटन, आर्थिक क्षेत्र र पत्रकारिताले उठाउनुपर्ने एजेण्डाका विषयमा बहस गराउने उल्लेख गर्नुभयो । 

    यस्ता कार्यक्रमले सकारात्मक चिन्तन र आलोचनात्मक समर्थनलाई बढाउँदै लुम्बिनी र आसपास क्षेत्रका विषयमा छलफल, सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था र विदेशी मित्रराष्ट्रका कुटनीतिक नियोगहरुसँग समन्वय र सहकार्य गरी अधिकारमा आधारित दिगो विकासमा टेवा पुराउने उनको भनाइ छ ।