२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

‘पत्रकार लोकतन्त्र, सत्य र जनताको पक्षमा हुनुपर्छ’

बुधवार , बैशाख १५, २०७८

भैरहवा, १५ वैशाख । 
पत्रकार सधै लोकतन्त्र, सत्य र जनताको पक्षमा हुनुपर्ने स्थानीय सरकारका प्रमुखले जोड दिएका छन् । सिद्धार्थनगर नगरपालिका, रुपन्देहीले नेपाल पत्रकार महासंघ रुपन्देहीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै नगरप्रमुख हरि प्रसाद अधिकारीले प्रतिगमनविरुद्ध पत्रकारहरुले देखाएको साहस प्रशसनिय रहेको बताए । उनले भने, ‘पत्रकारले गलतलाई गलत र सहीलाई सही भन्नुपर्छ । पत्रकार महासंघको निर्वाचनमा यहाँहरुले सत्यको पक्षमा गरेको मतदानको म सम्मान गर्छु । ’

नगरप्रमुख अधिकारीले नियतवश गरेको गल्तीलाई पत्रकारले थाहा पाएसम्म समाचार लेखेर जनमानसमा पुर्याउनुपर्ने पनि बताए । उनले भने,‘पत्रकारहरुले स्थानीय सरकारलाई घचघचाउनुपर्छ । उनले सक्रिय पत्रकारको सुरक्षित भविष्यको लागि अक्षयकोष खडा गरेर काम गर्न सुझाव समेत दिए । 

विगतमा सक्रियतापूर्वक समाज परिवर्तन र जनताको पक्षमा रहेका कतिपय पत्रकारहरु आर्थिक समस्यामा परेको हुँदा भविष्यमा आईपर्ने समस्या टार्न अक्षयकोषको जरुरी रहेको अधिकारीको भनाइ छ ।

सो अवसरमा उपप्रमुख उमा काफ्लेले भनिन, ‘पत्रकारहरु सधै सत्य, लोकतन्त्र र जनताको पक्षमा हुनुपर्छ ।’ उनले समाजको सम्मानित पेशा पत्रकारिता क्षेत्रले खेलेको भुमिका प्रशंसनीय रहेको बताउँदै भनिन,‘बौद्धिक श्रमजीवि समुदाय नै पत्रकार हो ।’ 
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले स्थानीय सरकारले गरेका गतिविधिको खोजमूलक ढंगले समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले अबको पत्रकारिता समीक्षात्मक र खोजमूलक नै हुने बताए । लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के.सी.ले पत्रकारिता क्षेत्र सधै सत्यतथ्यको पक्षमा उभिने बताए ।