
बुधवार , बैशाख १५, २०७८
रोल्पा, १५ बैशाख।
रोल्पामा ३ वटा गाँउमा एकसाथ आगलागी हुँदा ३१ वटा घर र गोठ जलेका छन्। आगलागीका कारण जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्वर २ को कापडाँडा गाउँका १९, बर्तिबाङ गाउँका ६ र सानो चेत्रे गाउँका ६ गरी ३१ घरगोठ जलेर पुर्णरुपमा क्षति भएको हो।
प्रहरीका अनुसार आगलागीका कारण २० वटा बाख्रा, १३ वटा गाई पनि जलेर मरेका छन्। सोही वडाको पिराले, धानबाङ, रामपुर, प्युरी लगायका गाउँ र जंगलमा पनि ३ दिनदेखि आगलागी भइरहेको छ। ३ दिनमा त्रिवेणी गाउँपालिका वडा नम्वर २ का २÷३ वटा गाउँ बाहेक सबै जस्तो भुभागमा आगलागी भएको प्रहरीको भनाई छ।
प्रहरीको प्रारम्भिक तथ्यांकमा २६ वटा घर र ५ वटा गोठ जलेको रोल्पाका प्रहरी प्रमुख एवं डिएसपी नरेशराज सुवेदीले बताए। रामपुर गाउँ र चेत्रे गाउँको जंगलमा लागीरहेको आगो नियन्त्रणमा लिनको लागि गाउँले र सुरक्षाकर्मीहरुले प्रयास गरिरहेको भएपनि आगो नियन्त्रण बाहिर गएको स्थानीयले बताए।
आगलागीमा परी यता हिजो साँझबाट सोही ठाउँबाट आएको आगोको झिल्को सल्कीएर रुन्टीगढी गाउँपालिका वडा नम्वर ९ को सर्पाल र गुनाम गाउँको काकरिबाङ, गुनाम भित्ता र बजेरी जंगलमा पनि आगलागी भइरहेको छ।
३ दिनदेखि बिभिन्न गाउँ र जंगलमा लागेको आगो नियन्त्रणका लागि स्थानीयबासी सुरक्षाकर्मीहरु खटिएपनि अझै आगो नियन्त्रणमा आउन सकेको छैन् । रातभर स्थानीयलाई आफ्ना सरसामान बाहिर निकालेर सुरक्षित स्थानमा बस्नका आग्रह गरिएको रोल्पाका प्रहरी प्रमुख डिएसपी सुवेदीले बताए।
निरन्तरको हावाहुरीका कारण आगो जताततै फैलिएको र नियन्त्रणका लागि कठिनाई भएको प्रहरीले बताएको छ। नेपाली सेना, नेपाल प्रहरी र स्थानियहरु आगो निभाउन प्रयासरत रहेको समाचार छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij