२०८२, पौष १५ गते

Dec 30 2025 | २०८२, पौष १५ गते

मदिरा व्यवसायी संघ भैरहवाले बनायो २८ बुँदे वार्षिक कार्ययोजना

मंगलवार , पौष १५, २०८२

  • 388
    Shares
  • 388
    Shares
  • भैरहवा, १५ पुस । मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको वार्षिक कार्यशाला गोष्ठी–२०८२ सम्पन्न भएको छ । पुस १२ र १३ गते नवलपरासीको त्रिवेणीमा सम्पन्न गोष्ठीले २८ बुँदे वार्षिक कार्ययोजना तय गरेको संघका अध्यक्ष यादव पोख्रेलले बताउनुभयो ।

    के-के छन् २८ बुँदे कार्ययोजनामा ?

    संघका अध्यक्ष पोख्रेलका अनुसार कार्ययोजनामा उत्पादक कम्पनी तथा डिलरसँग छलफल तथा विभिन्न विषयमा अन्तरक्रिया गरी समस्याको समाधान, संघमा नयाँ सदस्य आबद्ध गराउने, वनभोज कार्यक्रम आयोजना, होलीमिलन, नयाँ वर्षको क्यालेण्डर प्रकाशन, विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम, अध्ययन अवलोकन भ्रमण, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने समावेश छ ।

    त्यस्तै अन्तशुल्क नविकरणको लागि सहजीकरण, कर शिक्षा तालिम गरी व्यवसायीलाई प्रशिक्षण, तीज मिलन कार्यक्रम, अन्य व्यवसायिक संघ–संस्थाहरुसँग समन्वयकारी भूमिका निर्वाह, मदिरा व्यवसायीको फर्म दर्ता (सदस्यता) नविकरण तथा घरदैलो कार्यक्रम, दशैं तिहार, छठ तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान, संस्थाको स्थापना दिवसको दिन विभिन्न कार्यक्रमसहित राहत वितरण र मदिरा मूल्यसूची निर्माणका लागि पहल गर्ने कार्ययोजनामा उल्लेख छ ।

    त्यसै गरी अवैध मदिरालाई निरुत्साहित गर्नका लागि सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न कार्यक्रममार्फत भूमिका निर्वाह, स्थानीय तह, सरकारी तथा गैरसरकारी संघ–संस्थासँग आवश्यक समन्वय तथा सहकार्य, स्थलगत अध्ययन गरी व्यवसायिक राहत कोष वितरण, कार्यालय चुस्तदुरुस्त राखी सञ्चालन, सूचना आदानप्रदान सम्बन्धी विभिन्न सञ्चारमार्फत समन्वय, व्यवसायीको गुनासो सुनी छलफल, बजार अनुगमन गरी दररेटमा एकरुपता ल्याउने र स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम गरिने अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।

    त्यस्तै सरसफाई कार्यक्रम, वार्षिक कार्ययोजना मूल्यांकन समिति संयोजकहरुको कार्यमूल्यांकन समिति, मदिरा व्यवसायीका समस्याहरुलाई सम्बन्धित निकायमा सल्लाह, सुझाव र समाधानका उपायसहित पेश गर्ने, रक्तदान कार्यक्रम तथा नेतृत्व विकास तालिम सञ्चालन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

    मदिरा व्यवसायी संघ भैरहवाका कोषाध्यक्ष विनोद आचार्यको स्वागत तथा महासचिव सुन्दर भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष बाबुराम पाण्डे, संस्थापक अध्यक्ष केशवराज ज्ञवाली, सल्लाहकार खिम बहादुर खत्री, ठाकुर कुमार श्रेष्ठ लगायतले बोल्नुभएको थियो । 

    कार्यक्रममा बोल्ने अतिथिहरुले मदिरा व्यवसायी संघ भैरहवाले व्यवसायीको हकहितसँगै सामाजिक कार्यहरुलाई अगाडि बढाउनु सराहनीय रहेको बताउनुभयो ।

    कार्यक्रममा पुस ५ गते भैरहवामा सम्पन्न संघको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

    संघका मनोनित सदस्य गौरव बहादुर थापालाई निर्वाचन अधिकृत खिम बहादुर खत्रीलाई सपथ ग्रहण गराउनुभएको थियो । त्यस्तै संघको टोलीले बाल्मीकी आश्रमको अवलोकन समेत गरेको छ ।

    WhatsApp Image 2025-12-28 at 5.53.37 PM.jpeg