
बुधवार , बैशाख १५, २०७८
बुटवल, १५ वैशाख ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको नियमित बैठक बुधबार बुटवलमा सम्पन्न भएको छ । महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा सम्पन्न बैठकले कोभिड–१९ को महामारीमा आफ्नो जीवनलाई पहिलो प्राथमिकतामा राखेर दैनिक कार्यसम्पादन गर्न तथा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्ने निर्णय गरेको छ ।
सम्पूर्ण पत्रकारहरुलाई ‘सुरुमा आफू सुरक्षित रहौं, त्यसपछि मात्रै सञ्चारकर्मीका रुपमा भूमिका निर्वाह गरौं’ नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तय गरेका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आह्वान गरेको छ ।
त्यस्तै बैठकले कोरोना महामारीका बेला पत्रकारहरुले खाइपाई आएको सेवा सुविधा कटौती नहुने गरी घरबाटै काम गर्ने वातावरण बनाउन सञ्चार गृहलाई आग्रह गरेको छ । बैठकले रुपन्देहीका स्थानीय तह, सरकारका विभिन्न निकायलाई सूचना प्रवाह एंव कोभिड नियन्त्रण तथा सचेतना अभियानमा सञ्चार माध्यमको अधिकतम प्रयोग गर्न तथा पत्रकारलाई कोभिड नियन्त्रणको अभियानसँगै लिएर अघि बढ्न अपिल गरेको छ ।
बैठकले कोरोना महामारीका रुपमा फैलिएकाले आवश्यक सूूचना संकलनमा पत्रकारहरुलाई अवरोध नगरी नागरिकको सुसुचित हुने अधिकारलाई बढावा दिन तथा सरकार, सुरक्षा निकाय, प्रशासन एंव सम्बद्ध सबैलाई समन्वय र सहकार्यका लागि अनुरोध गरेको छ ।
बैठकले कोरोना संक्रमित बिरामीले उपचार नै नपाउने, अक्सिजनको अभावमा मृत्यूू हुनुपर्ने जस्ता समस्याहरु देखा परेकाले संघीय, प्रदेश तथा स्थानीय सरकारसँग नागरिकको स्वास्थ्य सुरक्षालाई संरक्षण गर्न एंव उपचार सेवा प्रभावकारी बनाउन जोडदार माग गरेको छ । त्यसै गरी कोरोना महामारीमा पत्रकारहरुका लागि आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउन पहल गर्ने निर्णय गरिएको सचिव विनोद परियारले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij