बिहिवार , पौष १७, २०८२
आफूले सुनेको या पढेको कुरा छाड्दा पनि मलाई यतिबेला २०६४/०६५ को याद आइरहेको छ । २०४६/०४७ को आन्दोलनमा बुझेर सचेततापूर्वक भन्दा पनि अग्रजहरुको आग्रहमा एकदिन मैले पञ्चायतविरोधी जुलुसमा भाग लिएको थिएँ । ०४६/०४८ को आन्दोलनको बारेमा म स्वयं प्रत्यक्ष जानकार रहिन । यसर्थ पनि त्यस आसपासको विषयमा कुरा गर्नु वस्तुवादी नहुन सक्छ । तर, पहिलो संविधान सभाको निर्वाचनको जग र त्यसताकाको बारेमा कुरा गर्नु अनुभव अनुभूति र वस्तुवादी समेत हुन्छ भन्ने लाग्छ ।
०६४/०६५ तिर देश माओवादीमय बनेको थियो । यसको कारण र परिणाम के भयो त ? यसको बारेमा केही चर्चा सान्दर्भिक हुन्छ जस्तो लाग्छ । २०४७ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु प्राक) मा संगठित भएर राजनैतिक यात्रामा प्रवेश गरेको म २०५१ मा क्रान्तिकारी नीति, सिद्वान्त भन्दै अखिल (क्रान्तिकारी) मा संगठित हुँदै २०५५ सालबाट पूर्णकालिन कार्यकर्ता बनेर माओवादी पार्टीको भूमिगत जीवनमा प्रवेश गरेको थिएँ । लामो भूमिगत राजनीति निकै क्रान्तिकारी सपना बाड्दै सजाउँदै पुरै सत्ता कब्जा गर्ने धनी–गरीबबीचको खाडल मेटाउने, स्वाधिन राष्ट्र निर्माण गर्ने, जाती, क्षेत्रबीच रहेका सबै विभेद अन्त्य गर्ने, शिक्षा, स्वास्थ्य वैज्ञानिक र निःशुल्क बनाउने लगायतका धेरै ठूला मीठा सपना थिए । त्यही सपना पढाइएको थियो र जनतामा बाँडिएको थियो ।
२००७ सालको क्रान्ति, ०४६/०४७ को आन्दोलनको प्रतिबद्धता र भावनाको वस्तुवादी कार्यान्वयन हुने वातावरण नहुनु र सोहीअनुरुपको प्रतिबद्धतामा कमी देखिनुको कारण आन्दोलन भएको ५÷७ वर्षमै देशमा माओवादी आन्दोलन सुरु भएको थियो ।
हजारौंको बलिदान भयो, हजारौ घाइते, अपांग भए धेरै भौतिक सम्पत्तिको क्षति भयो । पजेरो र महलमा संसदीय नेता रमाए भ्रष्टाचार मौलायो दलाल पूँजी हावी भयो । मुठ्ठीभर व्यक्ति सुखसुविधा मस्तीमा रमाउने, बहुसंख्यक जनता गरीबीको जातोमा पिसिने भयो भन्दै हजारौं युवा वैकल्पिक सेना सत्ता निर्माण गर्दै माओवादी नेतृत्मा अगाडि बढेका थिए । साँच्चै माओवादीले देश जनता मुक्त गर्छ भन्ने जनतालाई पर्याे । केही आशा, केही त्राससहित २०६५ मा माओवादी पार्टी देशकै ठुलो पार्टी बन्यो । काँग्रेस–एमाले लगायत दल निकै साना भए । काँग्रेस, एमाले, राप्रपाका कयौं नेता–कार्यकर्ता माओवादीमा ओइरिए । कतिपय सुरक्षाको लागि र अवसरको लागि त कतिपय साँच्चै राम्रो हुने भयो भन्ने बुझाइका साथ माओवादीमा समाहित भएका थिए । जनमत प्राप्त भयो सरकार पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा बन्यो । तर, क्रमशः असलियतहरु खुल्दै गए । राजनैतिक हिसाबले कयौं राम्रा योगदान माओवादी आन्दोलनको जग र २०६२÷०६३ को आन्दोलनले दियो । तर, राजनैतिक उपलब्धीले जब जनताको जीवन फेरिदैन जब परिवर्तनको आन्दोलनको नेतृत्वमा स्खलन हुन्छ र आन्दोलनले स्थापित गरेका मूल्यमान्यता ध्वस्त पारिन्छन्, तब सरकार पार्टी सबै गुम्ने रहेछ भन्ने कुरा माओवादीको आन्दोलनबाट सिक्न सकिन्छ । एक हदसम्म लामो समय सत्ता र सरकार वरीपरी रहेका राजनैतिक दलहरुमा पनि यो कुरा लागू भएको छ ।
गत भदौ २३ गते नेपालमा नयाँ खालको आन्दोलन भयो । त्यो आन्दोलनमा पहिला जस्तो प्रशिक्षित र संगठित पार्टी र नेता–कार्यकर्ता थिएनन् । मूलत दुईवटा माग या भावना थियो–देशमा भ्रष्टाचार बढ्यो, सुशासन चाहियो, सामाजिक सञ्जाल निर्वाध चल्नुपर्याे । बिडम्बना भू–राजनीतिक षडयन्त्रको कारण निर्दाेष बालबालिकाको मृत्यु हुने हिसाबले आन्दोलनमा घुसपैठ भयो । २३ गते दिउँसो र २४ गते देशभर विध्वंश मच्चाइयो । सत्ता रिक्तताको अवस्था सिर्जना भयो ।
अन्ततः केही समयमा अन्तर्राष्ट्रिय र राष्ट्रिय शक्ति सन्तुलनको अवस्था हुन पुग्यो । २३, २४ को बारेमा मैले पटकपटक सामाजिक सञ्जालमा मेरो धारणा राखिसकेको छु । यसर्थ यहाँ मेरो विषय त्यो होइन् । भदौ २४ अगाडिबाटै देशमा मूलत डिजिटल मिडियाबाट समकालीन राजनैतिक दल असक्षम भ्रष्ट हुन् भन्ने भावना र भाष्य जनमानसमा स्थापित गर्ने कोशिष भइहेको थियो । त्यसकै जगबाट भदौ २४ र त्यसपछिको राजनैतिक घटनाक्रम अगाडि बढिरहेका छन् । हो राजनैतिक दल कमीकमजोरीरहित रहेनन् । तर, अहिले पनि माओवादी आन्दोलनको सुरुवात विस्तार र उत्कर्षमा जे जसरी तात्कालिन राजनैतिक दल र व्यवस्थाका साथै अवस्थाका बारेमा जसरी जनमानसमा जुनप्रकारको भाष्य र मनोभावना जाग्रित एवं स्थापित गरिएको थियो अहिले ठ्याक्कै त्यही भइरहेको छ ।
२०६४÷०६५ तिर ठूलो बनेको दल र त्यसले स्थापित गरेको मान्यता र मनोविज्ञान र अहिले निर्माण भएका दल र तिनले स्थापित गर्न खोजेको मान्यताका बीचमा निकै ठुलो अन्तर छ । त्यतिबेलाको माओवादी जति कमजोरीका बाबजुद निश्चित सिद्वान्त, नीति र कार्यक्रमद्वारा प्रशिक्षित र संगठित थियो । तर, अहिले निर्माण भएका दल र तिनले स्थापित गरेको मान्यता नितान्त भावनात्मक आवेशद्वारा निर्माण भएका छन् । त्यतिबेलाको आन्दोलनले राज्यका केन्द्रिय र ऐतिहासिक धरोहरहरुमाथि आक्रमण गरेको थिएन । तर, गत भदौ २४ ले देश र व्यवस्था नै सिध्याउने प्रकारले विध्वंश मच्चाएको छ । जेजसो होस् देश चुनावतिर जाँदैछ ।
२०६५ को जस्तै नतिजा आउने सम्भावना पनि छ । दुई कारणले एउटा स्थापित र इतिहास भएका दल र तिनका नेता भ्रष्ट हुन देश खाए भन्ने भाष्य स्थापित गर्ने कोशिष भइरहेको छ । दोस्रो गत २४ गते संगठित अपराधिक मनोविज्ञान भएकाहरुको हातमा हतियार छन । यही सेरोफेरो र मनोविज्ञानबाट प्रभाबित भएर स्थापित दलका स्थापित नेता–कार्यकर्ता पनि अवसरको निरन्तरताको लागि दल त्याग गरिरहेका छन् र नवगठित दलमा प्रवेश गरिरहेका छन्, जसरी ०६४/०६५ तिर माओवादीमा प्रवेशको लहर थियो । आशा गरौं सरकारले नेपाली सेना समेतको प्रयोगद्वारा शान्तिपूर्ण वातावरणमा निष्पक्ष चुनाब गराउनेछ र देश लयमा जानेछ । माओवादी पार्टी आन्दोलन भन्दा पनि दुःखान्त हिसाबले अहिले बन्दै गरेका पार्टीको अन्तः नहोस हार्दिक कामना । अहिले बन्दै गरेका पार्टीको पनि दुखान्त अन्त्य नहोस् हार्दिक शुभकामना । तर, सैद्वान्तिक नीतिगत र सांगठनिक कुनै जग नभएका दललाई जनताले मत दिए पनि तासको घर जसरी ढल्ने कुरा विगत र वर्तमानले बताइरहेकै छ । तसर्थ, सत्ता र शक्तिमा रमाउने र हतारहतार बार्गेनिङ गर्दै स्थापित दल छाड्नेहरु विचार पुर्याउ आगे चेते चेते नै पिछे चेते होते नै हुनेछ ।
२०५१ मा क्रान्ति परिवर्तन भन्दै एमाले छाडेको म २०७४ देखि पुनः एमालेमै छु र यही विश्वस्त छु । ऐतिहासिक हिसाबले हेर्दा हाम्रो बाधक या राजनैतिक आदोलनको देशको दुर्गतीको कारण मूलतः पहिलो अस्थिर मनोविज्ञान दोस्रो तीव्र व्यक्तिवादी महत्वाकांक्षा, तेस्रो व्यवहारमा पश्चगामी चिन्तन सोच र शैली । यी तीन कारणले दिने भनेको पार्टी राजनीतिमा स्वस्थ छलफल र रुपान्तरणको कमी राजनैतिक व्यवस्थामा अस्थिरता हो । जबसम्म यी विषय हल गर्ने चेत विकास गर्न सकिँदैन चक्र घुमिरहन्छ । सचेत बनौं, सजग बनौ, भावनात्मक हिसाबले होइन, नीतिगत हिसाबले सोचौ बहस गरौ र लागौं ।
(लेखक नेकपा एमाले लुम्बिनी प्रदेशको सल्लाहकार हुनुहुन्छ)
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij