२०८२, पौष १८ गते

Jan 02 2026 | २०८२, पौष १८ गते

पवन कुमार सेठिया स्मृति क्रिकेट हुँदै, प्रतियोगिताअघि ‘क्लोज क्याम्प’

शुक्रवार , पौष १८, २०८२

  • 241
    Shares
  • 241
    Shares
  • भैरहवा, १८ पुस । रुपन्देही क्रिकेट संघको आयोजनामा ‘पवन कुमार सेठिया स्मृति मैत्रीपूर्ण क्रिकेट टुर्नामेन्ट–२०८२’ हुने भएको छ । भैरहवाका व्यवसायी हरिश सेठियाले आफ्ना बुवा स्वर्गीय पवन कुमार सेठियाको स्मृतिमा यो प्रतियोगिताको मुख्य प्रायोजन गर्नुभएको छ ।

    सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ क्रिकेट रंगशालामा यही पुस २० गतेदेखि प्रतियोगिता सञ्चालन हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले बताउनुभयो । अध्यक्ष थापाका अनुसार मैत्रीपूर्ण प्रतियोगिता त्रिभुवन आर्मी क्लब र रुपन्देही–११ बीच हुनेछ ।

    प्रतियोगिताअघि बिहीबारदेखि खेलाडीहरुको प्रशिक्षण (क्लोज क्याम्प) सुरु भएको कार्यक्रम संयोजक तथा रुपन्देही क्रिकेट संघका उपाध्यक्ष धिरज अधिकारी क्षेत्रीले बताउनुभयो ।  यो प्रशिक्षण तीन दिनसम्म सञ्चालन हुने संघका अध्यक्ष थापाले जानकारी दिनुभयो । ‘प्रशिक्षणमा ८ वटा खेल सञ्चालन हुनेछन्, जसबाट रुपन्देही–११ टीमका लागि १४ जना खेलाडी छनौट गरिनेछ, ५० ओभरका एकदिवसीय तीनवटा खेल, ९० ओभरका दुईवटा र टी–२० तीनवटा हुनेछन्, ’उहाँले भन्नुभयो ।

    खेलाडीलाई उत्कृष्ट खेल प्रदर्शन गर्न प्रशिक्षण उपयोगी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । बढी भन्दा बढी खेलकुद प्रतियोगिता हुँदा खेलाडीलाई प्रतिभा देखाउन मद्दत पुग्ने उहाँले बताउनुभयो ।

    पुस २० गतेदेखि १० दिनसम्म सञ्चालन हुने प्रतियोगिताले त्रिभुवन आर्मी क्लब ‘ए’ र रुपन्देही–११ बीच भाइचाराको सम्बन्ध स्थापित गर्ने उहाँले उल्लेख गर्नुभयो । ‘प्रतियोगिताको मुख्य प्रायोजन गर्नुहुने सेठिया परिवारलाई धन्यवाद दिन चाहन्छौं । संघले आयोजना गर्न लागेको प्रतियोगिता नमूना कार्य हो, अध्यक्ष थापाले भन्नुभयो’ ।  

    रुपन्देही क्रिकेट संघका प्रमुख प्रशिक्षक बसन्त शाही ठकुरीले संघले आयोजना गर्न लागेको पवन कुमार सेठिया स्मृति मैत्रीपूर्ण क्रिकेट टुर्नामेन्ट–२०८२’ (क्रिकेट प्रतियोगिता) तीनवटा फर्मेटमा खेलाइने जानकारी जानकारी दिनुभयो । ‘तीनवटै फर्मेटमा धेरै खेलाडी सहभागी हुने मौका जुरेको छ, यो प्रतियोगितामार्फत भविष्यमा रुपन्देही क्रिकेटको ‘बेन्च स्ट्रेन्थ’ तयार पार्नमा मद्दत मिल्नेछ ।’ त्रिभुवन आर्मी क्लब र रुपन्देही–११ बीच प्रतियोगिता हुने उहाँले बताउनुभयो ।