२०८२, पौष २३ गते

Jan 07 2026 | २०८२, पौष २३ गते

रुपन्देहीले जित्यो दुईदिवसीय टेष्ट सिरिज

मंगलवार , पौष २२, २०८२

  • 727
    Shares
  • 727
    Shares
  • भैरहवा, २२ पुस । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ अन्तर्गत दुई दिवसीय टेष्ट रुपन्देही–११ ले हात पारेको छ । रुपन्देहीले त्रिभुवन आर्मी क्लब ‘ए’ लाई १ सय १ रनले पराजित गर्दै जीत निकालेको हो ।

    आइतबार रुपन्देहीले पहिलो इनिङमा १ सय २२ रन बनाएको थियो भने आर्मीले दुई १ सय ५५ रन बनाएको थियो । यसक्रममा आर्मीका जितेन्द्रसिंह ठकुरी ५८ रनमा अविजित रहेका थिए ।

    सोमबार भएको दोस्रो इनिङमा रुपन्देहीले २ सय ५ रन बनाएर पारी घोषित गर्यो । जसमा देव खनालले ७८ र प्रज्वल थापाले नटआउट ४२ रन बनाए । बलिङमा आर्मीका अनिश धामी र पारससिंह धामीले २–२ विकेट लिए । आर्मीले पहिलो दिन १६ रनले अग्रता लिए पनि दोस्रो दिन रुपन्देहीले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याउने क्रममा ७१ रनमा अलआउट भयो ।

    रुपन्देहीको इनिङ सुरु हुनुअघि आर्मीले ३३ रनले अग्रता लिएको थियो । आर्मीका प्रदीप पेलाले २१, जितेन्द्र सिंह ठकुरीले १७ र प्रदीप सिंह चाइसिरले १६ रन बनाए । बलिङमा रुपन्देहीका सन्देश थापा र अजय कुमार चौहानले ३–३ तथा सुरज खड्का र विशाल भुसालले १–१ विकेट लिए । अजयकुमार चौहान म्यान अफ द म्याच घोषित भए ।

    नेपालमै पहिलोपटक तीनवटा फम्र्याटमा दुई टीमबीच प्रतिष्पर्धा भइरहेको हो । दुईदिवसीय टेष्ट सकिएसँगै मंगलबारबाट वनडे सिरिज हुनेछ । प्रतियोगितालाई भैरहवाका व्यवसायी हरिश सेठिया र सुनिल सेठियाले आफ्ना बुवा स्वर्गीय पवन कुमार सेठियाको स्मृतिमा मुख्य प्रायोजन गरेका छन् । 

    प्रतियोगितामा विजेता टीमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यी दुवै पुरस्कार भैरहवाको लुम्बिनी नेत्रालय प्रालिले प्रायोजन गरेको छ । 

    प्रतियोगिता संयोजक प्रथम पराजुलीलका अनुसार पुस २३, २५ र २७ गते ओडीआई, २९, ३० र माघ १ गते टी–ट्वान्टी क्रिकेट सिरिज हुनेछ ।