२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रुपन्देहीमा आजदेखि वैशाख ३० गतेसम्म निषेधाज्ञा

बिहिवार , बैशाख १६, २०७८

भैरहवा, १६ वैशाख । 

कोरोना भाइरस संक्रमण रोकथामका लागि रुपन्देहीमा बिहीबार (आज) देखि वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मंगलबार एक आदेश जारी गर्दै तीव्र रुपमा फैलिएको कोरोनाको दोस्रो लहरको नियन्त्रणका लागि बिहीबार बिहान ६ बजेदेखि वैशाख ३० गते बिहान ६ बजेसम्मका लागि रुपन्देही जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

निषेधाज्ञा अवधिमा औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन पाइने छैन । अतिआवश्यक सवारीसाधनलाई मात्र संचालन गर्न दिइनेछ । जसमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाइन फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु छन् । त्यसै गरी अत्याआवश्यक बाहेकका पसल व्यवसाय बन्द गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङद्वारा जारी आदेशमा निषेधाज्ञा अवधिभर जिल्लाभित्र सबै प्रकारका निजी तथा सर्वाजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको उल्लेख छ ।

त्यसै गरी अन्तर्राष्ट्रिय सीमा नाकामा भारत लगायत तेस्रो मुलुकबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न पूर्ण रुपमा रोक लगाइने जनाइएको छ । 

निषेधाज्ञा कडाइका साथ लागू गरिने र उल्लघंन गर्नेलाई संक्रामक रोग ऐन २०२० को उपदफा २ बमोजिम कारवाही हुने रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । ‘संक्रमणबाट बच्न सबै सचेत हुनुपर्छ, निषेधाज्ञा कार्यान्वयन गर्नु नागरिकको दायित्व पनि हो’, उनले भने, ‘सुरक्षाकर्मी परिचालन गरेर निषेधाज्ञा कडाइ गरिनेछ, यदि उल्लंघन भए कारवाहीको दायरामा ल्याउँछौं ।’

अहिले रुपन्देहीमा कोरोना संक्रमण तीव्र रुपमा बढेको छ । अहिले रुपन्देहीमा कोरोना संक्रमण तीव्र रुपमा बढेको छ । सक्रिय संक्रमितको संख्या २ हजार २ सय १२ पुगेको छ । सक्रिय संक्रमितका कारण जिल्लाका सरकारी तथा निजी अस्पतालका आईसीयू, भेन्टिलेटर, जनरल र अक्सिजनसहित एचडी वार्डहरु भरिएका छन् ।