२०८२, पौष २५ गते

Jan 09 2026 | २०८२, पौष २५ गते

मगर संघ रुपन्देहीले माघे संक्रान्ति विशेष साँस्कृतिक कार्यक्रम गर्दै

बिहिवार , पौष २४, २०८२

  • 568
    Shares
  • 568
    Shares
  • बुटवल, २४ पुस । नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीले माघे संक्रान्तिको अवसरमा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । समितिले यही पुस २५ गते शुक्रबार (भोली) बुटवलमा आयोजना गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष थर्क बाह्रघरे मगरले जानकारी दिनुभयो । 

    ‘मगर इतिहास, भाषा संस्कृति संरक्षण–सम्वद्र्धन मगरहरुको मूल मन्त्र, मगरात पहिचान र स्वायत्त साशनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने मूल नारासहित कार्यक्रम आयोजना गर्न लागिएको हो । भारतीय चर्चित रियालिटी शो डान्स आइडल विजेता कलाकार तेरिया फौजा मगरको विशेष प्रस्तुती रहने कार्यक्रममा मगर भाषा र संस्कृति झल्किने प्रस्तुतीहरु रहने आयोजकले जनाएका छन्। 

    बुटवलको कालिकानगरस्थित दियालो फुडल्याण्डमा आयोजना हुने कार्यक्रममा जिल्लाका विभिन्न पालिकाहरुबाट प्रतिनिधित्व गर्दै सहभागी कलाकारहरुद्वारा सोरठी, कौडा, झाम्रे लगायतका प्रस्तुतीहरु रहनेछन् । 

    माघे संक्रान्तिको शुभकामना आदानप्रदानसहित आयोजना हुने कार्यक्रममा मगर परम्पराका खानाका परिकारहरु सेलरोटी, बारा, उसिनेको तरुल, अचार लगायतको स्वाद समेत लिन सकिने आयोजक संस्थाका सदस्य शंकर गाह मगरले जानकारी दिनुभयो । कार्यक्रममा मगर समुदायका व्यक्तिहरुले लेखेका पुस्तक प्रदर्शनी तथा भोषभुसा र परम्पराको बारेमा जानकारी गराइने भएको छ । दिउँसो १ बजेदेखि साँझसम्म आयोजना हुने कार्यक्रममा १ हजार बढीको सहभागीता रहने अनुमान गरिएको छ । 

    रुपन्देहीमा १ लाख २१ हजार बढीको संख्यामा मगर समुदायको बसोबास छ । माघे संक्रान्तिको अवसरमा विभिन्न पालिका तथा वडा तहमा समेत धुमधामकासाथ यो पर्व मनाउने गरिन्छ । मगर संघ रुपन्देहीले बुटवलमा पहिलोपटक साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो भने आगामी वर्षमा सप्ताहव्यापी रुपमै कार्यक्रम गर्ने योजना बनाएको छ ।