२०८२, पौष २७ गते

Jan 11 2026 | २०८२, पौष २७ गते

ज्ञानको कुनै सीमा हुँदैन : सन्तोष परियार

शनिवार , पौष २६, २०८२

  • 544
    Shares
  • 544
    Shares
  • भैरहवा, २६ पुस । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का अध्यक्ष तथा पूर्व प्रतिनिधि सभा सदस्य सन्तोष परियारले ज्ञानको कुनै जात, राज्य, धर्म र सीमा नहुने बताउनुभएको छ । उहाँले नेपाली युवायुवती र विद्यार्थीहरु संसारका कुनै पनि कुनामा गएर ज्ञान आर्जन गर्न पाउनुपर्छ भन्ने आफ्नो आफ्नो व्यक्तिगत विश्वास भएको बताउनुभयो । 

    शुक्रबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित राष्ट्रिय शैक्षिक परामर्श संघ (एनईसीए) लुम्बिनी प्रदेशको प्रथम वार्षिक साधारण सभाको उद्घाटन गर्नुहुँदै अध्यक्ष परियारले भन्नुभयो–‘राज्यले नियमन भने गर्नुपर्छ । तपाईहरुको संरक्षण गर्ने दायित्व पनि राज्यको हो ।’

    sskkk.jpg

    उहाँले तोकिएको मिति अर्थात फागुन २१ मा निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो । निर्वाचन समयमै गर्न निर्वाचन आयोग र सरकारलाई आग्रह गर्नुभयो । ‘नेपाल सरकारले फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने म्याण्डेट पाएको छ । अन्य कुरामा नलागी समयमै निर्वाचन सम्पन्न गराउनेतर्फ केन्द्रीत हुन म आग्रह गर्दछु, ’उहाँले भन्नुभयो’

    नेपाली विद्यार्थीहरुलाई संसारको कुनाकुनामा पठाएर ज्ञान आर्जन गराएर देश निर्माणका लागि स्वदेश फर्काउने वातावरण राज्यले नै बनाउनुपर्ने नेता परियारले बताउनुभयो । कुनै व्यवसायप्रति राम्रो धारणा नभइनकन नकारात्मक सोचले समृद्धिको कुरा गरेर मुलुक समृद्ध हुन नसक्ने उहाँको भनाइ छ । ‘कति गाह्रो होला उद्योग–व्यवसाय सञ्चालन गर्न ? कोभिडको मार, बन्द, भूकम्प र जेनजी आन्दोलन र अहिलेको हाम्रो अर्थतन्त्र, कति अफ्ठयारो होला भन्ने कुरा म महसुस गर्न सक्छु । बैंकमा पैसा थुप्रिएको छ । तर, त्यो झिकी ल्याएर काम गर्ने आँट हामीसँग छैन । त्यो पैसा झिकेर लगानी गर्न सकेका छैनौ । किनभने राज्यबाट हाम्रो लगानीको सुरक्षाको प्रत्याभूति हुन सकेको छैन ।’

    राज्य निकै नै महत्वपूर्ण र गम्भिर विषय भएको उहाँको भनाइ छ । ‘सबै राम्रो भए समग्रतामा राज्य राम्रो हुन्छ । खण्डखण्डमा हेर्ने होइन, शिक्षा, संस्कृति, स्वास्थ्य, सुरक्षा, वातावरण, राजनीति, व्यवसाय, उद्योग, संस्कृति राम्रो भयो राज्य समग्रतामा राम्रो हुन्छ, ’उहाँले भन्नुभयो ।

    नेता परियारले प्रयाप्त सम्भावना हुँदाहुँदै राज्य किन समृद्ध हुन सकेन भन्ने कुराले आफूलाई सधै घोचिरहने भएकोले राजनीतिमा आएको उहाँको भनाइ छ । ‘राज्यलाई माया गर्नेहरु एकठाउँमा आउनुपर्छ । जेनजी आन्दोलनले एउटा राम्रो काम गरेको छ, ‘बा’ पुस्ताबाट राजनीति खोसेर हाम्रो पुस्तामा ल्याएको छ, अब हामी सबै मिलेर अगाडि बढ्नुपर्छ, उहाँले भन्नुभयो ।’

    कार्यक्रममा राष्ट्रिय शैक्षिक परामर्श संघ, नेपालका केन्द्रीय अध्यक्ष सन्तोष प्याकुरेलले पढ्न आउने विद्यार्थीहरुको अभिभावकलाई पनि बुझाउन जरुरी रहेको बताउनुभयो । उहाँले कुनै पनि देशको जोखिम र अवसरको बारेमा जानकारी दिन आग्रह गर्नुभयो । 

    संघका केन्द्रीय उपाध्यक्ष रमन कोइरालाले लुम्बिनी प्रदेश शैक्षिक क्षेत्रमा अगाडि रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरुको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । ‘तपाईहरुको हरेक सकारात्मक पहलमा हाम्रो साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दछु, ’उहाँले भन्नुभयो । 

    राष्ट्रिय शैक्षिक परामर्श संघ, नेपाल लुम्बिनी प्रदेश अध्यक्ष गणेश गौडेल, बुटवल उद्योग वाणिज्य संघका कोषाध्यक्ष बसन्त प्रसाद ढकाललगायतले बोल्नुभएको थियो । 

    विदुर खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचन, राष्ट्रिय शैक्षिक परामर्श संघ, नेपालका केन्द्रीय सदस्य मोहन तिगेला, ई–क्यान रुपन्देहीका अध्यक्ष गोविन्द बस्नेत, एनईसीए उपाध्यक्ष सुशील पाण्डे, सचिव नारायण पोखरेल, कार्यक्रम संयोजक योगेश ढकाल, मिडिया कोर्डिनेटर सूर्य गहतराज लगायतको उपस्थिति रहेको थियो ।