२०८२, फाल्गुण २३ गते

Mar 07 2026 | २०८२, फाल्गुण २३ गते

अध्यक्ष ढकालको प्रश्न : निजी क्षेत्रप्रति नकारात्मक धारणा किन ?

आइतवार , पौष २७, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, २७ पुस । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रप्रति किन यति धेरै नकारात्मक धारणा र बुझाइ छ भन्दै प्रश्न गर्नुभएको छ । उहाँले उहाँले निजी क्षेत्र नभएको भए के अवस्था हुन्थ्यो होला भन्दै प्रश्न गर्नुभयो ।

    शनिबार भैरहवामा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६७ औं वार्षिक साधारण सभाको उद्घाटन गर्नुहुँदै अध्यक्ष ढकालले विद्यालयलाई जस्तै निजी क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने बताउनुभयो । नेपाल सरकारले विद्यालयलाई शान्ति क्षेत्र भनेजस्तै निजी क्षेत्र, औद्योगिक प्रतिष्ठान, कलकारखानालाई हड्ताल, आगजनी र तोडफोड गर्न नमिल्ने क्षेत्रको रुपमा प्राथमिकतामा राखी ड्राफ्ट बनाएर महासंघले सरकारलाई दिएको जानकारी दिनुभयो । वर्तमान सरकारको मन्त्रीपरिषद्ले छिट्टै नै यसबारे निर्णय गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    जेनजी आन्दोलनको बेला सरकारी क्षेत्रमा भएको तोडफोड तथा आगजनीका घटना तथा संरचना उठ्न नसकेकाले पाल ओढाएर ढाकेर राखिएको तर, निजी क्षेत्रमा भएको मर्मत तथा पुनर्निर्माण गरेर सञ्चालनमा आउन थालिसकेको उहाँले बताउनुभयो ।

    अध्यक्ष ढकालले नेपालको पूँजी परिचालन गरी ठूला आयोजना देशभित्र सञ्चालन गर्न सकिने बताए । नेपालका केही हुँदैन भन्ने भाष्यलाई चिर्नका लागि आफूहरूले नेपालकै पुँजी परिचालन गरी सबै क्षेत्रका व्यवसायीलाई समेटी १० अर्बको लगानीमा कम्पनी स्थापना गरेको बताए ।

    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि आफ्नोतर्फबाट निरन्तर पहल गरिरहने उहाँको भनाइ छ ।

    नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६० औं महाधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन हुनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘छोटो समयमा महासंघको उचाई बढेको छ, त्यसलाई निरन्तरता दिन सर्वसम्मत नेतृत्व चयन हुनुपर्छ भन्ने मेरो धारणा छ, यसका लागि यहाँहरुले पनि पहल गर्नुहोला, ’उहाँले भन्नुभयो । 

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले निजी क्षेत्रको प्रतिनिधिका रूपमा संघले विगतदेखि नै राजनीतिक स्थायीत्व, आर्थिक समृद्धि र विकासमुखी नीतिलाई सरकार तथा राजनीतिक दलहरूको मुख्य एजेण्डा बनाएनुपर्ने माग गर्दै आइरहेको बताउनुभयो ।‘ स्पष्ट तथा दीर्घकालीन उद्योग–व्यवसाय नीति अभाव र विद्यमान नीति तथा नियमहरूको प्रभावकारी कार्यान्वयन नहुँदा समस्या झनै जटिल बन्दै गएको छ । उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा राज्यले उद्योगी–व्यवसायीको हितमा सम्बोधन गर्नुपर्ने धेरै विषयहरू अझै यथावत छन । आगामी दिनमा ती समस्याहरू समाधान हुने विश्वास लिँदै हाम्रो पहल र दबाब निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दछु, ’अध्यक्ष आचार्यले भन्नुभयो ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले स्थानीय सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले युवा पुस्तालाई वेवास्ता गर्दा मुलुकमा समस्या आएको बताउनुभयो । 

    उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले निजी क्षेत्रले मुलुकमा स्थायीत्व खोजेको बताउनुभयो । 
    उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठले निर्माण भइसकेका अन्तर्राष्ट्रिय विमानस्थलहरु नचल्दा रुन मन लाग्ने गरेको बताृनुभयो ।

    लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुनुपर्ने बताउनुभयो । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिलिप कुमार कान्दु, महासचिव कृष्ण प्रसाद घिमिरे लगायतले बोल्नुभएको थियो ।

    संघले साधारण सभाका अवसरमा सञ्चारकर्मी पुनहरि बेलवासेसहित साहित्यकार डिल्लीराज भट्टराई, क्रिकेट खेलाडी रमेश कुर्मी, विद्यार्थी सन्ध्या गौतम, सन्दिप यादव, अलि अनवर अलि मुसलमान, सुमिनमा पोखरेल, आस्था सुनार, तेस्रो मुलुक धेरै निर्यात गर्ने यशोदा फुड्स प्रा.लि., भारत निर्यात गर्ने जगदम्बा सेन्थेटिक्स, व्यवसायी नुरुल हसन अन्सारी, चन्द्रमान श्रेष्ठ, गोबिन्द प्रसाद गोयनका, अजय कुमार गुप्ता लगायतलाई सम्मान गरेको थियो ।