आइतवार , पौष २७, २०८२
करिब सात दशकको गौरवशाली ऐतिहासिक पृष्ठभूमिका साथ आज हामी रुपन्देही जिल्लाको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६७ औं वार्षिक साधारण सभाको उद्घाटन सत्रको गरिमामय कार्यक्रममा उपस्थित भएका छौं ।
६६ औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट मलाई विश्वास गरी संघको अध्यक्ष जस्तो गहन जिम्मेवारी सुम्पनुहुने सम्पूर्ण आदरणीय सदस्यज्यूहरू तथा शुभेच्छुकहरूप्रति म हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु ।
संघको मूल उद्देश्यअनुरूप उद्योग तथा व्यवसाय क्षेत्रको विकास र प्रवद्र्धनका लागि निरन्तर पहल, पैरवी तथा सहकार्य गर्दै उद्योगी–व्यवसायीहरूको हकहितको संरक्षण र उनीहरूका समस्याहरूको समाधानमा संघ सधैँ समर्पित रहेको कुरा यहाँहरू समक्ष जानकारी गराउन चाहन्छु ।
त्यसै गरी व्यवसायिक सामाजिक उत्तरदायित्वप्रति पनि हामी उत्तिकै प्रतिबद्ध रहँदै यस क्षेत्रको सामाजिक, आर्थिक, पर्यटन विकास, उपभोक्ता स्वास्थ्य, शिक्षा लगायतका विविध क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको कुरा यस सम्मानित सभामा अवगत गराउन चाहन्छु ।
उद्योग–व्यवसायमा लामो समयदेखि संलग्न रहनुभएका अनुभवी व्यवसायीहरू, साथै भारत तथा तेस्रो मुलुकमा वस्तु निर्यात गर्ने उद्योग प्रतिष्ठानहरूलाई सम्मान गर्दै उद्योग व्यवसायमा निरन्तर लागिरहन प्रेरणा प्रदान गर्दै आएका छौं । साथै हाम्रा सदस्यहरूको क्षमता अभिवृद्धि र स्तरवृद्धिका लागि विभिन्न तालिम, अन्तरक्रिया तथा कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छौँ ।
यसै क्रममा यस क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई हरेक वर्ष छात्रवृत्ति तथा सम्मान प्रदान गर्दै आएका छौँ । साहित्य, पत्रकारिता तथा खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुभएका व्यक्तित्वहरूलाई संघअन्तर्गत रहेका विभिन्न अक्षयकोषमार्फत सम्मान गर्ने परम्परालाई निरन्तरता दिइएको छ ।
संघसमक्ष आइपुगेका उद्योगी–व्यवसायीहरूका विविध समस्याहरूको समाधानका लागि हामी निरन्तर रूपमा क्रियाशील छौं । कोभिड–१९ महामारीपछि सुरु भएको आर्थिक मन्दी अझैसम्म पूर्ण रूपमा उकासिन नसकेको अवस्थामा भदौ २३ र २४ गतेको ‘जेन–जी आन्दोलन’ ले सिर्जना गरेको थप चुनौतीले उद्योगी–व्यवसायी मात्र नभइ समग्र निजी क्षेत्र प्रभावित भएको छ । यस अवस्थाबाट कसरी उद्योग–व्यवसायलाई पुनः उकास्न सकिन्छ भन्ने विषयमा हामी जिल्ला तहदेखि केन्द्रसम्म निरन्तर पहलरत छौँ ।
निजी क्षेत्रको प्रतिनिधिका रूपमा हामीले विगतदेखि नै राजनीतिक स्थायीत्व, आर्थिक समृद्धि र विकासमुखी नीतिलाई सबै सरकार तथा राजनीतिक दलहरूको मुख्य एजेण्डा बनाइनु पर्ने माग गर्दै आइरहेका छौँ र आज पनि यही आग्रह पुनः दोहोर्याउन चाहन्छौं ।
स्पष्ट तथा दीर्घकालीन उद्योग–व्यवसाय नीति अभाव र विद्यमान नीति तथा नियमहरूको प्रभावकारी कार्यान्वयन नहुँदा समस्या झनै जटिल बन्दै गएको छ । उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा राज्यले उद्योगी–व्यवसायीको हितमा सम्बोधन गर्नुपर्ने धेरै विषयहरू अझै यथावत छन । आगामी दिनमा ती समस्याहरू समाधान हुने विश्वास लिँदै हाम्रो पहल र दबाब निरन्तर रहने प्रतिबद्धता यस सभामार्फत व्यक्त गर्दछु ।
जिल्लाको आर्थिक, सामाजिक, शैक्षिक तथा साँस्कृतिक प्रवद्र्धनमा संघले निरन्तर कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । देशको विभिन्न राजनीतिक तथा आर्थिक परिवेशसँग संघलाई समयानुकूल बनाउँदै राष्ट्रिय महत्वका आर्थिक, औद्योगिक तथा पूर्वाधार विकासका क्षेत्रमा सहकार्य गर्ने संस्थाको रूपमा संघ स्थापित हुन सफल भएको छ । स्थानीय तहहरूसँगको सहकार्यमा विकास निर्माणका सवालहरूमा होस् वा व्यवसायीहरूको हित संरक्षणका विषयमा होस—सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुसार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही सक्रिय रूपमा कार्यरत छ ।
निजी क्षेत्रको छाता संगठनका रूपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्यहरूमध्ये एक सिद्धार्थ उद्योग वाणिज्य संघ महासंघ लगायत विभिन्न राष्ट्रिय संघ–संस्थाबाट समय–समयमा विभिन्न विधामा सम्मानित हुँदै आएको कुराले हामीलाई थप जिम्मेवार र उत्साहित बनाएको छ ।
अन्त्यमा, यस कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सबैको साथ, सहयोग र सद्भाव प्राप्त हुने विश्वास लिएको छु ।
संघसँग आबद्ध व्यवसायी सदस्यहरूलाई आइपर्न सक्ने प्राकृतिक तथा आकस्मिक विपद्—जस्तै आगलागी, चोरीजस्ता घटनाबाट हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै स्थापना गरिएको व्यवसायी राहत कोष तथा दुर्घटना बीमा कार्यक्रम सञ्चालनमा ल्याई समय–समयमा प्रभावित सदस्य व्यवसायीहरूलाई राहत प्रदान गर्दै आइरहेका छौँ । साथै, संघको संस्थागत सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै सामाजिक हितका विविध कार्यक्रमहरू पनि निरन्तर रूपमा सञ्चालन गर्दै आइरहेका छौँ ।
विभिन्न प्रतिकूल परिस्थितिहरू तथा आर्थिक मन्दीबाट सिर्जित चुनौतीहरूलाई चिर्दै यस क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यका साथ संघ परिसरभित्र दशैं सस्तो बजार २०८२ सफलतापूर्वक सञ्चालन गरिएको थियो । उक्त बजारको सफलताले आगामी दिनमा विभिन्न वस्तुगत तथा विषयगत मेलाहरू सञ्चालन गर्न महत्वपूर्ण मार्गदर्शन प्रदान गरेको छ ।
भविष्यमा पनि यस्तै किसिमका विशिष्टीकृत वस्तुगत मेलाहरू सञ्चालन गर्दै यस क्षेत्रको व्यापार, उद्योग तथा आर्थिक गतिविधिलाई थप सुदृढ बनाउने लक्ष्य संघले लिएको छ ।
मुलुकको अर्थतन्त्र गम्भीर संकट उन्मुख अवस्थामा पुगेको छ । सरकारी राजस्व संकलन अघिल्लो वर्षको तुलनामा कमजोर देखिएको छ । साधारण खर्चसमेत धान्न नसक्ने अवस्थासम्म सरकार पुगेको छ भने विकास निर्माणका कामहरू समयमै सम्पन्न हुन नसक्दा बजेट सरकारी ढुकुटीमै थन्किएर बसेको अवस्था छ । पैसा बजारमा प्रवाह हुन नसक्दा अर्थतन्त्र चलायमान हुन सकेको छैन ।
उद्योग–व्यवसायहरू औसतमा करिब ३० प्रतिशत क्षमतामा मात्र सञ्चालन भइरहेका छन । कतिपय उद्योगहरू पूर्ण रूपमा बन्द भइसकेका छन् भने धेरै उद्योग व्यवसाय बन्द हुने संघारमा पुगेका छन । बजारमा साना व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरू विस्थापित हुँदै गएका छन । यस्तो परिस्थितिमा राज्यले आर्थिक गतिविधि चलायमान हुने अनुकूल वातावरण तत्काल सिर्जना गर्नुपर्दछ । वर्तमान अवस्थामा बैंक तथा वित्तीय संस्थाहरू थप लचिलो हुन जरुरी छ ।
सम्भावना बोकेका क्षेत्रहरूमा राज्यको अपेक्षित लगानी हुन नसकेको अनुभूति हामीले गरेका छौँ । कृषि प्रधान देशको रूपमा परिचित नेपालले कृषिमा आत्मनिर्भरता हासिल गर्न नसक्नु दुःखद विषय हो । केही दशकअघि कृषि उपज निर्यात गर्ने हाम्रो देश आज खाद्यान्नमा समेत परनिर्भर हुनु लज्जास्पद अवस्था हो । यसका लागि कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण अपरिहार्य भइसकेको छ ।
कृषि र पर्यटनजस्ता सम्भावनायुक्त क्षेत्रमा रहेका असंख्य व्यवसायिक अवसरहरू पहिचान गर्न नसक्दा बेरोजगारी बढ्दै गएको छ र श्रम पलायन भयावह अवस्थामा पुगेको छ । विप्रेषणले आम्दानी बढेको देखिए पनि त्यसको उत्पादनमूलक क्षेत्रमा उचित लगानी हुन नसक्दा प्रतिफलहीन जस्तै बनेको छ । उपभोगमुखी प्रवृत्ति र अनुत्पादनशील क्षेत्रमा भएको लगानीका कारण सामाजिक विचलन बढ्दै गएको छ, जसले देशको सामाजिक संरचनामै असर पुर्याएको छ ।
यसको विपरीत, सरकारले युवाहरूलाई उद्यमशीलतातर्फ उन्मुख गराउनुको सट्टा वैदेशिक रोजगारीलाई मात्र विकल्पका रूपमा अघि सार्नु समृद्ध राष्ट्र निर्माणको लक्ष्यसँग मेल खाँदैन । यदि समयमै श्रम पलायन रोक्न ठोस कदम चालिएन भने हाम्रो देश युवाबिहीन हुने खतरा बढ्दै गएको छ । यस विषयमा आवश्यक पहल गर्न सम्बन्धित सबै निकायलाई यस साधारण सभामार्फत हार्दिक अपिल गर्दछु ।
नीति तथा नियमहरू समयानुकूल परिमार्जन हुनुपर्दछ । सरकारको भूमिका केवल राजस्व संकलन गर्ने मात्र नभई संकलित राजस्वलाई उद्योग, वाणिज्य, उत्पादन, व्यापार र रोजगारी सिर्जनामा लगानी गर्नुपर्दछ भन्ने हाम्रो स्पष्ट मान्यता हो । स्रोत र साधनका आधारमा पहिचान बनाएका जिल्लाहरूलाई विशिष्टीकरण गर्दै निश्चित उत्पादनका लागि लगानी सहयोग र निर्यात प्रोत्साहनस्वरूप अनुदानको व्यवस्था गरिनुपर्दछ भन्ने माग संघले सदैव उठाउँदै आएको छ ।
स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक भित्रिने प्रमुख नाका सिद्धार्थनगरलाई व्यवस्थित, सुन्दर, हरियाली तथा व्यवसायिक रूपमा अर्थपूर्ण सहरका रूपमा विकास गर्नुपर्दछ भन्ने मान्यता संघको दीर्घकालीन सरोकारको विषय रहँदै आएको छ । सवारीसाधनको अत्यधिक चाप, अव्यवस्थित पार्किङ तथा फुटपाथ व्यवसायका कारण सिर्जित समस्याहरू न्यूनीकरण गर्न संघले निरन्तर सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै आएको छ ।
फुटपाथ व्यवसायलाई व्यवस्थित गर्ने, प्रभावकारी फोहोर व्यवस्थापन, छाडा चौपाया नियन्त्रण तथा रात्रिकालीन बजार सञ्चालनजस्ता विषयहरूमा संघले स्थानीय निकायहरू समक्ष निरन्तर सुझाव तथा माग राख्दै आएको छ । यी सबै कार्यहरू संस्थागत सहकार्यबाट मात्र सफल हुन सक्ने भएकाले, संघ सधैँ सकारात्मक र जिम्मेवार सहकार्यका लागि तयार रहेको स्पष्ट गर्न चाहन्छु ।
रुपन्देही जिल्लाको समग्र विकास र राष्ट्रिय सरोकारका केही विषयहरु सम्बन्धित निकायको ध्यानाकर्षणको लागि उल्लेख गर्ने अनुमति चाहन्छु ।
१) सरकारले बजेट व्यक्तव्यमा उल्लेख गरेका उत्पादनमूलक व्यवसायलाई अन्य उद्योग भन्दा कम ब्याजदरमा कर्जा प्रवाह गर्ने व्यवस्थालाई यथाशिघ्र कार्यान्वय गर्ने व्यवास्था मिलाइयोस् ।
२) कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र औद्योगिक विकास र उत्पादनमूलक उद्योग स्थापनामा सरकारबाट ठोस कदम चालियोस् ।
३) पर्यटकीय गतिविधि र अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनलाई ध्यानमा राख्दै, रुपन्देही जिल्लाभित्र रात्रीकालीन बजार सञ्चालन र सवारीसाधन व्यवस्थापनलाई व्यवस्थित गर्ने व्यवस्था मिलाइयोस् ।
४) स्थानीय, प्रादेशिक तथा संघीय सरकारद्वारा लागू गरिएका विभिन्न कर तथा शुल्कहरूलाई एकीकृत गर्दै करदाताले एकद्वार प्रणालीमार्फत सहज, पारदर्शी र समयमै दाखिला गर्न सक्ने व्यवस्था मिलाइयोस । यसले कर प्रणालीलाई सरल, करमैत्री र प्रभावकारी बनाउँदै व्यवसाय तथा लगानी प्रवद्र्धनमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
५) जिल्ला सदरमुकाममा अवस्थित भीम अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी, गुणस्तरीय र जनमैत्री बनाउँदै आवश्यक भौतिक पूर्वाधार, आधुनिक उपकरण, दक्ष जनशक्ति तथा थप स्तरवृद्धिसहित विशिष्टीकृत अस्पतालका रूपमा विकास गरियोस् । यसबाट जिल्लाबासीले सहज, सुलभ र भरोसायोग्य स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने वातावरण सिर्जना हुने विश्वास लिइएको छ ।
६) हामी सबैको साझा चासोका रूपमा रहेको राष्ट्रको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो तथा प्रभावकारी सञ्चालन लुम्बिनीको पर्यटकीय विकास र यस क्षेत्रको समग्र आर्थिक समृद्धिका लागि अत्यन्त महत्वपूर्ण रहेको छ । त्यसैले विमानस्थलको दीर्घकालीन, निरन्तर र व्यवस्थित सञ्चालन सुनिश्चित गरिनु आवश्यक छ । साथै, राष्ट्रिय ध्वजावाहक विमानद्वारा मलेसिया–भैरहवा उडानलाई दुईतर्फी (आगमन–प्रस्थान) रूपमा नियमित तथा स्थायी बनाइयोस्, जसले अन्तर्राष्ट्रिय यात्रु आवागमन, पर्यटन प्रवद्र्धन र स्थानीय व्यवसायलाई थप बल पुग्नेछ ।
७) बौद्ध धर्मसँग गहिरो ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध रहेका थाइल्याण्ड, श्रीलंका, भियतनाम, कोरिया, जापान, चीन लगायतका मुलुकहरूबाट कम्तीमा साताको एक दिन भए पनि भैरहवा (गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल) सम्म नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न कूटनीतिक तथा नीतिगत पहल होस् । यसले लुम्बिनी क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन, अन्तर्राष्ट्रिय पहुँच विस्तार तथा स्थानीय आर्थिक गतिविधिमा उल्लेखनीय योगदान पु¥र्याउने अपेक्षा गरिएको छ ।
८) भारत सरकारको सहयोगमा निर्माणाधीन एकीकृत जाँच चौकी (आईसीपी) मा हालसम्म रेलवेज कनेक्सनको व्यवस्था नभएकाले, उक्त आईसीपीलाई रेलमार्गसँग जोड्न आवश्यक पहल गरियोस् । यसले सीमा व्यापार, यात्रु आवागमन तथा पर्यटन प्रवद्र्धनलाई थप सहज, छरितो र प्रभावकारी बनाउने विश्वास लिइएको छ ।
९) भारतीय तथा विदेशी पर्यटकहरूका लागि भन्सार बिन्दुबाटै भिसा, सूचना, सहजीकरण तथा अन्य सम्पूर्ण आवश्यक प्रक्रिया एकै स्थानबाट सहज, छरितो र प्रभावकारी रूपमा सम्पन्न हुने गरी सरोकारवाला निकाय तथा कार्यालयहरू सञ्चालन गरियोस, जसले पर्यटकमैत्री वातावरण निर्माण गर्न सहयोग पुग्नेछ ।
१०) लुम्बिनीको समग्र विकासलाई गति दिन आवश्यक पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन, साँस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षण तथा स्थानीय रोजगारी सिर्जनाका लागि पर्याप्त तथा दीर्घकालीन योजना निर्माण गरियोस् । लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरकार तथा सम्बन्धित निकायहरूले योजनाबद्ध, पारदर्शी र प्रभावकारी रूपमा स्रोतसाधनको व्यवस्थापन गरियोस ।
११) भारतसँग सीमा जोडिएका भैरहवा सहितका शहरहरुलाई इन्टरटेनमेन्ट सिटीका रूपमा विकास गर्ने गर्ने गरी कार्यक्रम ल्याइयोस् ।
१२) देशको अर्थतन्त्रलाई चलायमान गर्नका लागि र वैदेशिक मुद्रा आर्जनका लागि वस्तु निकासीमा राज्यको स्पष्ट र एकीकृत नीति नहुदाँ समस्या देखिएको छ । यस क्षेत्रको प्राकृतिक स्रोतसाधनहरु गिटी–बालुवा तथा खनिज पदार्थ निकासीमा राज्यले व्यवसायीमैत्री नियम निर्माण नगर्दा हामीले गर्न सकिरहेका छैनौ । यसप्रति अर्थ मन्त्रालयले सहजीकरण गर्नका लागि अनुरोध गर्दछौँ ।
१३) नेपालको समृद्धिका लागि स्थापना गरिएको विशेष आर्थिक क्षेत्र (सेज) उद्योग व्यवसायीमैत्री हुन जरुरी छ । उद्योग क्षेत्रका स्वीकृति काठमाडौँ केन्द्रित तथा अनुमति स्थानीय विशेष आर्थिक क्षेत्रबाट नै उपलब्ध गराइए व्यवसायिक समय, लागत र प्रशासनिक बोझ उल्लेख्य रूपमा घट्नेछ । उद्योग क्षेत्रमा विद्युतको डेडिकेडेटड र ट्रंकलाइन सम्बन्धी महसुलको समस्या छिटो समाधान होस् ।
१४) सीमा नाकालाई व्यवस्थित गर्दै सीमाबाट हुने अवैध व्यापारले सीमावारीका बजारका व्यवसायीहरुलाई पारेको प्रभावलाई कम गर्ने गरी ठोस नीति अवलम्वन गरी बेलहिया भन्सार नाका लगायत जिल्लाको प्रत्येक खुला सिमाना र नवलपरासी तथा कपिलवस्तु जिल्लाको सिमानाबाट समेत बढी संख्यात्मक मात्रामा अबैध सामान भित्रिदा एकातिर सीमावारीका व्यवसाय शुन्य भएको र सरकारको राजस्वसमेत कम उठेकोले सम्बिन्धत निकायको गम्भीर ध्यानाकृष्ठ होस भनी माग गर्दछौ । हाल भन्सार नाकामा हुँदै आएको कडाइ अझ मजबुत बनाइयोस ।
१५) विभिन्न समयमा राज्यका निकायहरुले भन्सारक्षेत्रमा निकासी र पैठारी हुने वस्तुको ढुवानीमा ओभरलोडको नाममा दिने समस्याहरुले गर्दा यस क्षेत्रका उद्योगी व्यवसायीहरु आजित बनेका छन् । देशका विभिन्न भन्सार नाकाहरुमा फरकफरक नियम तथा व्यवस्था हँुदा नीतिमा असमानता भएको छ । एकैप्रकारको लोड बोकेका गाडीहरु अन्य भन्सार नाकाबाट सहजरुपमा ढुवानी गरिरहेका छन् भने भैरहवा भन्सार नाकामा प्रतिबन्ध गरिएको छ यसप्रति ध्यान जान जरुरी छ ।
१६) निकासी उद्योगलाई सरकारले दिदै आएको अनुदान कटौती भएको छ । जसले गर्दा निर्यातमुखी उद्योगहरूमा प्रत्यक्ष असर पुगेको छ । निर्यात प्रवद्र्धनका लागि स्थिर, विश्वसनीय र दीर्घकालीन नीति अनिवार्य छ । यसका लागि राज्यले तत्काल नीति निर्माण गरि कार्यान्वन गर्न आग्रह गर्दछौं ।
१७) नेपालमा उत्पादित काठ संरक्षणका पर्याप्त प्रविधि तथा नीतिगत व्यवस्था नहुँदा ठूलो मात्रामा काठ कुहिने, नष्ट हुने र अव्यवस्थित रूपमा खेर जाने समस्या छ । अर्कोतर्फ, आवश्यकताका लागि विदेशबाट काठ आयात गर्दा प्रत्येक वर्ष करोडौं रुपैयाँ मुलुकबाट बाहिरिन बाध्य भइरहेको अवस्था छ । त्यसैले, काठको संरक्षण, प्रशोधन, मूल्यवृद्धि र प्रभावकारी उपयोगका लागि स्पष्ट, आधुनिक र दीर्घकालीन नीतिनियम निर्माण गर्नु अत्यावश्यक छ ।
१८) यस क्षेत्रमा महोत्सव तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्न हाल स्थायी स्थलको अभाव रहेकोले, उपयुक्त र आवश्यक पूर्वाधारसहितको स्थायी स्थलको व्यवस्थापन गरियोस् । यसले स्थानीय पर्यटन प्रवद्र्धन, सांस्कृतिक उत्थान र आर्थिक गतिविधिमा सकारात्मक योगदान पुग्ने छ ।
१९) निजी क्षेत्र एमआरपीको समर्थनमा भए तापनि, यसलाई अनियन्त्रित र हचुवाको आधारमा लागू गर्दा उद्योग र उपभोक्तामा अनावश्यक असुविधा उत्पन्न हुने सम्भावना रहेकोले, उपरोक्त सिफारिसहरू प्रभावकारी रूपमा अवलम्बन गर्न अनुरोध गरिन्छ । साथै, निजी क्षेत्रसँग पर्याप्त परामर्श नगरी लागू गरिएको हुनाले कार्यान्वयनमा चुनौती र जटिलता सिर्जना हुने सम्भावना रहेको छ । भौगोलिक विविधता र विकटताको कारण, एमआरपीलाई स्थानअनुसार फरक निर्धारण गर्नुपर्ने आवश्यकता रहेको छ ।
हामीजस्ता व्यवसायिक संघसंस्थाको नेतृत्वले मात्र सबै कार्य सम्भव हुँदैन । हामीले अघि सारेका नीति तथा योजनाहरू कार्यान्वयनका लागि नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश तथा स्थानीय तह तथा सरोकारवाला संघ–संस्थाहरूको सक्रिय सहयोग अपरिहार्य रहेको कुरा स्मरण गराउन चाहन्छु ।
सदस्यज्यूहरूले हामीमाथि राख्नुभएको विश्वास र सुम्पनुभएको जिम्मेवारी पूरा गर्न हामी पूर्ण रूपमा प्रतिबद्ध छौं । हाम्रो नेतृत्वलाई सल्लाह, सुझाव, मार्गदर्शन र सहयोग प्रदान गर्नु हुने सम्पूर्ण महानुभावुहरुप्रति म हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछु ।
(शनिबार भैरहवामा आयोजित संघको ६७ औं वार्षिक साधारण सभामा अध्यक्ष आचार्यले राख्नुभएको विचार केही सम्पादनसहित प्रकाशित गरिएको हो ।)
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij