सोमवार , पौष २८, २०८२
भैरहवा, २८ पुस । रुपन्देहीको सियारी गाउँपालिकामा ‘सियारी माछा तथा कृषि महोत्सव’ हुने भएको छ । सियारी गाउँपालिकाको आयोजनामा आगामी माघ १९ देखि २५ गतेसम्म सियारी–४ स्थित छपियामा महोत्सव हुने गाउँपालिकाको प्रशासकीय अधिकृत रोमलाल पुरीले बताउनुभयो ।
‘सियारी नेपालको स्थानीय तहहरुमा माछाको उत्पादनको हिसाबमा सर्वश्रेष्ठ जिल्ला हो । नेपालको कुल माछा उत्पादनमा २५ प्रतिशत बढी उत्पादन सियारी गाउँपालिकाले गरिरहेको छ, ’गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले भन्नुभयो । सियारी माछा मात्रै नभइ कृषि क्षेत्रमा पनि अग्रणी पालिका भएकोले राष्ट्रियस्तरमै माछा व्यवसायी, होटल व्यवसायी, व्यापारी र सियारीलाई चिनाउन महोत्सव गर्न लागिएको अध्यक्ष घिमिरेले बताउनुभयो ।
६ वर्षअगाडि माछा महोत्सव आयोजना गरिएको र यसपटक पनि महोत्सव सञ्चालन गर्न लागिएको सियारी गाउँपालिकाका अध्यक्ष घिमिरेले बताउनुभयो । कोभिड लगायत विभिन्न समस्याका कारण यसलाई निरन्तरता दिन नसकिएको उहाँले जानकारी दिनुभयो । ‘यहाँ उत्पादन गरिएका माछासँग सम्बन्धित विभिन्न परिकार (सुकुटी, अचार, फ्रोजन माछा), त्यसबाहेक गाउँपालिकामै विभिन्न संघ–संस्था र व्यक्तिहरुले उत्पादन गरेका ढाका कपडा, मह, कृषिजन्य तरकारी बाली, पशु व्यवसायसम्बन्धि विषयलाई प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव सञ्चालन गर्दैछौैं, ’उहाँले भन्नुभयो ।
अध्यक्ष घिमिरेले महोत्सवमा सियारी गाउँपालिकाबासीलाई स्टल राख्नका लागि न्यूनतम १ सयदेखि ५ सय रुपैयाँ) प्रवेश शुल्क लिइने बताउनुभयो । उहाँले गाउँपालिकामा ३ सय घरपरिवार माछापालक कृषकहरु सूचीकृत रहेको जानकारी दिनुभयो । अध्यक्ष घिमिरेका अनुसार सियारीमा ४१५ हेक्टर (साढे ६ सय विगाह) मा माछा उत्पादन हुँदै आएको बताउनुभयो । औसतमा प्रतिहेक्टर १० टन माछा उत्पादन हुँदै आएको उहाँले जानकारी दिनुभयो ।
‘गाउँपालिकाले १० कठ्ठा भन्दा कम क्षेत्रफल (साना पोखरी) मा माछा उत्पादन गर्ने कृषकहरुलाई प्रतिकेजी ५ रुपैयाँ अनुदान दिदै आएको र यसका लागि चालू आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरिएको बताउनुभयो । वर्षको दुईपटक अनुदान दिइएको उहाँले जानकारी दिनुभयो । सियारीमा माछाबाहेकको कृषियोग्य जग्गा २४ हजार ७ सय ३५ हेक्टर रहेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार सियारीमा माछाबाहेक मुख्य गरी धान, गहुँ, मकै र तोरी उत्पादन हुन्छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले सियारी भन्नेबित्तिकै माछाको ब्राण्डिङ नामको रुपमा चिनिने गरिएको बताउनुभयो । ‘सियारी कृषि, दुध र माछामा आत्मनिर्भरउन्मुख गाउँपालिका हो । कृषि क्षेत्रलाई प्रवद्र्धन र कृषकहरुलाई उत्प्रेरित गर्न माछा तथा कृषि महोत्सव सञ्चालनका लागि नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको छ । यो महोत्सवले पक्कै पनि गाउँपालिकाका माछापालक कृषकलाई प्रोत्साहन गर्नेछ, ’पाण्डेले भन्नुभयो ।
सियारी गाउँपालिका माछाको हब हो भनेर देशभर पालिकालाई चिनाउन र यसको ब्राण्डिड गर्न महोत्सव सञ्चालन गरिएको उहाँको भनाइ छ । यसले पक्कै पनि सियारी समृद्धितर्फ बढ्दैछ र हामी सियारीबासी हौं गाउँपालिकाबासीलाई गर्वको अनुुभुति गराउने अपेक्षा लिइएको उहाँले बताउनुभयो । सबै पक्षको सल्लाह–सुझाव लिएर व्यवस्थित रुपमा महोत्सव सञ्चालन गरिने उहाँको भनाइ छ ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले महोत्सव सफल पार्न साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सिंगो रुपन्देहीको आर्थिक गतिविधि र बृहत्तर एवं एकीकृत विकासका लागि अगाडि बढ्नपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, रुपन्देहीका मत्स्य विकास अधिकृत शोभाखर पाण्डेले सियारीले माछालाई प्राथमिकता दिएर महोत्सव सञ्चालन गर्न लागेकोप्रति खुसी लागेको बताउनुभयो । उहाँका अनुसार हाल रुपन्देही जिल्लामा १ हजार २ सय ४७ हेक्टर जलाशयमा मत्स्यपालन भइरहेको छ । त्यसमा १ हजार १ सय १२ हेक्टर माछा सुपर जोनमा ओगटने र त्यसको पनि करिब ७० प्रतिशत सियारी गाउँपालिकालेले ओघ्टेको जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij