सोमवार , पौष २८, २०८२
भैरहवा, २८ पुस । लायन्स क्लब अफ सिद्धार्थनगर र लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले संयुक्त रुपमा विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम गरेका छन् । दुवै क्लबले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–११ भुजौलीस्थित श्री भुजौली आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको कार्यक्रम संयोजक अम्बिका भण्डारीले बताउनुभयो ।
सोमबार विद्यालयमा पुगेर १४४ जना विद्यार्थीहरुलाई २१ हजार रुपैयाँ मूल्य बराबरको कापी र कलम वितरण गरिएको लायन्स क्लब अफ सिद्धार्थनगर वर्ष २०२५/०२६ का अध्यक्ष धर्मराज आचार्यले बताउनुभयो । लायन्स अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको १४७ औं जन्मोत्सवको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको उहाँले जानकारी दिनुभयो । पहिलो कार्यक्रम गत हप्ताको शुक्रबार मायादेवी गाउँपालिका–८ लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा खाद्यान्न सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।
‘विभिन्न लायन्स क्लबले विभिन्न कार्यक्रम गरी समाजमा योगदान पु¥याइरहेका छन्, उहाँले भन्नुभयो–‘विद्यालयमा कार्यक्रम गर्दा छुट्टै आनन्द लाग्छ । यसअघि यो विद्यालयमा यहाँ आँखा शिविर लगायत कार्यक्रम गरेका थियौं ।’ अध्यक्ष आचार्यले आगामी दिनमा पनि आवश्यकताअनुसार यो विद्यालयमा कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ (पी), नेपालका पूर्व डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले समाजको उत्थानको लागि सेवा भावले लायन्स क्लबको स्थापना भएको बताउनुभयो । उहाँले पिछडिएको वडामा रहेको विद्यालयमा पुगेर कार्यक्रम गर्नु सराहनीय रहेको बताउनुभयो । आफूले पाएको शैक्षिक सामग्रीको सदुपयोग गर्न विद्यार्थीहरुलाई उहाँले आग्रह गर्नुभयो ।
त्यस्तै सिद्धार्थनगर नगरपालिका–११ का वडाअध्यक्ष दिलिप कुमार यादवले यो भन्दा पहिले पनि यस विद्यालयमा लायन्स क्लबले कार्यक्रम गरेको बताउनुभयो । उहाँले लायन्स क्लबका सम्पूर्ण सदस्यहरुप्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा लायन्स सिद्धार्थनगर लोटसको अध्यक्ष सरिता आचार्य, कार्यक्रम संयोजक उमेश थापा लाटोमगर, लायन्स क्लब अफ सिद्धार्थनगरका सचिव रघु खनाललगायतले बोल्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij