२०८२, पौष २९ गते

Jan 13 2026 | २०८२, पौष २९ गते

एभरेष्ट कप छात्रा भलिबलको फाइनल र सेमीफाइनल खेल बुधबार हुने

मंगलवार , पौष २९, २०८२

  • 262
    Shares
  • 262
    Shares
  • बुटवल, २९ पुस । रुपन्देहीको बुटवलमा भएको ११ औं जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिताको फाइनल खेल बुधबार हुने भएको छ । बुधबार दिउँसो १ बजे एभरेष्ट माध्यमिक विद्यालयको भलिबल ग्राउण्डमा फाइनल खेल हुने भएको हो । 

    मंगलबार क्वाटरफाइनल र सेमीफाइनलका खेलहरु भएका छन् भने पहिलो सेमिफाइनलमा विजयी हुँदै न्यू होराइजन मावि फाइनलमा प्रवेश गरेको छ । बुधबार हुने दोस्रो सेमीफाइनलमा आयोजक एभरेष्ट मावि र कान्ति मावि भिड्नेछन् । दोस्रो सेमीफाइनलको विजेता टीमले फाइनलमा न्यू होराइजनको सामना गर्ने खेल संयोजक अर्जुन घिमिरेले जनकारी दिनुभयो । ।  

    प्रतियोगिता अन्तरगत मंगलबार क्वाटरफाइनलका खेल भएका हुन् । मंगलबार भएको पहिलो खेलमा दीप बोर्डिङलाई दुई शुन्यको सेटमा हराउँदै कुवँरवर्ती मावि विजयी बन्यो । त्यस्तै दोस्रो खेलमा होराइजनले ग्रीन प्लान्टलाई दुई शुन्यकै सेटमा हरायो भने तेस्रो खेलमा देवदह मदरटङ्सलाई आयोजक एभरेष्ट माविले सोझै सेटमै हरायो । त्यसै गरी देवदह बुद्ध पब्लिकलाई २–१ को सेटमा हराउँदै कुवँरवर्तीले अघिल्लो यात्रा सुरक्षित बनायो । अर्काे खेलमा कान्ति माविले सगरमाथा माविलाई हराउँदै सेमीफाइनलमा प्रवेश गरेको खेल संयोजक घिमिरेले जानकारी दिनुभयो ।  

    प्रतियागिताको उपाधि विजेता टीमले नगद ३० हजार, शिल्ड तथा प्रमाणपत्र हात पर्नेछ । त्यस्तै उपविजेता टीमले २० हजार नगद, शिल्ड र तृतीय हुनेले १० हजार नगद शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक विद्यालयका सह–प्राचार्य भिमसेन गौतमले बताउनुभयो । 

    सोमबारदेखि सुरु भएको प्रतियोगितामा रुपन्देही जिल्लाभरीका डेढ दर्जन सामूदायिक तथा संस्थागत विद्यालयका खेलाडी विद्यार्थीको टीमले प्रतिष्पर्धा गरेका छन् । खेलाडी विद्यार्थीको खेलप्रतिको रुचीलाई बाहिर निकाल्न र राम्रा खेलाडी उत्पादन गर्ने एभरेष्टले प्रत्येक वर्ष भलिबल प्रतियोगिताहरु आयोजना गर्दै आएको विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले बताउनुभयो । उहाँका अनुसार जिल्लास्तरीय भलिबलसँगै विद्यालयमा खेलकुद सप्ताह जारी रहेको र त्यसमा विभिन्न विधाका खेलकुदमा प्रारम्भिकदेखि मावि तहका झण्डै २ हजार विद्यार्थीले प्रतिष्पर्धा गरिरहेका छन् । 

    गत वर्ष भएको १० औं जिल्लास्तरीय भलिबलमा न्यू होराइजन मावि विजेता र कालिका मानवज्ञान मावि उपविजेता बनेको थियो । प्रतियोगिताको फाइनल खेलको समापन बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले गर्नुहुुने कार्यक्रम रहेको संस्थाले जनाएको छ ।