मंगलवार , पौष २९, २०८२
रुपन्देही, २९ पुस । सरोकारवाला संघ–संस्था, वडा प्रतिनिधि, टोल विकास संस्था तथा सीमान्तकृत समुदायका प्रतिनिधिहरूको सहभागीतामा राजनीतिक तथा सामाजिक समावेशीकरण सम्बन्धी सचेतना अभिवृद्धि तालिम आइतबार एक कार्यक्रमकाबीच सम्पन्न भएको छ ।
सैनामैना नगरपालिका–८ स्थित वडा कार्यालयको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको समापन गर्दै सैनामैना नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष बुद्धिराम चौधरीले सीमान्तकृत समुदायका हकअधिकार सुनिश्चित गर्न यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले संविधानमा महिला, दलित, आदिवासी जनजाति, अपांगता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायका अधिकार स्पष्ट रूपमा उल्लेख भए पनि अझै धेरै नागरिक अधिकारका विषयमा अनभिज्ञ रहेको उल्लेख गर्नुभयो । यस्ता सचेतनामूलक तालिमले नागरिकलाई अधिकारबोध गराउन सहयोग पुर्याउने उहाँले धारणा राख्नुभयो ।
त्यस्तै शान्तिनगर टोल विकास संस्थाका अध्यक्ष विष्णु पाण्डेले यस्ता कार्यक्रम निरन्तर रूपमा सञ्चालन हुन आवश्यक रहेको औंल्याउनुभयो । उहाँले आयोजक संस्थाप्रति धन्यवाद व्यक्त गर्दै यस किसिमको तालिम एक दिनमै सीमित नराखी दुई–तीन दिनको बनाएमा सहभागीहरूलाई अझ गहिरो रूपमा बुझ्न र छलफल गर्न अवसर मिल्ने सुझाव दिनुभयो । उहाँले अझै पनि समाजमा धेरै महिला, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, अपांगता भएका व्यक्ति लगायतका समुदायहरू घरबाट बाहिर ननिस्कने तथा कार्यक्रममा सहभागी नहुने अवस्था रहेको बताउँदै यस किसिमका तालिमले क्षमता अभिवृद्धि हुनुका साथै आफ्ना अधिकारबारे ज्ञान बढ्ने धारणा राख्नुभयो ।
कार्यक्रममा अन्य सहभागी वक्ताहरूले पनि समावेशी लोकतन्त्रको महत्व, स्थानीय तहमा महिला तथा सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता बढाउनुपर्ने आवश्यकता तथा नीति निर्माण र निर्णय प्रक्रियामा उनीहरूको आवाज सुनिश्चित गरिनुपर्ने विषयमा आफ्नो धारणा राख्नुभएको थियो । साथै सहभागी बबिता गुरुङ र अनुराधा थारुले तालिमबाट सिकेका ज्ञान, अनुभव तथा व्यवहारिक सुझावहरू प्रस्तुत गर्नुभएको थियो ।
तालिम सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना तथा सैनामैना नगरपालिका वडा नम्बर ८ वडा कार्यालयको समन्वयमा सम्पन्न भएको हो । तालिमको सहजीकरण प्रशिक्षक कमल सिंह थारु र दिनेशचन्द्र त्रिपाठीले गर्नुभएको थियो । प्रशिक्षक थारुले तालिममा राजनीतिक तथा सामाजिक समावेशीकरणको वर्तमान अवस्था, नेपालको संवैधानिक तथा कानूनी व्यवस्था तथा स्थानीय तहमा लागू हुने ऐन, नीति र प्रावधानहरूका विषयमा सहजीकरण गर्नुभएको थियो ।
त्यस्तै प्रशिक्षक त्रिपाठीले स्थानीय तहमा देखिएका विभिन्न अवरोधहरू, महिला तथा सीमान्तकृत समुदायको सहभागीतामा देखिने चुनौतीहरू तथा समावेशी योजना र निर्णय प्रक्रियामा सहभागीता बढाउने व्यवहारिक उपायहरूबारे सहजीकरण गर्नुभएको थियो ।सोही राजनीतिक तथा सामाजिक समावेशीकरण सम्बन्धी सचेतना अभिवृद्धि तालिम शुक्रबार कञ्चन गाउँपालिका वडा नम्बर २ स्थित मसिनामा पनि सम्पन्न गरिएको थियो ।
विशेष गरी समावेशी लोकतन्त्र र मानव अधिकारका लागि नागरिक समाज सबलीकरण परियोजना अन्तर्गत सञ्चालन भइरहेको उक्त कार्यक्रमहरु सेन्टर फर इन्टरनेशनल स्टडिज एण्ड कोअपरेसनको आर्थिक सहयोग तथा प्रोबालिकको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको आयोजकले जनाएका छन् । उक्त परियोजना रुपन्देहीको सैनामैना नगरपालिका र कञ्चन गाउँपालिका, कपिलवस्तुको बाणगंगा नगरपालिका र शुद्धोधन गाउँपालिका, तथा नवलपरासीको बर्दघाट नगरपालिका र सरावल गाउँपालिकामा कार्यान्वयन भइरहेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij