आइतवार , माघ ४, २०८२
भैरहवा, ४ माघ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले धर्मान्तर र धर्म परिवर्तन गराउनु ठूलो अपराध भएको भएको छ । उहाँले यस्तो कार्यमा लाग्ने व्यक्तिहरुलाई कडा कारवाही गर्नुपर्ने नै आजको आवश्यकता रहेको बताउनुभयो ।
हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानद्वारा शनिबार रुपन्देहीको भैरहवामा आयोजित प्रबुद्ध नागरिक गोष्ठी–२०८२ मा बोल्दै पराजुलीले अनेक लोभ, प्रलोभन, अनुचित व्यवहारमा पारेर धर्म परिवर्तन गराउनु ठूलो अपराध भएको बताउनुभयो । ‘हामीमाथि भइरहेको उत्पीडिन, धर्म परिवर्तनको जबरजस्त अभियान हाम्रैविरुद्ध हो । हाम्रै देश, समाजको, नागरिकको प्रतिकूलमा हो । त्यसलाई हामी सचेत र प्रबुद्ध नागरिकले बुझ्न जरुरी छ, ’उहाँले भन्नुभयो ।
देशको संस्कृति, सभ्यता र शिक्षा पद्दतिमाथि प्रहार हुनु ठूलो भ्रष्टाचार भएको उहाँको भनाइ छ । मानव सभ्यताको उदयपछि ९० हजार वर्ष अगाडिदेखि सनातन धर्मको इतिहास रहेको पराजुलीले बताउनुभयो । ‘जब मान्छेले आफ्नो पिता, माता, राष्ट्र र धर्मलाई चिन्दैन, त्यसपछि उसको अधोगति सुरु हुन्छ, उसको समाप्ती सुरु हुन्छ, ’उहाँले भन्नुभयो ।
नेपाल भनेर चिनाउने चारवटा आधार रहेको उहाँले बताउनुभयो । ‘विश्वकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा, शान्तिका अग्रदुत भगवान बुद्ध जन्मेको देश, मर्यादापुरुष श्रीरामको पत्नी सीता माता (जानकी) को जन्म भएको र हाम्रो सनातन हिन्दूराष्ट्र हो ’उहाँले भन्नुभयो । उहाँले समाजमा जागरण र चेतनाको विकास आवश्यक रहेकोमा जोड दिनुभयो । हिन्दू समाजले आफूलाई चिन्न जरुरी रहेको उहाँले बताउनुभयो ।
पूर्वप्रधानन्यायाधीश पराजुलीले संविधानमा लेखिएको ‘धर्मनिरपेक्षता’ शब्दसँग आफ्नो आपत्ति रहेको बताउनुभयो । उहाँले स्वाभिमानपूर्वक बाँच्न पाउने अधिकार निलम्बित भएको र अभिव्यक्ति स्वतन्त्रता विकृत रुपमा प्रयोग भएको बताउनुभयो । उहाँले संस्कार बिनाको विकास टिकाउन नसकिने उल्लेख गर्नुभयो ।
त्यस्तै नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तथा हिन्दू स्वयंसेवक संघ, नेपालका राष्ट्रिय संघचालक कल्याण कुमार तिम्सिनाले हिन्दू समाज बलियो भए अरु समाज पनि बलियो हुने दावी गर्नुभयो । उहाँले आफ्नो धर्म बिर्सनु भनेको आमाबुवा र छोराछोरीलाई बिर्सनु रहेको बताउनुभयो । हिन्दू समाजले सहिष्णुता देखाएको बताउनुभयो ।
तिम्सिनाले जनता नभएको ठाउँ राष्ट्र हुन नसक्ने र त्यो जनताको पनि धर्म हुने बताउनुभयो । ‘राष्ट्रमा जनता हुन्छन्, जनताको धर्म हुन्छ, ’उहाँले भन्नुभयो । हरेश खाए भने केही गर्न नसकिने उहाँको भनाइ छ । हिन्दू समाजमा तागत रहेको र समाजलाई समय दिनुपर्ने उहाँले बताउनुभयो । ‘जातीय, व्यक्तिगत कुरामा मात्र बाँधिनुहुँदैन, हिन्दू समाजलाई बलियो बनाउने कार्य हाम्रो प्राथमिकतामा पार्नुपर्छ, ’उहाँले भन्नुभयो । हिन्दू धर्ममा धेरै देवी–देवता रहेकोले विभिन्न धार्मिक संघ–संस्थाहरु रहेको र ती संस्थाहरुले हिन्दू समाजलाई जोड्ने काम गरेको उहाँको भनाइ छ । ८१ प्रतिशत बढी हिन्दू धर्मावलम्बी भएको नेपाल हिजो पनि हिन्दूराष्ट्र थियो, आज छ र भोली पनि हुनेछ, ’उहाँले भन्नुभयो ।
त्यसै गरी मुक्तिनाथ धाम नयाँगाउँका पिठाधीश लोकानन्द सरस्वतीजी महाराजले धर्मको रक्षा गरे आफ्नो रक्षा हुने बताउनुभयो । ‘जे कुराको चिन्तन गछौं, त्यो पुरा हुन्छ, ’उहाँले भन्नुभयो–‘त्यसका लागि विचलित हुनुहुँदैन । कसैले होइन भन्दैमा नेपाल हिन्दू राष्ट्र नहुने कुरा होइन ।’
हिन्दू स्वयंसेवक संघ, नेपालका राष्ट्रिय कार्यकारिणी सदस्य राजकुमार गुरुङले संस्कार र संस्कृति बिर्सन नहुने बताउनुभयो । उहाँले इतिहास पढ्नुपर्ने तथा युवा पुस्तालाई पढाउन र बुझाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
गोष्ठीमा हिन्दू स्वयंसेवक संघ, नेपाल सिद्धार्थनगर सेवा प्रमुख तथा कार्यक्रम संयोजक विकास यादव, दुर्गा प्रसाद कान्दु लगायतले बोल्नुभएको राजन शुक्लाले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij