२०८२, माघ ४ गते

Jan 18 2026 | २०८२, माघ ४ गते

सरकारले स्वास्थ्यकर्मीसँग गरेका सहमति पूर्ण कार्यान्वयन हुनुपर्छ : बोहरा

आइतवार , माघ ४, २०८२

  • 283
    Shares
  • 283
    Shares
  • भैरहवा, ४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता क्याप्टेन गौरव बोहराले सरकारले स्वास्थ्यकर्मीसँग गरेको सहमति पूर्ण कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ । उहाँले स्वास्थ्यकर्मीले उठाएको माग जायज रहेको बताउनुभयो ।

    काठमाडौंस्थित सिफलचौरमा नेपाल सि.एम.ए. संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायको नेतृत्वमा आमरण अनशनमा बसेका स्वास्थ्यकर्मीहरुलाई शनिबार भेटेपछि उहाँले यस्तो बताउनुभएको हो । 

    आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै बोहराले भन्नुभयो–‘स्वास्थ्यकर्मीहरुले राखेका जायज मागप्रति सरकार संवेदनशील भइ तत्काल सम्बोधन गर्नुपर्छ, ढिलाइ गर्नुहुँदैन ।’ दिनरात नभनी जनताको स्वास्थ्य सेवामा खट्नुहुने स्वास्थ्यकर्मीको माग सम्बोधन गर्न किन ढिलाइ भयो भन्दै उहाँले प्रश्न गर्नुभयो ।

    नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐनको दफा ४ (२) र स्वास्थ्य मन्त्रालयसँग विगतमा भएको सहमति कार्यान्यवनको माग राख्दै बिहीबारदेखि काठमाडौंमा आमरण अनसन सुरु भएको छ ।

    संयुक्त संघर्ष समितिको आयोजनामा काठमाडौंको सिफलचोरमा अनसन सुरु भएको हो । अनसनको नेतृत्व नेपाल सि.एम.ए. संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायले गर्नुभएको छ ।

    नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्तावाल स्वास्थ्यकर्मीहरुको विधा र संख्याको आधारमा पेशागत संघ÷संगठनको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने र स्वास्थ्यकर्मी तथा नर्सहरुको लागि सहमति अनुसारको तलबभत्ता लागू गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको सिएमए संघका केन्द्रीय उपाध्यक्ष उपाध्यायले बताउनुभयो । आफूहरुले राखेका मागको सुनुवाइका लागि सरकारले तदारुकता नदेखाएपछि बाध्य भएर आमरण अनसनमा बस्नुपरेको उहाँले बताउनुभयो ।

    पाँचवटा स्वास्थ्य संगठनको संयुक्त संघर्ष समितिकोतर्फबाट उपाध्यायको नेतृत्वमा हिजोदेखि आमरण अनसन सुरु भएको हो । नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एशोसिएसन÷नेपाल डेन्टल हाइजेनिस्ट एसोसिएसन, रनेपाल जनस्वास्थ्य संघ, मेडिकल ल्याबोेरेटरी एशोसिएसन अफ नेपाल, नेपाल सि.एम.ए. संघ र हेल्थ असिस्टेन्ट संघ नेपालकोतर्फबाट उहाँको नेतृत्वमा अनसन सुरु भएको हो ।

    यसअघि नै सरकारसँग भएका सम्झौता पूर्ण कार्यान्वयनको माग राख्दै उनीहरुले आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।