२०८२, माघ ५ गते

Jan 19 2026 | २०८२, माघ ५ गते

सिद्धार्थ सञ्जाल र गौतम बुद्ध आई केयरबीच छुट सम्झौता

सोमवार , माघ ५, २०८२

  • 703
    Shares
  • 703
    Shares
  • भैरहवा, ५ माघ । सिद्धार्थ सञ्जाल, रुपन्देही र गौतम बुद्ध आई केयर सेन्टर प्रा.लि.बीच छुट सम्झौतामा हस्ताक्षर भएको छ । आइतबार सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित गौतम बुद्ध आई केयर सेन्टरमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर भएको हो ।

    उक्त सम्झौता–पत्रमा सञ्जालकोतर्फबाट अध्यक्ष अनिल कुमार ज्ञवाली र आई केयरकोतर्फबाट सञ्चालक डा. अनादी खत्रीले हस्ताक्षर गर्नुभएको हो ।

    सम्झौता अनुसार सञ्जालमा आबद्ध सदस्यहरु र उनीहरुको परिवारले गौतमबुद्ध आई केयरका उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट पाउनेछन् । सञ्चालक डा.खत्रीले वर्षमा एकपटक आँखा चेकजाँच निःशुल्क, दर्ता शुल्क र ओपिडी टिकटमा छुट (१ सय रुपैयाँ) मा, ल्याब र सर्जिकल प्याकेजमा १० प्रतिशत र चश्मामा २५ देखि ३० प्रतिशत छुट प्रदान गरिनेछ ।

    एक वर्ष अवधिको लागि गरिएको सम्झौतामा अस्पतालबाट छुट प्राप्त गर्न सञ्जालको सिफारिस-पत्र आवश्यक पर्ने उहाँले जानकारी दिनुभयो । अत्याधुनिक उपकरणको सुविधासहित दक्ष चिकित्सकद्वारा उपचार तथा परामर्श सेवा उपलब्ध रहेको र धेरै समय पर्खिनु नपर्ने उहाँको भनाइ छ ।

    सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले सम्झौताको अवधि एक वर्षको भए पनि नविकरण गरिदै जाने बताउनुभयो । उहाँले सिद्धार्थ सञ्जालले शिक्षा, स्वास्थ्य, पर्यटन, यातायात, उद्योग–व्यवसाय लगायत क्षेत्रको विकासका लागि निरन्तर आवाज उठाउँदै आएको बताउनुभयो ।

    सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले आँखाको उपचारमा क्षेत्रमा गौतम बुद्ध आई केयर सेन्टर प्रा.लि.मा अत्याधुनिक प्रविधिसहितको उपचार सेवा उपलब्ध रहेको बताउनुभयो । उहाँले अत्याधुनिक प्रविधिले रोगको पहिचान गर्न सहज हुने भएकोले यहाँ आउने बिरामी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

    सिद्धार्थ सञ्जाल, रुपन्देहीका महासचिव मधु प्रसाद पन्थीको सञ्चालनमा भएको कार्यक्रममा सञ्जालका कार्यसमिति सदस्य किशोर जोशी, सल्लाहकार डा.शान्त कुमार शर्मा, खिम बहादुर खत्री, अर्जुन कुमार गिरी लगायतले बोल्नुभएको थियो ।