मंगलवार , माघ ६, २०८२
भैरहवा, ६ माघ । नेपालका लागि मोरिस गराजेज (एमजी) को आधिकारिक विक्रेता प्यारामाउण्ट मोटर्स प्रा.लि.ले भित्र्याएको आइएम ६ ब्राण्डको विद्युतीय गाडी रुपन्देहीको भैरहवामा पनि विक्री सुरु भएको छ ।
मोरिस गराजेज कम्पनीको भैरहवास्थित आधिकारिक विक्रेता थ्री एचएल कम्पनी प्रा.लि.ले उक्त ब्राण्डको गाडी सोमबार सार्वजनिक गर्दै विक्रीवितरण सुरु गरेको हो । साथै उक्त मोडलको गाडी थ्री एचएल कम्पनी प्रा.लि.ले विक्रीका लागि बुकिङ्ग समेत सोमबारदेखि खुल्ला गरेको छ । कम्पनीका अनुसार पहिलो दिन दुईवटा गाडी विक्री भएको छ ।
आइएम ६ ब्राण्डको उक्त मोडलको विद्युतीय गाडी गत साउन १५ गते प्यारामाउण्ट मोटर्स प्रा.लि.ले नेपालमा पहिलोपटक काठमाडौंमा सार्वजनिक गरेको थियो । यो ब्राण्डको गाडी आरामदायी, नवप्रबद्र्धन र लामो रेञ्जको क्षमताका साथ इन्टलिजेन्ट इलेक्ट्रिक मोबिलिटीको प्रतीकका रुपमा रहेको दावी गरिएको छ ।
थ्री एचएल कम्पनी प्रा.लि.का अध्यक्ष हरि बहादुर थापाले यात्रुको सुरक्षा र प्रदूषणबाट बच्नका लागि इलेक्ट्रिक गाडीको विकल्प नभएको बताउनुभयो । मोरिस गराजेजको विक्री थालेको विगत १० वर्षको इतिहासमा कुनै पनि गुनासा नआएको उहाँको भनाइ छ । मोरिस गराजेज कम्पनीका गाडीको पार्टपूर्जा पनि अब्बल रहेको थापाले बताउनुभयो । ‘नयाँ ब्राण्डका गाडी भित्र्याउनु र विक्री गर्नु ठूलो कुरो होइन, ग्राहकको सन्तुष्टी ठूलो कुरा हो’, उहाँले भन्नुभयो–‘ढुक्क हुनुस्, मोरिस गराजेज कम्पनीका गाडीको स्पेयर पाट्र्स आवश्यक परेमा अन्य गाडीको झिकेर भए पनि उपलब्ध गराइनेछ ।’
प्यारामाउण्ट मोटर्स प्रा.लि.का विक्री प्रबन्धक विपुल भट्टराईले आईएम ६ ब्राण्डको गाडीको विशेषताहरुका बारेमा जानकारी दिँदै जहाँ जसरी रोक्न खोजे पनि रोक्न सकिने र सानो ठाँउमा पनि सहजै घुमाउन सकिने बताउनुभयो । उहाँले आइएम ६ ब्राण्डको गाडीमा आइएम डिजिटल च्यासिस, एडभान्स एलेक्ट्रिफिकेशन, फ्युचरिस्टिक एआइ क्याबिन र अल्टिमेट सेफ्टी रहेको जानकारी दिनुभयो ।
७४ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको यो गाडी एकपटक चार्ज गरेपछि ४ सय ५० किलोमीटर गुड्ने र उच्चतम स्पिड प्रतिघण्टा २ सय १० किलोमीटर रहेको जनाइएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij