मंगलवार , माघ ६, २०८२
काठमाडौं, ६ माघ । स्पेनको दक्षिणी क्षेत्रमा भएको एउटा भीषण रेल दुर्घटनामा कम्तीमा ४० जनाको ज्यान गएपछि प्रधानमन्त्री पेड्रो सान्चेजले तीन दिने राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ ।
आईतवार साँझ मालागाबाट म्याड्रिडका लागि छुटेको ३१७ यात्रु सवार रेल कोर्डोवा शहरभन्दा २० किलोमिटर उत्तरमा पर्ने अदामज नजिकै लिकबाट बाहिरिएको थियो । अधिकारीहरूकाअनुसार दुर्घटनामा ४८ जना घाइते भएका छन् ।
जसमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । प्रधानमन्त्री सान्चेजले आफ्नो निर्धारित कार्यक्रम रद्ध गरी घटनास्थलको निरीक्षण गर्नुभएको छ । यस दुःखद् घटनाको निष्पक्ष एवं पारदर्शी छानबिन गर्ने आश्वासन दिनुभएको छ ।
अन्डालुसिया क्षेत्रीय सरकारका प्रमुख जुआन्मा मोरेनोका अनुसार रेल लिकबाट बाहिरिँदा भएको ठक्कर यति शक्तिशाली थियो कि केही यात्रुहरू उछिट्टिएर रेलबाट सयौँ मिटर टाढा फेला परेका थिए ।
भर्खरै नयाँ ट्रयाक बिछ्याइएको सीधा खण्डमा भएको यस दुर्घटनामा चालकको त्रुटी हुने सम्भावनालाई अधिकारीहरूले लगभग अस्वीकार गर्दै पूर्वाधार वा रेलको प्राविधिक गडबडीबारे अनुसन्धान शुरु गरेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij