२०८३, बैशाख १ गते

Apr 14 2026 | २०८३, बैशाख १ गते

गृहमन्त्री अर्यालद्वारा कारागारको सुधारका लागि निर्देशन

बुधवार , माघ १४, २०८२

  • 877
    Shares
  • 877
    Shares
  • काठमाडौं, १४ माघ । गृहमन्त्री ओम प्रकाश अर्यालले काठमाडौंमा रहेका कारागार कार्यालयहरुको स्थलगत निरीक्षण गर्नुभएको छ । उहाँले मंगलबार केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल, कारागार कार्यालय डिल्लीबजार र केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको निरीक्षण गर्नुभएको हो ।

    गृह सचिव, गृह मन्त्रालयको शान्ति तथा सुरक्षा महाशाखाका प्रमुख, कारागार व्यवस्थान विभागका महानिर्देशक, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक लगायत उच्च अधिकारीको टोली लिइ कारागार निरीक्षणको लागि पुग्नुभएका मन्त्री अर्यालले कारागारहरु र अस्पतालको वस्तुस्थितिबारे जानकारी लिइ गर्नुपर्ने आवश्यक सुधारको लागि निर्देशन दिनुभएको हो ।

    उहाँले केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा रहेका केन्द्र, भद्र र महिला सुधार गृहको निरीक्षणपश्चात त्यहाँ रहेका कैदीबन्दीसँग भेट गर्नुभएको छ । मन्त्री अर्यालयले कैदीबन्दीका पीरमर्का, गुनासाहरुबारे पनि जानकारी लिनुभयो ।

    त्यस्तै कारागार कार्यालय डिल्लीबजारका महिला र पुरुष ब्लकहरुमा पुगेर उहाँले त्यहाँ राखिएका बन्दीहरुसँग समेत भेटघाट गरी राज्यका तर्फबाट बन्दीहरुलाई उपलब्ध गराइएका सुविधाको अवस्थाबारे चासो व्यक्त गर्नुभयो ।

    निरीक्षणको क्रममा सम्बन्धित कारागारका कारागार प्रशासकहरुले कारागारको क्षमता, भौतिक अवस्था बन्दीहरुको संख्या लगायतबारे मन्त्री अर्याललाई जानकारी गराउनुभयो । उहाँले कारागारमा रहेका वृद्ध तथा दीर्घरोगी बन्दीहरुको सम्बन्धमा चिन्ता र चासो व्यक्त गर्नुभयो । उनीहरुको सजाय भुक्तानका सम्बन्धमा कानून अनुसार प्राप्त हुने राहत उपलब्ध गराउनुपर्ने मन्त्री अर्यालले धारणा व्यक्त गर्नुभयो।   

    मन्त्री अर्यालले कारागारहरुको निरीक्षणपश्चात बन्दीगृहमा मानव अधिकारको प्रत्याभूतिमा कुनै सम्झौता नगर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभयो ।

    त्यस्तै उहाँले कारागार कार्यालयहरुको भौतिक पुर्वाधार सुधार तथा अत्यावश्यक सेवाको उपलब्धताको लागि मन्त्रालयकोतर्फबाट पूर्ण सहयोगको प्रतिवद्धता व्यक्त गर्नुभयो । कारागार व्यवस्थापन विभागमार्फत कारागार कार्यालयहरुको सुधारको मार्गचित्र यथाशिघ्र मन्त्रालयमा पेश गर्न सम्बन्धित कारागार प्रशासकहरुलाई निर्देशन दिनुभयो। 

    केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको निरीक्षण गरी मन्त्री अर्यालले अस्पतालमा उपचाररत बन्दीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिइ अस्पतालको सेवालाई थप सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।