२०८२, माघ २१ गते

Feb 04 2026 | २०८२, माघ २१ गते

पीएम कप लुम्बिनी प्रदेशस्तरीय छनोटमा बाँके र दाङको जीत

मंगलवार , माघ २०, २०८२

  • 292
    Shares
  • 292
    Shares
  • भैरहवा, २० माघ । बाँके र दाङले रुपन्देहीमा जारी प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशस्तरीय पुरुष एक दिवसीय क्रिकेट छनोट प्रतियोगिता जीत निकालेका छन् । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा बाँकेले पाल्पालाई ५ विकेट र दाङले कपिलवस्तुलाई २ विकेटले पराजित गर्दै जीत निकालेका हुन् ।

    मंगलबार सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको पाल्पाले निर्धारित ४३ ओभरमा ३४ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय १६ रन बनायो । उसका लागि रुपेश बस्यालले ३०, रोशन घिमिरले २१, नरबहादुर सार्कीले १४ र नविन भण्डारीले ११ रन बनाए । बलिङमा बाँकेका लभकुश यादवले ४, सलाउद्दिन खान र निश्चल आचार्यले २–२ तथा सिद्धान्तराज शाहीले १ विकेट हात पारे ।

    जवाफी ब्याटिङ गरेको बाँकेले २२ ओभर ३ बलमा ५ विकेट गुमाएर १ सय १९ रन बनाउँदै जित निकाल्यो । उसको जितमा सुनिल भण्डारीले अविजित २४, मोहम्मद सहदाब अन्सारीले २३, रोशन केसीले २०, सलाउद्दिन खानले नटआउट १६ र सिद्धान्तराज शाहीले १४ रनको योगदान गरे । बलिङमा पाल्पाका रुपेश बस्यालले २ तथा केशव परई, नरबहादुर सार्की र मनिष न्यौपानेले समान १–१ विकेट लिए । खेलमा लभकुश यादव प्लेयर अफ द म्याच घोषित भई पुरस्कृत भए ।

    त्यस्तै तिलोत्तमास्थित एक्स्ट्राटेक ओभलमा भएको अर्को खेलमा टस हारेर ब्याटिङमा आएको कपिलवस्तुले ४८ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय ३ रन बनायो । उसका लागि रौनक श्रीवास्तवले ६१ रनको अर्धशतकीय पारी खेल्दा मोहम्मद हुसेन गद्दीले ४२, मोहम्मद सबोज मुसलमानले २६ र शिव कुँवरले १८ रन जोडे । बलिङमा दाङका वीरबहादुर घर्तीले ४, राजकुमार कुमालले २ तथा शुभम खनाल, दिनेश बोहरा र मोहन खत्रीले समान १–१ विकेट लिए ।

    प्रतिउत्तरमा दाङले ४३ ओभर ४ बलमा ८ विकेट गुमाएर २ सय ४ रन बनाउँदै जित निकाल्यो । उसको जितमा हेमराज सापकोटाले ६७, शिशिर डीसीले ३० र शुभम खनालले १४ रनको योगदान गरे । बलिङमा कपिलवस्तुका शिव कुँवरले ३, मोहम्मद हुसेन गद्दी र रौनक श्रीवास्तवले २–२ तथा महेश भरले १ विकेट लिए । खेलमा वीरबहादुर घर्ती प्लेयर अफ द म्याच घोषित भइ पुरस्कृत भए ।
    माघ २४ गतेसम्म चल्ने प्रतियोगितामा लुम्बिनी प्रदेशका सात जिल्लाका टीम सहभागी छन् । छनोट खेलको विजेता र उपविजेता टीमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्लेयर अफ द म्याचले ११ हजार १ सय ११ र प्रत्येक दिनको म्यान अफ द म्याचले १ हजार १ सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जनाए । 

    प्रतियोगिताको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक उत्पादक कम्पनी एग्रो थाई फूड्स छ भने प्रायोजकमा एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिस, बुटवल, ग्रुप ४ प्रोडक्ट प्रा.लि., काठमाडौं र ग्रुप ४ सेक्युरिटी सर्भिस प्रा.लि., काठमाडौं छन् । यस वर्षको प्रधानमन्त्री कप चैत्रमा आयोजना गर्ने गरी क्यानले तयारी गरिरहेको छ ।