२०८२, माघ २१ गते

Feb 04 2026 | २०८२, माघ २१ गते

जैविक भोजन र वैदिक ज्ञानले सुसंस्कृत समाज निर्माण गर्छ : आईजीपी कार्की

बुधवार , माघ २१, २०८२

  • 217
    Shares
  • 217
    Shares
  • कपिलवस्तु, २१ माघ । नेपाल प्रहरीका महानिरीक्षक (डीआईजी) दान बहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको संरक्षणमा गुरुकुलहरूको भूमिका ऐतिहासिक र अपरिहार्य रहेको बताउनुभएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका–२, नन्दनगरस्थित श्री मनकामना संस्कृत विद्यापीठ (गुरुकुल) मा नेपाल प्रहरीद्वारा आयोजित खाद्यान्न वितरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उहाँले गुरुकुलहरूलाई सभ्यताका पाठशालाका रूपमा रहेको बताउनुभयो ।

    ‘अमन्त्रं अक्षरं नास्ति, नास्ति मूलं औषधम् । अयोग्यो पुरुषो नास्ति, योजकस्तत्र दुर्लभः ।।’ भन्ने संस्कृत श्लोक उच्चारण गर्दै महानिरीक्षक कार्कीले भन्नुभयो–‘कुनै पनि अक्षर मन्त्ररहित हुँदैन, कुनै पनि जरा औषधिरहित हुँदैन । यस संसारमा अयोग्य मानिस हुँदैन । तर, उसलाई सही ढंगले प्रयोग गर्न जान्ने व्यक्ति दुर्लभ हुन्छ ।’

    यो सन्देशले मानव क्षमताको सही पहिचान र मार्गदर्शनको महत्व उजागर गर्ने महानिरीक्षक कार्कीले बताउनुभयो । गुरुकुलमा अध्ययनरत बटुकहरूलाई गरिएको खाद्यान्न वितरण कार्यक्रममा बोल्दै महानिरीक्षक कार्कीले ‘जैविक भोजन र वैदिक ज्ञान’ मानव जीवनका आधारस्तम्भ भएको उल्लेख गर्नुभयो । ‘प्रकृतिसँग मेल खाने शुद्ध आहार–जैविक भोजनले शरीरलाई स्वस्थ बनाउँछ,’उहाँले भन्नुभयो–‘वेदबाट प्राप्त वैदिक ज्ञानले मन, बुद्धि र जीवनलाई सन्तुलित बनाउँछ । यी दुवैको संयोजनले स्वस्थ शरीर र सुसंस्कृत जीवनशैली निर्माण हुन्छ ।’

    समाजलाई सन्मार्गमा अघि बढाउन गुरुकुलहरू मार्गदर्शक बनेको उल्लेख गर्दै उहाँले संस्कारयुक्त शिक्षाले अनुशासित, नैतिक र जिम्मेवार नागरिक उत्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो । परम्परागत ज्ञान र आधुनिक समाजबीच सेतुको काम गुरुकुलहरूले गरिरहेको भन्दै आईजीपी कार्कीले सबै मानव सकारात्मक मार्गमा हिंड्नुपर्ने बताउनुभयो  ।

    कार्यक्रममा गुरुकुलका संरक्षक तत्वदर्शी सन्तसिरामणी १००८ स्वामी लोकानन्दजी महाराज ले देशको धर्म-संस्कृति संरक्षणमा गुरुकुलले खेलेको भूमिकाबारे चर्चा गर्नुभयो ।
    गुरुकुलका अध्यक्ष रविराज ज्ञवालीले आवासीय रूपमा संस्कृत शिक्षा प्रदान गरिँदै आएको यस विद्यापीठमा कक्षा १२ सम्म अध्ययन हुने जानकारी दिनुभयो । हाल गुरुकुलमा १२० जना बटुक तथा १७ जना शिक्षक–कर्मचारीबाट सञ्चालन रहेको उहाँले बताउनुभयो ।

    नेपाल प्रहरीद्वारा गुरुकुलका लागि दाल, तेल, चिनी, सुजी, तरकारी र चिउरा लगायतका खाद्यान्न सामग्री प्रदान गरिएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस सहयोगले परम्परागत शिक्षाप्रति नेपाल प्रहरीले सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयबासी र सहभागीहरूले बताएका छन् ।