२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

लुम्बिनी प्रदेशमा नेकपा एमालेको एकल सरकार बनाउने दाउ

आइतवार , बैशाख १९, २०७८

बुटवल, १९ वैशाख । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि टुंगो लगाउन आह्वान गरिएको प्रदेशसभाको विशेष अधिवेशन सुरु हुनु अगावै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि लुम्बिनीको राजनीति तरंगित भएको छ । 

नेपालको संबिधानको धारा १६८ को उपधारा २ बमोजिम नेकपा (माओवादी केन्द्र) संगको गठबन्धन सरकारका मुख्यमन्त्री नियुक्त भएका पोखरेलले उक्त गठबन्धन टुटिसकेको र मतदानमा जाँदा प्रदेशसभाको विशेष अधिवेशननमा फ्लोर क्रस हुने सम्भावना देखेपछि राजीनामा दिएका हुन् ।

एमाले र माओवादी केन्द्रबीच एकता भइ बनेको तत्कालिन नेकपाको सरकारबाट नेकपा माओवादी अलग भएको र प्रदेशसभामा एमालेको एकल बहुमत पुग्ने अवस्था सिर्जना भएकोले मुख्यमन्त्री पोखरेलले नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिमको नयाँ सरकार बनाउनका लागि आफ्नै मार्ग प्रशस्त गर्न राजीनामा दिएको आंकलन गरिएको छ । 

मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा पेश भएको अविश्वास प्रस्ताव पास गराउने रणनीति बनाउँदै गरेका विपक्षी दलहरु एक्कासी राजीनामा आउँदा अचम्मित बनेका छन् । अब एमालेको एकल बहुमतको सरकार बनाउने दाउमा मुख्यमन्त्री पोखरेल रहेको विश्लेषण गरिएको छ । हाल ८१ जना सदस्य रहेको प्रदेशसभामा सरकार बनाउन एमालेको स्पष्ट बहुमत छ ।

हाल लुम्बिनी प्रदेश भामा नेकपा एमालेका ४१, नेपाली कांग्रेसका १९, नेकपा (माओबादी केन्द्र) का सभामुखसहित १८, जनता समाजवादी पार्टी नेपालका २ र राष्ट्रिय जनमोर्चाका १ गरी जम्मा ८१ जना सदस्यहरु छन् । यसअघि माओबादी केन्द्रका २ जनाले दल त्याग गरेकोले पद रिक्त छ भने उता मन्त्री बनेका जसपाका ४ जना सांसदबाट पदमुक्त सूचना प्रकाशित भइसकेको छ ।