२०८२, माघ २२ गते

Feb 05 2026 | २०८२, माघ २२ गते

स्थायी प्रहरी पोष्ट स्थापना गर्न माग

बिहिवार , माघ २२, २०८२

  • 328
    Shares
  • 328
    Shares
  • भैरहवा, २२ माघ । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ८ ८ स्थित अस्थायी प्रहरी पोष्ट, बसडिलवामा नवनिर्मित भान्सार घर (मेस) उद्घाटन गरिएको छ । मेस उद्घाटनका साथै परिचय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    मेसको बुधबार प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनक बहादुर शाहीले उद्घाटन गर्नुभएको थियो ।

    kkkmnm.jpg

    कार्यक्रममा बोल्दै मायादेवी गाउँपालिका–८ का वडाअध्यक्ष चोक बहादुर थापाले शान्ति सुरक्षा काम गर्नका लागि विगतमा यहाँका नागरिकले प्रहरी पोष्ट स्थापना हुनुपर्छ भन्ने माग गरेको स्मरण गर्नुभयो । उहाँले अस्थायी प्रहरी पोष्टलाई अब स्थायी बनाउनुपर्ने माग राख्नुभयो । ‘अब यहाँ स्थायी प्रहरी पोष्ट स्थापना हुनुपर्छ भन्ने माग रुपन्देही प्रहरी प्रमुखसँग राख्दछु । भवन निर्माण लगायतका लागि सहयोग गर्नेछौं, ’वडाअध्यक्ष थापाले भन्नुभयो ।

    उहाँले प्रहरी, जनता, जनप्रतिनिधि सबै बराबर रहेको र कामको भूमिका मात्र फरक हुने बताउनुभयो । ‘एक–अर्कालाई साथ र सहयोगको आवश्यकता पछए । सहकार्य गर्दै अघि बढ्नुपर्छ, ’उहाँले भन्नुभयो ।

    त्यस्तै सिद्धार्थ होटल संघ, नेपालका उपाध्यक्ष भोज बहादुर खत्री (भोजेन्द्र) ले अस्थायी प्रहरी पोष्ट, बसडिलवाको टीमले उदाहरणीय कार्य गरेको बताउनुभयो । उहाँले समाज रुपान्तरणका लागि स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभयो । 

    समाजसेवी अर्जुन कुमार गिरीले अस्थायी प्रहरी पोष्ट, बसडिलवाका प्रमुख प्रहरी सहायक निरीक्षक राजकुमार खत्रीले प्रहरी चौकी मेउडिहवाको प्रमुख हुँदा पनि उदाहरणीय कार्य गर्नुभएको बताउनुभयो । उहाँले खत्रीले गर्नुभएको कामको अझै पनि त्यहाँका नागरिकले सम्झिने गरेको बताउनुभयो । ‘राजकुमार खत्री सर जहाँ जानुहुन्छ, त्यहाँ केही न केही उदाहरणीय कार्य गर्नुहुन्छ, प्रहरी बस्ने भौतिक पूर्वाधार व्यवस्थित हुनुपर्छ र यसले जनतालाई राम्रोसँग सेवा प्रवाह गर्न सकिन्छ भन्ने सोच रहेको पाएँ, ’गिरीले भन्नुभयो ।

    अस्थायी प्रहरी पोष्ट, बसडिलवाका प्रमुख राजकुमार खत्रीले विगतमा यो प्रहरी पोष्ट पिपलबोट मुनीबाट सञ्चालन भएको बताउनुभयो । उहाँले आफू आएपछि स्थानीय, समाजसेवी, उद्योगी, व्यवसायी लगायतको सहयोगबाट केही गर्ने प्रयास गरेको बताउनुभयो । कार्यालयमा मेससँगै ब्यारेक पार्टेसन, सुरक्षा कम्पाउण्ड, रंगरोगन, वृक्षरोपण, बगैचा, झण्डातोलन लगायतका कामहरु भएको खत्रीले जानकारी दिनुभयो । हाल यो कार्यालयमा ७ जना प्रहरी कर्मचारी कार्यरत रहेको उहाँले जानकारी दिनुभयो ।

    jjkkkk.jpg

    प्रहरी सहायक निरीक्षक प्रतीक्षा खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।