२०८३, बैशाख २५ गते

May 08 2026 | २०८३, बैशाख २५ गते

प्रधानमन्त्री कप छनोटमा रूपन्देही बन्यो च्याम्पीयन

आइतवार , माघ २५, २०८२

  • 841
    Shares
  • 841
    Shares
  • भैरहवा, २५ माघ । रुपन्देही जिल्ला क्रिकेट टीम प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशस्तरीय पुरुष एकदिवसीय क्रिकेट छनोट प्रतियोगिताको च्याम्पीयन बनेको छ ।
     
    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको फाइनल खेलमा रुपन्देहीले बाँके जिल्ला क्रिकेट टीमलाई १ सय ९९ रनको फराकिलो अन्तरले पराजित गर्दै छनोट खेलको च्याम्पीयन बनेको हो ।
     
    टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ३० ओभरमा ४ विकेट गुमाएर २ सय ६३ रनको योगफल बनायो । उसका लागि देब खनालले १ सय ३७ रनको शतकीय पारी खेल्नुभयो । त्यस्तै प्रज्जवल थापाले ७४, आकाश त्रिपाठीले १४ र सन्दीप रजालीले १० रन बनाउनुभयो । बलिङमा बाँकेका लभकुश यादव, अजय साहनी र गौतम कनौजियाले १–१ विकेट लिनुभयो ।
     
    जवाफी ब्याटिङमा बाँकेले १६ ओभर ३ बलमा अलआउट हुँदै ६४ रनमै समेटियो । बाँकेलाई सस्तैमा रोक्न बलिङमा रुपन्देहीका सन्देश थापाले ४, अजय कुमार चौहानले ३, रमेश कुर्मीले २ तथा कृष्ण कार्कीले १ विकेट लिनुभयो । बाँकेका रोहन केसीले १२ र युवराज शर्माले ११ रन बनाउनुभयो । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । 
     
    फाइनल खेलमा रुपन्देहीका देव खनाल प्लेयर अफ द म्याच हुनुभयो । छनोट खेलमा उत्कृष्ट प्रदर्शन गर्नुभएका खनाल म्यान अफ द सिरिज समेत भइ ११ हजार १ सय ११  रुपैयाँ प्राप्त गर्नुभयो । छनोट खेलको विजेता र उपविजेता टीमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 
     
    लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा सम्पन्न छनोट खेलमा सातवटा जिल्लाका टीमको सहभागीता थियो । प्रतियोगिताको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक उत्पादक कम्पनी एग्रो थाई फूड्स थियो । त्यस्तै प्रायोजकमा एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिस, बुटवल, ग्रुप ४ प्रोडक्ट प्रा.लि., काठमाडौं र ग्रुप ४ सेक्युरिटी सर्भिस प्रा.लि., काठमाडौं रहेको खेल संयोजक प्रथम पराजुलीले जानकारी दिनुभयो ।
     
    विजेता र उपविजेता खेलाडीहरुलाई लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेय, लुम्बिनी प्रदेश क्रिकेट संघका कार्यबाहक अध्यक्ष विनय राजभण्डारी, नेपाल क्रिकेट संघ (क्यान) का पूर्व कार्यबाहक सचिव प्रशान्त विक्रम मल्ल, खेल संयोजक प्रथम पराजुली लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा बोल्नुहुँदै मन्त्री पाण्डेयले प्रदेशस्तरमा मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।