२०८२, माघ २९ गते

Feb 12 2026 | २०८२, माघ २९ गते

इरानसँगको सम्झौता सफल हुनसक्छ कि भनेर वार्ता जारी रहने ट्रम्पको भनाइ

बिहिवार , माघ २९, २०८२

  • 226
    Shares
  • 226
    Shares
  • काठमाडौं, २९ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता जारी रहने बताउनुभएको छ ।

    ह्वाइट हाउसमा भ्रमणमा रहनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको बैठकपछि उहाँले यस्तो धारणा राख्नुभएको हो । इरानसँगको वार्ता जारी राख्नुपर्ने आफ्नो अडान बाहेक अन्य कुनै निश्चित निष्कर्ष ननिस्किएको बताउनु भयो । यदि सम्झौता सम्भव भयो भने त्यो आफूहरुको प्राथमिकता हुने उहाँको भनाइ छ । यदि भएन भने नतिजा के हुन्छ भनेर हेर्नुपर्ने बताउनु भयो ।

    दुवै नेताहरूले गाजा र समग्र क्षेत्रमा भइरहेको प्रगतिका बारेमा पनि छलफल गर्नुभयो । ट्रम्पको दोस्रो कार्यकाल शुरु भए यता यी दुई नेताबीचको यो सातौं भेटवार्ता हो । जुन करिव तीन घण्टा चलेको थियो । भेटअघि नेतन्याहूले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग भेट गरी बोर्ड अफ पीस (शान्ति बोर्ड) को सदस्यको रूपमा हस्ताक्षर गर्नुभयो । इजरायली संसद्मा यो पहल विवादास्पद रहेको फक्स न्युजले जनाएको छ ।

    वासिङ्टन भ्रमणअघि नेतन्याहूले पत्रकारहरूलाई भन्नुभएको थियो, “म राष्ट्रपतिसमक्ष इरानसँगको वार्ताका सिद्धान्तहरूका बारेमा हाम्रो अवधारणा प्रस्तुत गर्नेछु, जुन इजरायलका लागि मात्र नभई मध्यपूर्वमा शान्ति र सुरक्षा चाहने सबैका लागि महत्वपूर्ण छन् । 

    नेतन्याहूको कार्यालयले जनाएअनुसार प्रधानमन्त्रीले इरानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रममा सीमा तोक्न र हमास तथा हिजबुल्लाह जस्ता समूहसँगको सम्बन्ध विच्छेद गर्न चाहनुभएको छ । इरानी विदेशमन्त्री सैयद अब्बास अराक्चीले सन् २०१५ को परमाणु सम्झौताभन्दा राम्रो सम्झौता हुनसक्ने विश्वास व्यक्त गर्नुभयो ।

    तर आफ्नो क्षेप्यास्त्र कार्यक्रममा सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । वासिङ्टन र तेहरानबीच गत शुक्रवार ओमानको राजधानी मस्कटमा अप्रत्यक्ष वार्ता भएको थियो । ट्रम्पले वार्ता असफल भएमा इरान विरुद्ध सैन्य कारबाहीका लागि मध्यपूर्वमा दोस्रो विमानवाहक युद्धपोत समूह पठाउने विषयमा विचार गरिरहेको पनि बताउनुभएको छ ।