२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

विपक्षी गठबन्धनले शंकर पोखरेलविरुद्ध कानूनी र राजनीतिक लडाई लड्ने

सोमवार , बैशाख २०, २०७८

बुटवल, २० वैशाख । 
लुम्बिनी प्रदेश सभाको विपक्षी गठबन्धनले अल्पमतमा रहेको दलका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराइएको घटनाको कानूनी र राजनीतिक लडाई दुवै लड्ने निर्णय गरेको छ । केन्द्रमा केपी शर्मा ओलीको तानाशाही जस्तै लुुम्बिनीमा पनि पोखरेलले तानाशाही प्रवृति लाद्न खोजेको आरोप लगाउँदै यस्ता तानाशाहलाई परास्त गरेरै छाड्ने प्रतिवद्धता नेताहरुले जनाएका छन् ।

सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्र कनौडियाले अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेललाई पुनः नियुक्ति गरि सपथ गराइएकोमा बिवोध गर्दै सदन, सडक र अदालत सबैतिर सबै प्रकारको लडाईमा जाने प्रतिबद्धता व्यक्त गरेका छन्। 

नेता कनौडियाले भने, ‘गठबन्धनले ४२ सांसदको हस्ताक्षरसहित सरकारमा दावी पेश गर्दागर्दै ३७ जना सांसदको मात्रै समर्थन भएका पोखरेललाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुले लोकतन्त्रको हत्या र उपहास भएको विपक्षी गठन्धनको ठहर छ । ’
संसदबाट भाग्ने, चोरबाटो प्रयोग गरेर नियुक्ति र सपथ खाने लगाएतका कार्यहरु निकै निन्दनीय रहेको भन्दै अल्पमतमा परेका मुख्यमन्त्री संसदबाट भाग्न नसक्ने जिकिर नेता कनौडियाले गरेका छन् ।

कनौडियाले भने, ‘कति दिन संसदबाट भाग्नुहुन्छ ? यसरी जालझेल गरेर पोखरेल नेतृत्वको सरकार कति दिनसम्म टिक्छ ? संसदबाट कति दिन भाग्नुहुन्छ ? नीति, कार्यक्रम र बजेट ल्याउनु पर्ने होला नि ? संसदमा आएर फेस गर्नुस अनि थाहा हुन्छ । संसदको सामना गर्न नसकेर पोखरेलले एकपछि अर्काे तिकडम अपनाएको तर आफै खनेको खाल्डोका आफै पर्ने खेल खेलेको नेता उनको भनाइ थियो । 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता कुल प्रसाद केसी, नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दीन खान, माओवादी सांसद तुलाराम घर्तीमगर लगायतले जालझेल गरेर बनाइएको अल्पमतको सरकार कदापी स्वीकार नगर्ने र यस्तो सरकारविरुद्ध कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।