२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

भ्याट तथा अन्तशुल्क दाखिलाको समयावधी थप गर्न आग्रह

सोमवार , बैशाख २०, २०७८

बुटवल, २० वैशाख । 
कोरोना भाइरस महामारीको कारण निशेधाज्ञा जारी गरिएकोले विषम परिस्थितिमा मुल्य अभिवृद्धि कर र अन्तशुल्कको मास्केबारी तथा कर दाखिला गर्ने समयावधी थप गर्न बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आग्रह गरेको छ ।

एकातिर निषेधाज्ञाका कारण व्यापार व्यवसाय ठप्प रहेको र अर्कोतिर स्वयं व्यवसायी तथा कर्मचारीहरु समेत कोरोना भाइरस संक्रमणका कारण अस्पताल तथा एकान्तबासमा रहेको बाध्यतालाई व्यवहारिक रुपमा बुझेर मुल्य अभिवृद्धि कर (भ्याट), अन्तशुल्कको मास्केवारी तथा कर दाखिलाको समयावधी अवस्था सहज नभएसम्मको लागि थप गर्न आग्रह गरेको हो ।

बुटवल उद्योग वाणिज्य संघले एक विज्ञप्ती जारी गरि उक्त अवधिभर जरिवाना समेत नलिने व्यवस्था मिलाउनको लागि सम्बन्धित निकायमा आग्रह गरिएको छ । संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूद्वारा जारी विज्ञप्तीमा भनिएको छ-‘यस्तो विषम परिस्थितिमा मुल्य अभिवृद्धि कर, अन्तशुल्कको मास्केवारी तथा कर दाखिलाको समयावधी हालको अवस्था सहज नभएसम्मको लागि थप गर्ने व्यवस्थाका साथै उक्त अवधिभरको जरिवाना नलिने व्यवस्थाका लागि सम्बन्धित निकायहरुमा हार्दिक अनुरोध गर्दछौं ।’

विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस महामारीले सामाजिक तथा आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पारेको औंल्याउँदै सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न तथा सामाजिक दुरी कायम गर्न, मास्क तथा सेनिटाइजरको नियमित प्रयोग र समयसमयमा साबुनपानीले हात धुन र सुरक्षित भएर बस्न समेत उद्योगी व्यवसायीसहित आम रुपमा आह्वान गरिएको छ ।