आइतवार , फाल्गुण १०, २०८२
भैरहवा, १० फागुन । रुपन्देही क्याम्पस र नविन औद्योगिकले ११ औं संस्करणको जिल्लास्तरीय अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगितामा जीत निकालेका छन् । शनिबार भएको खेलमा रुपन्देही क्याम्पसले सिद्धार्थ इन्टरनेशनललाई ९ विकेट र नविन औद्योगिकले न्यु लाइटलाई १ सय ४० रनले पराजित गर्दै जित हात पारेका हुन् ।
रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको सिद्धार्थ इन्टरनेशनलले ९ विकेट गुमाएर १ सय १२ रन बनायो । उसका लागि विकाश न्यौपानेले २८, निराजन भट्टराईले १८, दिपसन क्षेत्रीले १५, निरज भण्डारीले १२ र सुमनराज पाण्डेले १० रन जोडे । बलिङमा रुपन्देही क्याम्पसका सन्तोष यादवले ५, अर्जुन बस्यालले २, मनिष थापा र शिवकान्त यादवले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको रुपन्देही क्याम्पसले ११ ओभर १ बलमा १ विकेटको नोक्सानीमा १ सय १४ रन बनाउँदै सहजै जित हात पार्यो । उसको जितमा सन्तोष यादवले अविजित ५२ र मनिष थापाले नटआउट ५० रनको योगदान गरे । बलिङमा सिद्धार्थका विकास न्यौपानेले १ विकेट लिए । खेलमा सन्तोष यादवल प्लेयर अफ द म्याच भइ एक हजार रुपैयाँ प्राप्त गरे ।
त्यस्तै दोस्रो खेलमा टस हारेर ब्याटिङ गरेको नविन औद्योगिकले ५ विकेट गुमाएर १ सय ८८ रन बनायो । उसका लागि अजय यादवले ३७, विशाल गिरीले अविजित २५, मदन कार्कीले २२, स्वीकृत पौडेलले २२ र केशव सुवेदीले ११ रन जोडे । बलिङमा न्यु लाइटका अशिम श्रेष्ठले ३, जीवन थापाले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको न्यु लाइट ९ ओभर ४ बलमा सबै विकेट गुमाएर ४८ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न बलिङमा नविन औद्योगिकका विशाल गिरीले ५, अर्जुन तरामु र कुशल घिमिरेले २–२ तथा आशिष खनालले १ विकेट हात पारे । न्यु लाइटका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । खेलमा विशाल गिरी प्लेयर अफ द म्याच भइ एक हजार रुपैयाँबाट पुरस्कृत भए ।
फागुन १४ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न २० वटा कलेजहरुको सहभागिता रहेको खेल संयोजक निरज प्रताप खाँणले बताए । प्रतियोगिताको विजेता टीमले ५५ हजार ५ सय ५५ रुपैयाँ, उपविजेता टीमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसै गरी म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बलरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार रुपैयाँ पाउनेछन् । यस्तै, प्रतियोगिताको अनुशासित टिमलाई पनि सम्मानित गरिने आयोजकले जनाएका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij