२०८२, फाल्गुण १३ गते

Feb 25 2026 | २०८२, फाल्गुण १३ गते

दिल्लीतर्फ जाँदै गरेको एयर एम्बुलेन्स दुर्घटना : झारखण्डमा ७ जनाको मृत्यु

बुधवार , फाल्गुण १३, २०८२

  • 184
    Shares
  • 184
    Shares
  • काठमाडौं, १३ फागुन । झारखण्ड राज्यको चतरा जिल्लामा सोमवार राति दिल्लीतर्फ जाँदै गरेको एयर एम्बुलेन्स दुर्घटनाग्रस्त हुँदा चढेका सबै ७ जनाको मृत्यु भएको छ ।

    मृतकहरूमा दुईजना क्रू सदस्य, एक बिरामी र उनका आफन्तहरू समावेश थिए । दुर्घटना राँचीबाट दिल्लीका लागि उडेको बीचक्राफ्ट सी–९० विमानले चतरा जिल्लाको सिमरिया नजिकैको जंगल क्षेत्रमा भएको हो । यो विमान राँचीको बिरसा मुंडा विमानस्थलबाट उडेको थियो ।  खराब मौसमका कारण उडान मार्ग परिवर्तनको अनुरोध गरेको थियो । तर केही मिनेटमै विमानको सम्पर्क विच्छेद भएको र रडारबाट हराएको थियो । 

    विमान रेडबर्ड एयरवेज प्राइभेट लिमिटेडले सञ्चालन गरेको थियो। यो एयर एम्बुलेन्स एक बर्न पीडित बिरामी (सञ्जय कुमार) लाई दिल्लीमा उपचारका लागि लैजान व्यवस्था गरिएको थियो। बिरामीका परिवारले उपचार र विमानका लागि लाखौं रुपैयाँ ऋण लिएका थिए । तर यो यात्रा जीवन बचाउनुको सट्टा ७ जनाको ज्यान जाने दुखद् घटनामा परिणत भयो ।

    दुर्घटना खराब मौसम र चट्याङका कारण भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) र एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्यूरो (एएआईबी) को टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

    स्थानीय प्रशासनले क्षेत्रलाई घेराबन्दी गरी शवहरू निकालेर पोस्टमार्टमका लागि पठाइसकेको छ । यो घटनाले एयर एम्बुलेन्स सेवा र मौसममा उडान सुरक्षाको विषयमा गम्भीर प्रश्न उठाएको छ ।