बिहिवार , फाल्गुण १४, २०८२
भैरहवा, १४ फागुन । ११ औं संस्करणको जिल्लास्तरीय अन्तरकलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगितामा नेपथ्य कलेज र न्यू होराइजन कलेज उपाधिका लागि भिड्ने भएको छन् । बुधबार भएको सेमीफाइनलमा नेपथ्यले बुटवल कालिका क्याम्पसलाई ३ विकेटले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो । त्यस्तै न्यू होराइजनले प्यारामाउण्टलाई ८ विकेटले पराजित गर्दै फाइनल पुगेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो सेमीफाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको बुटवल कालिकाले ८ विकेट गुमाएर ९९ रन बनायो । उसका लागि सन्देश थापाले २१, राज खनालले १६, विशाल भुसालले १५ र रोहित पासवानले १४ रन बनाए । बलिङमा नेपथ्य कलेजका सन्दीप यादव र गणेश धितालले २–२ तथा रोशन बस्याल, प्रविण ढकाल र आरिफ अहमदले समान १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको नेपथ्यले ७ विकेट गुमाएर एक सय रन बनाउँदै जीत हात पार्यो । उसको जीतमा प्रतीक भट्टराईले ३५, सन्दीप यादवले ३४ र लक्ष्मण कुमालले १० रनको योगदान गरे । बलिङमा बुटवल कालिकाका विशाल भुसालले ३ र विपिन भट्टराईले १ विकेट लिए । खेलमा सन्दीप यादव प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।
त्यस्तै दोस्रो सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको प्यारामाउण्टले निर्धारित खेलमा सबै विकेट गुमाएर ९९ रन बनायो । उसका लागि सन्देश पन्थीले २९, देव खनाल र सागर भण्डारीले समान १६–१६ तथा तुलबहादुर थापाले १२ रन बनाए । बलिङमा न्यू होराइजनका महेश भर, विप्रसन केसी र अमर मिश्राले २–२ तथा शुभम खनालले १ विकेट हात पारे ।
प्रतिउत्तरमा न्यू होराइजनले १५ ओभर ३ बलमा २ विकेट गुमाएर १ सय २ रन बनाउँदै जित निकाल्यो । उसको जीतमा संगम पाण्डेले अविजित ३३, प्रिन्स पालले २९ र अमर मिश्राले १९ रन जोडे । बलिङमा प्यारामाउण्टमा आशुतोष पाण्डेले २ विकेट लिए । खेलमा अमर मिश्रा प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टीमले ५५ हजार ५ सय ५५ रुपैयाँ, उपविजेता टीमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बलरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ पाउनेछन् । त्यस्तै प्रतियोगिताको अनुशासित टिमलाई पनि सम्मानित गरिने आयोजकले जनाएका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij