२०८२, फाल्गुण १५ गते

Feb 27 2026 | २०८२, फाल्गुण १५ गते

हङकङको नयाँ बजेटले विज्ञान तथा प्रविधि नवप्रवर्तनलाई बढावा दिने

शुक्रवार , फाल्गुण १५, २०८२

  • 199
    Shares
  • 199
    Shares

  • काठमाडौं, १५ फागुन । हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारका वित्तीय सचिव पॉल चानले २०२६–२७ को बजेट प्रश्तुत गर्दै हङकङले आर्थिक विस्तारको बलियो गतिलाई निरन्तरता दिँदै विज्ञान तथा प्रविधि नवप्रवर्तनलाई नयाँ वृद्धिको इन्जिन बनाउने बताउनुभएको छ ।

    २०२५–२६ आर्थिक वर्षमा कर राजश्व बढेसँगै अर्थतन्त्र र पूँजी बजारको उछालका कारण सञ्चालन खातामा फेरि सरप्लस आएको छ । मजबुत वित्तीय एकीकरण कार्यक्रमले सरकारी कोषलाई पुनः भरिएको उहाँको भनाइ छ । यो वर्ष चीनको १५ औँ पञ्चवर्षीय योजना (२०२६–२०३०) को शुरुवात भएको उल्लेख गर्दै चानले हङकङले राष्ट्रिय विकासमा एकीकृत हुँदै नयाँ गुणस्तरीय उत्पादक शक्ति विकास गर्ने र उद्यमहरूलाई नयाँ बजार खोज्न सहयोग गर्ने बताउनु भयो ।

    चानकाअनुसार २०२६ मा हङकङको आर्थिक वृद्धि २.५ देखि ३.५ प्रतिशतको बीचमा रहने अनुमान छ । अन्तर्निहित मुद्रास्फीति दर १.७ प्रतिशत र समग्र मुद्रास्फीति दर १.८ प्रतिशत हुने प्रक्षेपण छ । २०२७ देखि २०३० सम्म हङकङको अर्थतन्त्र औसतमा वार्षिक ३ प्रतिशत वास्तविक वृद्धि गर्ने र अन्तर्निहित मुद्रास्फीति औसत २ प्रतिशत रहने अनुमान छ ।

    बजेटले विज्ञान तथा प्रविधि नवप्रवर्तनलाई बढावा दिने प्रतिबद्धतालाई नवीकरण गरेको छ । बजेटकाअनुसार २०२६–२७ देखि २०३०–३१ सम्म सञ्चालन खातामा सरप्लस रहनेछ । पुँजी खाता भने उच्च पुँजीगत कार्य खर्चका कारण वार्षिक घाटामा रहनेछ ।

    पूर्वाधार परियोजनाका लागि बन्ड जारी गर्ने कार्य बढाइनेछ । जसलाई हङकङको भविष्यमा लगानी मानिन्छ । यो अवधिमा वित्तीय सञ्चिति क्रमशः बढेर ७०० अर्ब हङकङ डलरभन्दा माथि पुग्ने अपेक्षा छ ।