२०८३, आषाढ १३ गते

Jun 27 2026 | २०८३, आषाढ १३ गते

न्यू होराइजनले जित्यो साई ग्लोबल कपको उपाधि

शनिवार , फाल्गुण १६, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, १६ फागुन । न्यू होराइजन कलेजले ११ औं संस्करणको जिल्लास्तरीय अन्तरकलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । रुपन्देहीको भैरहवामा सम्पन्न फाइनल खेलमा नेपथ्य कलेजलाई ४४ रनले पराजित गर्दै न्यू होराइजनले उपाधि हात पारेको हो ।

    उपाधिसँगै उसले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको नेपथ्यले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको फाइनलमा टस जितेर ब्याटिङमा आएको न्यु होराइजनले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय १४ रन बनायो । उसका लागि आरिफ खानले ३५, महेश भरले २४, प्रिन्स पालले १६ र अमर मिश्राले १२ रन बनाए । बलिङमा नेपथ्यका प्रविण ढकालले ३, लक्ष्मण कुमालले २ तथा रोशन बश्याल, सन्दीप यादव, आरिफ खान र प्रतीक भट्टराईले १–१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको नेपथ्यले १७ ओभर ४ बलमा सबै विकेट गुमाएर जम्मा ७० रन बनायो र हार व्यहोर्यो । उसलाई सस्तैमा रोक्न बलिङमा न्यू होराइजनका शुभम पाण्डेले ४, विप्रसन केसीले ३ तथा महेश भर, प्रिन्स पाल र शुभम खनालले १–१ विकेट लिए । नेपथ्यका सन्दीप यादवले २९ तथा जसिम खान र लक्ष्मण कुमालले समान ११–११ रन बनाए । 

    शुभम पाण्डे प्लेयर अफ द फाइनल भइ १ हजार रुपैयाँ प्राप्त गरे ।
    रुपन्देही क्रिकेट संघको आयोजनामा सम्पन्न प्रतियोगितामा रुपन्देही क्याम्पसका सन्तोष यादव म्यान अफ द सिरिज भइ १० हजार रुपैयाँ पुरस्कार पाए । त्यस्तै बुटवल कालिकाका प्रज्जवल थापा बेष्ट ब्याटर र प्यारामाउण्ट कलेजका आशुतोष पाण्डे बेष्ट बलर घोषित भए । उनीहरु जनही ५–५ हजार रुपैयाँ पाए ।  त्यसै गरी प्रतियोगितामा भैरहवा नमूना कलेज अनुशासित टीम हुन सफल भयो । 

    विजेता र उपविजेता टीमलाई लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेय, रुपन्देही क्रिकेट संघका कार्यबाहक अध्यक्ष धिरज क्षेत्री, कार्यक्रम संयोजक निरज प्रताप खाण, नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव प्रशान्त विक्रम मल्ल, मुख्य प्रायोजक साई ग्लोबल कलेजका सञ्चालकहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।