
मंगलवार , बैशाख २१, २०७८
बुटवल, २१ वैशाख ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले उपमहानगरपालिका भित्र आइसोलेशनमा रहेका संक्रमितका लागि लक्षित गरेर निःशुल्क अक्सिजन सेवा सुरुआत गरेको छ । उपमहानगरले बनाएको आइसोलेशन, होटल आइसोलेशन तथा आफ्नै घरमा आइसोलेट भएका संक्रमितलाई स्वासप्रश्वासमा समस्या भएका तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अस्किजन लिएर पुग्नेछ ।
मंगलबार एक संक्षिप्त कार्यक्रमकाबीच उपमहानगर प्रमुख शिवराज सुवेदीले अक्सिजन सेवा बैंकको शुभारम्भ गरेका छन् । उपमहानगर कार्यालय परिसरमा अक्सिजन सिलिण्ड, सिलिण्डर बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तम्तयारी अवस्थामा राखिएको र आइसोलेशनबाट सूचना आउँदा साथ परिचालन हुनेगरि व्यवस्था मिलाइएको प्रमुख सुवेदीले जानकारी दिए ।
कोरोना संक्रमितको मनोबल बढाउन आयुर्वेद औषधि बोकेर जनप्रतिनिधि आफै घर–घरमै पुगिरहेका बेलामा अहिले अक्सिजनको माग बढेपछि स्वास्थ्यकर्मीसहितको टोलीले सिलिन्डर पुर्याउने गरी नयाँ व्यवस्था गरिएको छ । एम्बुलेन्स, पहिलो चरणमा एक सय थान सिलिण्डर, अक्सिजन बोक्ने गाडी, स्वास्थ्यकर्मी बोक्ने गाडी तयारी अवस्थामा राखिएको छ ।
बुटवलका अस्पतालमा आइसीयू बेड अभाव भइ संक्रमितको ज्यान गएका खबर निरन्तर आउन थालेपछि उपमहानगरले मुलुकमै नौलो कामको थालनी गरेको हो । कोरोनाको दोस्रो लहरमा संक्रमितलाई आइसीयू बेड चाहिने र अक्सिजन थेरापीको खाँचो परेको छ । अक्सिजनसहितको आइसीयू बेड अभावका कारण बुटवलमा कतिपय संक्रमितको ज्यान गएपछि उपमहानगरले अक्सिजन अभावमा ज्यान जानुपर्ने बाध्यतामा रहेकालाई लक्षित गरेर मुलुकमै नौलो कार्यक्रमको सुरुवात गरेको छ ।
होम आइसोलेसनमा रहेकाहरूको परीक्षण, नियमित स्वास्थ्य निगरानी, योग र आयुर्वेद ओखती वितरण, एम्बुलेन्स तयारी अवस्थामा राखेको र लक्षित समुदायका लागि अक्सिजनको समेत व्यवस्था मिलाइएको छ । नगरका दीर्घ रोगीको विवरण संकलन गरेर घरमै अत्यावश्यक औषधी घरमै पुर्याइरहेको छ ।
होम आइसोलेशनमा बसेका संक्रमितलाई तत्कालै अक्सिजन मात्रै भए पनि स्वास्थ्य अवस्था नबिग्रने देखिएपछि अक्सिजनको व्यवस्था गर्न लागिएको नगरप्रमुख सुवेदीको भनाइ छ । आवश्यक प्रक्रिया पूरा गरेर अक्सिजन उपलब्ध गराउने र स्वास्थ्यकर्मीलाई समेत घरमै पठाइनेछ । उपमहानगरको स्वास्थ्य तथा जनसंख्या महाशाखामार्फत स्वास्थ्यकर्मी, प्राविधिकलाई अक्सिजन उत्पादक समक्ष छलफल गर्न, अक्सिजन सिलिण्डर संकलन गर्न, रिफिल गर्न उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा उपसमिति गठन गरेर अक्सिजन बैंक स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो ।
सोही कार्यदलको सहकार्यमा अक्सिजन बैंक शुभारम्भ गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले जानकारी दिए । उक्त कार्यदलमा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, औषधि व्यवसायी संघका सुरज भट्टराई, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, लायन्स क्लब एरिया ४ का सन्दीप कसौधन लगायत छन् ।
अक्सिजन उत्पादक कम्पनी र कोरोना उपचारका लागि स्थापना भएका अस्पतालसँग प्राविधिक विषयमा छलफल भएको र अक्सिजन उपलब्ध गराउने समुदायका लागि मापदण्ड समेत बनाइएको संयोजक एवं उपप्रमुख आचार्यले बताइन् । जनस्वास्थ्यको क्षेत्रमा उपमहानगर जिम्मेवार रहँदै आएको बताउँदै उपलब्ध रहेका साधन स्रोतको अभावमा कसैको पनि अकालमा ज्यान नजाओस् भनेर थप संवेदनशील बनेको उनले बताइन् ।
आयूर्वेदिक औषधी बोकेर संक्रमितको घरदैलोमा
कोरोना संक्रमित भएकालाई हौसला बढाउन प्रमुख, उपप्रमुखसहितको टोली यस वर्ष पनि घरदैलोमा गएको छ । होम आइसोलेशनमा बसेकाहरुका लागि भिटामिन बी, सी, डी र ई, अमला र गिलोयोको चूर्ण, जीङ्ग ट्याब्लेट, पेन्टाप्राजोल टेबलेट र सिटामोल सहितका औषधीसहितको पोको बोकेर जनप्रतिनिधिहरु यस वर्ष पनि संक्रमितको घरघरमा पुगेका छन् ।
उपमहानगरका प्रमुख सुवेदी, उपप्रमुख आचार्य, प्रवक्ता रामप्रसाद रेग्मी तथा सम्बन्धित वडाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीसहितको टोलीले संक्रमितको घरघरमा पुगेर हौसला बढाउने काम गरेका छन् । आयुर्वेद ओखती र जडिबुटी सहित स्वास्थ्यलाभको पत्र बोकेर उनीहरू घरघरमा पुगेको स्वास्थ्य शाखाका प्रमुख उमा थापाले बताइन् । बुटवलले मुलुकमै पहिलो पटक कोरोना संक्रमण भएर होम आइसोलेशनमा बसेकालाई घरमै गएर भेट्ने कार्यक्रम सुरु गरेको थियो ।
महामारी नियन्त्रणमा बुटवलमा भएका नमुना काममध्येको यो पनि एउटा हो । बुटवलले यहाँ डायलासिस गराउने जुनसुकै विरामीका लागि पनि निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै, सहयोगापेक्षी सडक मानवलाई तत्कालै उद्दार गरेर आश्रममा राख्ने, परीक्षण गर्नेसम्मका उदाहरणीय काम गर्दै आएको छ ।
होम आइसोलेशनमा मापदण्ड पूरा गर्न आग्रह
कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकाहरुलाई स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाउन उपमहानगरले आग्रह गरेको छ । होम आइसोलेशनमा बसेकाहरुले सम्बन्धित टोल विकास संस्था वा वडाका जनप्रतिनिधिलाई नाम टिपाउन उपमहानगरले अपील गरेको छ । संक्रमितका लागि घरदैलोमा पुग्नेदेखि अक्सिजन सिलिण्डरसहितका एम्बुलेन्स र स्वास्थ्यकर्मी पठाउन सहज हुने भएकाले नाम र अवस्था टिपाउन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताए ।
कन्ट्रयाक ट्रेसिङ र लक्षण देखिए नि:शुल्क परीक्षण
उपमहानगरपालिकाले संक्रमितको परिवार तथा समुदायमा कन्ट्रयाक ट्रेसिङ गर्ने र लक्षण देखिए निःशुल्क परीक्षणको समेत व्यवस्था मिलाएको छ । १९ वटै वडा, स्वास्थ्य चौकी, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा र उपमहानगरको स्वास्थ्य शाखामा सूचना दिएपछि उनीहरुको स्वाब संकलन गरेर परीक्षण गरिनेछ । संक्रमितहरुका लागि सवारीसाधनको आवश्यक परेमा होल्डिङ सेन्टरसम्म र आइसोलेशनदेखि आपतकालिन सेवा प्रदान गर्ने स्थलसम्म पुर्याउन सवारीसाधनको समेत व्यवस्था मिलाइएको प्रवक्ता रेग्मीले बताए । यी सबै कामका लागि फोकलपर्सन समेत तोकिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij