
मंगलवार , बैशाख २१, २०७८
भैरहवा, २१ वैशाख ।
बागेश्वरी असल शासन (बास) रुपन्देहीले प्रहरीलाई मास्क तथा स्यानिटाइजर प्रदान गरेको छ । बासले जिल्ला प्रहरी कार्यालय रुपन्देही (महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र), जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही, वडा प्रहरी कार्यालय भैरहवा र अस्थायी प्रहरी बीटहरुमा पुगेर मास्क तथा स्यानिटाइजर उपलब्ध गराएको हो ।
कोरोना भाइरस संक्रमणको रोकथामका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञा पालना गराउन अग्रपंक्ति (फ्रन्टलाइन) मा खट्ने प्रहरीलाई मंगलबार मास्क तथा स्यानिटाइजर प्रदान गरिएको बास रुपन्देहीकी कार्यकारी निर्देशक विजया खत्रीले बताइन् । ‘विभिन्न प्रहरी कार्यालयमा पुगेर तथा सडकमा खटिएका प्रहरीलाई गरी ६ सय थान मास्क र ४५० थान स्यानिटाइजर बासले उपलब्ध गराएको छ, ’खत्रीले भनिन् ।
विशेष गरी निशेषाज्ञाको पालना तथा कार्यान्वयन गराउन सुरक्षाकर्मीहरुको भूमिका महत्वपूर्ण भएकोले उहाँहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै मास्क र स्यानिटाइजर प्रदान गरिएका वास रुपन्देहीका सदस्य तथा कार्यक्रम संयोजक श्रवण कान्दुले बताए ।
कार्यक्रममा बास केन्द्रीय सदस्य दीक्षा बोहोरा, रुपन्देहीका उपाध्यक्ष इरिक कंडेल, सदस्य कृष्ण मोहन धरिकार लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij