बिहिवार , चैत्र ५, २०८२
काठमाडौं, ५ चैत । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् ।
गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।
विशेष महाधिवेशनमार्फत कांग्रेस नेतृत्वमा आएका थापाले २१ फागुनमा भएको चुनावमा आफूसहित पार्टीले पराजय व्यहोरेपछि नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।
गगन आफैँ सर्लाही ४ मा पराजित भएका छन् भने कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै जितेको छ । पार्टीलाई जिताउन नसकेको भन्दै थापाले राजीनामा दिएका हुन् ।
थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए । थापाले दिएको राजीनामाबारे पार्टीको आगामी बैठकले निर्णय लिनेछ । केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाइएको छ ।
पूर्वसंस्थापन समूहका नेताहरूले भने विशेष महाधिवेशनको औचित्य नै समाप्त भइसकेको भन्दै पार्टीलाई त्यसअगाडिकै हैसियतबाट अगाडि बढाउनुपर्ने माग गरिरहेका छन् । शुक्रबार बस्ने बैठकमा सभापति थापाको राजीनामाबारे निर्णय लिने बताइएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
