images
images

शुक्रवार, जेठ ४ गते २०८१

तिलोत्तमा नगरपालिकाका प्रमुख–उपप्रमुखले आफू चढ्ने गाडीलाई बनाए एम्बुलेन्स

तिलोत्तमा नगरपालिकाका प्रमुख–उपप्रमुखले आफू चढ्ने गाडीलाई बनाए एम्बुलेन्स

images
images
images
बिहिवार, बैशाख २३ २०७८
बिहिवार, बैशाख २३ २०७८
  • तिलोत्तमा  नगरपालिकाका प्रमुख–उपप्रमुखले आफू चढ्ने गाडीलाई बनाए एम्बुलेन्स

    भैरहवा, २३ वैशाख ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी देवी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाएका छन् । संक्रिमतको संख्या दिनप्रतिदिन बढ्दै जाँदा एम्बुलेन्स मात्र पर्याप्त नभएपछि नगर प्रमुख र उपप्रमुखले आफूहरुले चढ्दै आएका दुई वटा गाडी बिरामीको सेवाका लागि प्रयोगमा लगाएका हुन् ।

    तिलोत्तमा नगरपालिकामा हाल आफ्नै मातहतमा दुई वटा एम्बुलेन्स सञ्चालनमा छन् । नगर प्रमुख र उपप्रमुखले चढ्ने दुई गाडी समेत गरी अब चार वटा सवारीसाधनले कोरोना संक्रमित बिरामीलाई बोक्नेछन् । छिटोछरितो रुपमा सेवा दिनको लागि आफूहरुले चढेको गाडी कोरोना संक्रमितको लागि प्रयोगमा ल्याइएको नगरप्रमुख घिमिरेले बतए । आज नगर प्रमुख र उपप्रमुखले आफूले चढ्ने गाडीको चावी कोरोना फोकल पर्सन केशव भट्टराईलाई हस्तान्तरण गरेका छन् । 

    कोरोना महामारीको विकराल रुप नहट्दासम्म आफूहरु वैकल्पिक व्यवस्था गरी जनताको सेवामा जुट्ने उपप्रमुख चौधरीले बताइन् । संक्रमितलाई अन्य साना सवारीसाधनले सजिलै अस्पताल वा आइसोलेशनमा नपुर्याउँदा समस्या बढ्दै गएको पाइएकोले यो निर्णय गरिएको नगर प्रमुख र उपप्रमुखको भनाइ छ । नगर प्रमुखले प्रयोग गर्ने लु. १ झ. ३६० र उपप्रमुखले प्रयोग गर्ने लु. १ झ. ३२६ नंबरको स्कारपियो आजैदेखि कोरोना संक्रमितलाई बोक्न प्रयोगमा आएका छन् । 
    त्यस्तै नगर प्रहरीले प्रयोग गर्ने लु १ झ ४७२ पनि कोरोना व्यवस्थापनमै प्रयोग हुनेछ । यी सवारीसाधनलाई समेत २४ सैं घण्टा सेवा प्रवाह गर्ने गरी स्टाण्डवाई अवस्थामा राखिने स्वास्थ्य शाखाले जनाएको छ । 

    तिलोत्तमा नगरपालिकामा रहेका एम्बुलेन्स र एम्बुलेन्सको रुपमा प्रयोग हुने थप दुई सवारीसाधन स्वास्थ्य शाखामार्फत् परिचालित हुनेछन् । ‘हामीले जनताकै काम गर्न जनताकै करले किनेका गाडी चढेका हौं । अहिले परिस्थिति असामान्य छ । कोरोनाका बिरामीलाई जोकोहीले बोक्न मान्दैनन् । यसैले जनताकै सम्पत्ति जनताकै सेवामा लगाउने निष्कर्षमा पुगेका हौं ।’ नगरप्रमुख घिमिरेले भने, ‘केही दिन हामी साईकलै चढेर हिँडे पनि फरक पर्दैन । सवारीसाधनको अभावमा समयमै अस्पताल वा आइसोलेशनमा पुर्याउन नपाउँदा कुनै नगरबासीको ज्यान जोखिममा नपरोस् भन्ने हाम्रो उद्देश्य हो ।’ 

    यी सवारीसाधनले मूलतः नगरपालिका भित्रका कोरोना संक्रमितलाई घरबाट अस्पताल वा आइसोलेशन तथा अस्पताल वा आइसोलेशनबाट बिरामीको घरसम्म पुर्याउनेछन् । नगरप्रमुख र उपप्रमुखका सवारीसाधन चलाउने चालक स्थानीय सडक सञ्जालसंग परिचित रहेकोले सेवा प्रवाह थप छिटोछरितो हुने जनाइएको छ ।

    तिलोत्तमा नगरपालिकाले शंकरनगरमा ४० बेड क्षमताको नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सेवा दिने गरी आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ । त्यस्तै वडा नम्बर ९ मा रहेको सभाहलमा थप ६० बेडको आइसोलेशन गराउने गरी काम अघि बढाएको छ । त्यसै गरी नगरपालिकाले कोरोना संक्रमणको जोखिममा रहेकाहरुको शंकरनगरमा हरेक दिन एन्टिजिन परीक्षण गर्दै आएको छ । आइसोलेशनमा एक जना चिकित्सकसहित नर्स लगायतका स्वास्थ्यकर्मी रहेका छन् । 

    नगरपालिकाले विद्यालय नर्स कार्यक्रममा रहेका १२ जना नर्सलाई समेत कोरोना संक्रमितको उपचारमा खटाएको छ । तिलोत्तमा नगरपालिकामा वैशाख १५ यता कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै जाँदा हालसम्म सक्रिय संक्रमितको संख्या झण्डै १ हजार ३ सय पुगेको छ । 

     

    images
    images
    images

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij