२०८२, चैत्र ६ गते

Mar 20 2026 | २०८२, चैत्र ६ गते

असनमा मनाइयो देवता जुधाउने जात्रा

बिहिवार , चैत्र ५, २०८२

  • 391
    Shares
  • 391
    Shares
  • काठमाडौं, ५ चैत । काठमाडौंको ऐतिहासिक र व्यापारिक केन्द्र असनमा पाहाँ चह्रे पर्वको अवसरमा तीन देवीहरूको मिलन गराउने ‘द्यः ल्वाकेगु’ जात्रा भव्यताका साथ सम्पन्न भएको छ ।

    वर्षौंदेखि चल्दै आएको यो परम्परा काठमाडौं उपत्यकाको सांस्कृतिक वैभव हो । नेवार समुदायमा विशेष महत्व राख्ने पाहाँ चह्रे पर्व तीन दिनसम्म मनाइन्छ । यसको दोस्रो दिन असनमा ‘द्यः ल्वाकेगु’ अर्थात देवता जुधाउने जात्रा मनाइन्छ ।

    यो जात्रा खासगरी तीन दिदीबहिनी अजिमाहरू— भद्रकाली (लुमधि अजिमा), कङ्केश्वरी (कङ्ग अजिमा) र नीलबाराही (तेउडा वा लुतिमरु अजिमा) बीचको भेटघाटको प्रतीक हो ।

    धार्मिक विश्वासअनुसार यी तीन दिदीबहिनीहरू वर्षमा एकपटक असनमा भेट हुने गर्दछन् । असनको अन्नपूर्ण मन्दिर अगाडि हुने यस समारोहमा तीनवटा खत (रथ) हरूलाई आपसमा ठोक्काएर देवताहरूलाई ‘भेट’ गराइन्छ ।

    खत बोक्ने युवाहरूले परम्परागत बाजागाजाको तालमा उल्लासका साथ खतलाई घुमाउने र जुधाउने गर्दछन् । यस क्रममा ‘च्वय्ला’ (मशाल) साटासाट गर्ने गरिन्छ । एउटा खतको मशाल अर्को खतसँग साटासाट गर्नुलाई दिदीबहिनीहरू बीचको प्रेम, कुशलक्षेम आदानप्रदान र संवादको रूपमा लिइन्छ । यो दृश्य हेर्न असनमा भक्तजन र पर्यटकहरूको ठूलो घुइँचो लाग्ने गर्दछ ।

    असन काठमाडौँको सबैभन्दा व्यस्त व्यापारिक चोक मात्र नभई यो एक प्रमुख सांस्कृतिक र आध्यात्मिक संगमस्थल पनि हो । परापूर्व कालदेखि नै विभिन्न जात्रा र पर्वहरूको केन्द्रबिन्दुको रूपमा असनले आफ्नो पहिचान बनाएको छ ।

    तीनै अजिमाहरूका खतहरू आ–आफ्नो इलाकाबाट आएर असनको यो निश्चित बिन्दुमा मिलन हुनुले असनको ऐतिहासिक र भौगोलिक महत्वलाई अझ स्पष्ट पार्छ ।

    आधुनिकताको प्रभाव र शहरीकरणको बढ्दो चापका बीच पनि यस्ता मौलिक जात्राहरूले नयाँ पुस्तालाई आफ्नो जरासँग जोड्न मद्दत पु¥याएका छन् । गुठी संस्थान, स्थानीय क्लव र समुदायको सक्रियताले नै यो ऐतिहासिक जात्रा आजसम्म जीवित रहेको छ ।

    हाम्रो अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्नु, यसको मौलिकता जोगाउनु र यसलाई विश्वमाझ चिनाउनु आजको मुख्य आवश्यकता हो । यस्ता पर्वहरूले आपसी सद्भाव र एकताको सन्देश पनि प्रवाह गरिरहेका छन् ।