आइतवार , चैत्र ८, २०८२
भक्तपुर, ८ चैत । भक्तपुरको दुवाकोटमा पनि काठमाडौ मेडिकल कलेज (केएमसी) अस्पतालको उपचार सेवा शुरु भएको छ ।
आईतवार एक समारोहका बीच अस्पतालका सञ्चालक डा. सुनिल शर्माले सो अस्पतालको उपचार सेवाको शुभारम्भ गर्नुभएको हो । हृदयघात, मस्तिष्क घातजस्ता जटिल रोगका विरामीहरुलाई बचाउने मूल ध्येयका साथ सो अस्पतालको शाखा विस्तार गर्नु परेको प्रतिनिधि सभाका निःवर्तमान सांसद समेत रहनुभएका डा. शर्माले बताउनु भयो । उहाँले सो अस्पतालको सेवा २० वर्षपछि पनि सम्भव नहुने खालको भएको जिकिर समेत गर्नुभयो ।
डा. शर्माले भन्नुभयो,‘यो सामन्य खालको हस्पिटल होइन । यो सुपर स्पेसियालिटी हस्पिटल हो । यहाँ वरिपरीका साना हस्पिटलहरु सम्भव नहुने उपचारहरु जो हिजो काठमाडौं पर रिङरोड भित्र रहेका केही लिमिटेड अस्पतालहरुमा मात्रै उपचार सम्भव थिए ।
ती उपचारहरुलाई आज हामीले दुवाकोटमा सम्भव गराउने गरी यो हस्पिटल खोलिएको हो । यसलाई एकदमै बुझनेगरी नेपाली भाषामा भन्नुपर्दा यहाँ एक जना मान्छेलाई हर्ट अटयाक भयोभने एम्बुलेन्स बोलाउनु प¥यो, त्यसले १५ मिनेट टाईम जान्छ ।
लिएर जान जाम टाईममा पु¥यो भने तीनकुने कट्न केएमसी पुग्न आधिघण्टा लाग्छ । गंगालाल, टिचिङ पुग्नु प¥यो भने डेढ घण्टा लाग्छ । त्यो समयको बर्बादी नहोस् समयमै मुटु खोल्नु कुरा तपाईलाई यहाँ केही समस्या भईहाल्यो भने १० मिनेट, १५ मिनेट, ९ मिनेट, २० मिनेट भित्रमा सम्भव गराउन भनेर हामीले यो खोलेको हो ।
प्राविधिक रुपमा काठमाडौं उपत्यकाबाहेक नेपालको धेरै ठाउँमा सम्भव नहुने ब्रेन स्ट्रोक भयो । टाउको गिदीमा हुने नसाहरु ब्लक भए, फुटे । त्यस्ता नशाहरुलाई टाउको नचिरीकन तार र बेलुन हात वा खुट्टाको नशाबाट लिएर गएर त्यसरी यहाँ उपचार गरिन्छ । यो २० वर्ष भित्र पनि यो उपचार नेपालमा सम्भव थिएन । हामीले सम्भव बनायौँ ।’
अस्पतालमा मुटु, किड्नी, मस्तिष्क सम्बन्धि जटिल रोगको उपचारका लागि अत्याधुनिक मेसिनहरुको समेत व्यवस्था गरिएको बताइएको छ । डा. शर्माले अति विपन्न वर्गका लागि निःशुल्क औषधि उपचारको व्यवस्था पनि गरिएको बताउनु भयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij