आइतवार , चैत्र ८, २०८२
भैरहवा, ८ चैत । रुपन्देहीको भैरहवामा ‘प्रथम बटौली कप–२०८२ टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । पृथ्वीनारायण शाह स्पोर्टस प्रतिष्ठानको आयोजना, रुपन्देही क्रिकेट संघको व्यवस्थापन र बुटवल उपमहानगरपालिकाको सहयोगमा आइतबारदेखि प्रतियोगिता सुरु भएको हो ।
आइतबार भएका दुई खेलमा बुटवल गोलपार्क क्रिकेट क्लब र स्टार क्रिकेट एकेडेमी विजयी भएका छन् । गोलपार्कले लुम्बिनी शाक्यन क्रिकेट क्लबलाई ६३ रन र स्टारले पाल्पा–११ लाई ५ विकेटले पराजित गर्दै जित हात पारेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङमा आएको गोलपार्कले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ५३ रन बनायो । उसका लागि ईश्वर क्षेत्री र सागर गैरेले समान ३७–३७, सुजन गौतमले १९, दीपेश रोकाले १५ र हरजीत सिंहले १० रन जोडे । बलिङमा लुम्बिनी शाक्यनका सचिन राजभरले ३, अजमत अली र गल्सन यादवले २–२ तथा आकाश गिरीले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको लुम्बिनी शाक्यनले ७ विकेट गुमाएर ९० रन मात्रै बनायो । उसका लागि प्रियान्सु बर्माले २८ र राहत हुसेनले १९ रन बनाए । बलिङमा गोलपार्कका सागर गिरी र हरजीत सिंहले समान २–२ तथा कलम अली, सुमित थापा र रिक्की पुनले १–१ विकेट हात पारे । खेलमा सागर गैरे प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।
त्यस्तै दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको पाल्पाले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर ९५ रन मात्रै बनायो । उसका लागि जय गोदारले २१, नविन भण्डारीले १९, रोशन घिमिरले १३ र सन्दीप बनियाँले १२ रन बनाए । बलिङमा स्टारका प्रेमसागर दादव, लेख क्षेत्री, कृष्ण विक र किशान भारतीले समान २–२ तथा प्रज्जवल अर्याल र सुमन केसीले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको स्टारले १७ ओभर ४ बलमा ५ विकेट गुमाएर ९६ रन बनाउँदै जित निकाल्यो । उसको जितमा विन्दराम यादवले ४३, आशिष यादवले २२ र रन्जित मौर्यले १३ रनको योगदान गरे । बलिङमा पाल्पाका जय गोदारले ३ तथा शिशिर लुईंटेल र मनिष न्यौपाले १–१ विकेट लिए । खेलमा किशान भारती प्लेयर अफ द म्याच भइ १ हजार रुपैयाँ प्राप्त गरे।
चैत १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी १६ टीम सहभागी छन् । आयोजकका अनुसार प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै उपविजेताले नगद २५ हजारसहित मेडल, म्यान अफ द सिरिजले ट्रफी र १० हजार, बेष्ट बलर र ब्याटरले ट्रफी र जनही ५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij