२०८२, चैत्र ९ गते

Mar 23 2026 | २०८२, चैत्र ९ गते

प्रथम बटौली कप : एमएसएमटी र खुकुरी विजयी

सोमवार , चैत्र ९, २०८२

  • 376
    Shares
  • 376
    Shares
  • भैरहवा, ९ चैत । पृथ्वीनारायण शाह स्पोर्टस प्रतिष्ठानको आयोजना, रुपन्देही क्रिकेट संघको व्यवस्थापन र बुटवल उपमहानगरपालिकाको सहयोगमा भैरहवामा जारी ‘प्रथम बटौली कप–२०८२ टी–२० क्रिकेट प्रतियोगिता सोमबार भएका दुई खेलमा एमएसएमटी क्रिकेट एकेडेमी नैतनवा र लुम्बिनी खुकुरी क्लब विजयी भएका छन् । एमएसएमटीले रेस्पोन्स टीम लुम्बिनीलाई ७ विकेट र खुकुरीले नेपथ्य तिलोत्तमा क्रिकेट एकेडेमीलाई ८ रनले हराउँदै जीत निकालेका हुन् ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको रेस्पोन्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय २८ रन बनायो । उसका लागि रामजन अलीले ३०, करम हुसेनले २९, नितिन त्रिपाठीले २० र अंगद यादवले १९ रन बनाए । बलिङमा एमएसएमटीका अन्स सिंहले ३, प्रधुमन निषाले २ तथा रित्तिक, अंकु यादव र राज यादवले १–१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको एमएसएमटीले १८ ओभरमा ३ विकेट गुमाएर १ सय २९ रन बनाउँदै जित निकाल्यो । उसको जितमा आर्यन अग्रहरीले ४७, अर्मन खाँनले अविजित ३०, रोहित यादवले नटआउट २१ र कमरन खानले १० रनको योगदान गरे । बलिङमा रेस्पोन्सका नितिन त्रिपाठी, अजय गौतम र करम हुसेनले १–१ विकेट लिए । खेलमा आर्यन अग्रहरी प्लेयर अफ द म्याच भइ १ हजार रुपैयाँ प्राप्त गरे ।

    त्यस्तै दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको खुकुरीले १८ ओभर ४ बलमा सबै विकेट गुमाएर ९२ रन बनायो । उसका लागि इकलाख अहमद वारिसले १८, सुमन पाण्डेले १५, बैतुल्लाह खानले ११ र पिन्टु साहनीले १० रन बनाए । बलिङमा नेपथ्यका लक्ष्मण कुमाल र सागर भण्डारीले ३–३ तथा प्रविण ढकाल र तुल्सीराम भण्डारीले २–२ विकेट लिए ।

    प्रतित्तरमा नेपथ्यले ८ विकेट गुमाएर ८४ रनमै अलआउट भयो । उसलाई सस्तैमा रोक्न बलिङमा खुकुरीका इकलाख अहमद वारिस र पिन्टु साहनीले २–२ तथा रोशन गौतम, बैतुल्लाह खान र जितेन्द्र केवटले १–१ विकेट हात पारे । नेपथ्यका प्रतीक भट्टराईले २४, लक्ष्मण कुमालले २२ र आशुतोष पाण्डेले १४ रन बनाए पनि जीतका लागि पर्याप्त भएन । खेलमा इकलाख अहमद वारिस प्लेयर अफ द म्याच भइ १ हजार रुपैयाँ प्राप्त गरे ।

    चैत १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी १६ टीम सहभागी छन् । आयोजकका अनुसार प्रतियोगिताको विजेता टीमले नगद ५० हजार र ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले नगद २५ हजारसहित मेडल, म्यान अफ द सिरिजले ट्रफी र १० हजार, बेष्ट बलर र ब्याटरले ट्रफी र जनही ५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।