२०८२, चैत्र १० गते

Mar 24 2026 | २०८२, चैत्र १० गते

रुपन्देहीमा क्षयरोग नियन्त्रण चुनौतीपूर्ण, सचेतना अभावले जोखिम बढ्दो

मंगलवार , चैत्र १०, २०८२

  • 400
    Shares
  • 400
    Shares
  • भैरहवा, १० चैत । रुपन्देही जिल्लामा क्षयरोग अझै पनि जनस्वास्थ्यको प्रमुख चुनौतीका रूपमा देखिएको छ ।

    सरकारले क्षयरोगलाई दिनप्रतिदिन न्युनीकरण गर्दै लैजाने बताएपनि रुपन्देहीमा भने अपेक्षित रुपमा क्षयरोगको निवारण हुन सकेको छैन् । बिएनएमटि नेपाल क्रिटिक परियोजनाको आर्थिक सहयोगमा स्वास्थ्य कार्यालय, रुपन्देही र भीम अस्पताल भैरहवाको आयोजनामा भएको कार्यक्रममा उक्त कुरा जानकारी दिईएको हो । 

    बिश्व क्षयरोग दिवसको अवसरमा भएको कार्यक्रममा प्रस्तुतिकरण राख्दै स्वास्थ्य कार्यालय रुपन्देहीका बरिष्ठ क्षयकुष्ट अधिकृत टिकाराम अधिकारीले जिल्लामा १८३३ बिरामी रहेको बताउनु भयो । उहाँले रुपन्देहीका १६ वटा पालिकामध्ये सबैभन्दा बढी बिरामी बुटवल उपमहानगरपालिका ४२५ र सबैभन्दा कम कोटहीमाई गाँउपालिकामा सबैभन्दा कम ४१ जना बिरामी रहेको बताउनुभयो । 

    उहाँका अनुसार जिल्लामा हरेक वर्ष सयौंको संख्यामा नयाँ क्षयरोगी पहिचान हुने गरेपनि कतिपय बिरामी उपचारको पहुँचमा आउन नसक्दा समस्या जटिल बन्दै गएको छ ।

    IMG_2635_1.JPG

    कार्यालयले सरोकारवाहाहरुसंग गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले ४ बर्षदेखि ६५ बर्षसम्मका व्यक्तिमा क्षयरोग देखिएको बताउदै नियमित रुपमा औषधी सेवन गरेर स्वास्थ्य लाभ लिन आग्रह गरेका छन् ।

    कार्यक्रममा बोल्दै भीम अस्पतालका प्रमुख डा. बर्षा थापा, स्वास्थ्य कार्यालयका प्रमुख उमादेवि थापा, डा. रितेश बर्नवाल लगाएतले बोल्दै जिल्लाका शहरी क्षेत्रसँगै ग्रामीण तथा सिमावर्ती भेगमा क्षयरोगको जोखिम उच्च रहेको बताउदै सबैको सहकार्यमा रोगलाई न्युन गर्न सकिने बताउनु भयो । 

    गरिबी, कुपोषण, भीडभाडयुक्त बसोबास र जनचेतनाको कमीका कारण क्षयरोग फैलिने सम्भावना बढेको उहाँहरूको भनाइ छ ।

    स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख थापाका अनुसार लगातार दुई हप्ताभन्दा बढी खोकी लाग्नु, तौल घट्नु, ज्वरो आउनु जस्ता लक्षण देखिए पनि धेरै नागरिकले समयमै क्षयरोगको परीक्षण नगराएको बताउनु भयो । 

    सरकारले क्षयरोग नियन्त्रणका लागि डट्स कार्यक्रम सञ्चालन गर्दै निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउँदै आएको छ । तर केही बिरामीले बीचमै औषधि छोड्ने, केहि बिरामीले अरुले थाह पाउछन् भनेर नीजि अस्पतालमा गएर औषधी खाने समस्याका कारण औषधिप्रति प्रतिरोधी (डिआर–टिबी) को खतरा बढ्दै गएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

    विशेषज्ञहरूका अनुसार क्षयरोग नियन्त्रणका लागि समयमै परीक्षण, नियमित औषधि सेवन र व्यापक जनचेतना अभिवृद्धि अत्यावश्यक छ । स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीच समन्वय बढाएर अभियान सञ्चालन गर्न सके मात्रै जिल्लामा क्षयरोग नियन्त्रणमा प्रभावकारी सुधार ल्याउन सकिने देखिएको छ । 

    बिएनएमटि नेपाल क्रिटिक परियोजनाले क्षयरोगका सुषुप्त किटाणु खोज्ने काम पनि गरिरहेको छ । सुषुप्त क्षयरोग भनेको शरीरमा क्षयरोगका जीवाणु भए पनि ती सक्रियः भएर रोग नदेखिएको अवस्था हो ।

    यस्तो अवस्थामा क्षयरोगको कुनै पनि लक्षणहरू देखिदैन र अरुलाई सर्दैन तर भविष्यमा सक्रिय क्षयरोग हुने सम्भावना भएकाले घरमा क्षयरोगी भएपछि अन्य लक्षण नदेखिने सदस्यले पनि ल्याटेन टिविको जाँच गराउनु पर्ने स्वास्थ्यकर्मीको भनाई छ । उक्त जाँच नियमित रुपमा गराए क्षयरोग घट्दै जाने स्वास्थ्यकर्मीको भनाइ छ ।

    शरीर कमजोर भएको बेला वी जीवाणु सक्रिय भई रोग फैलिन सक्छ र समयमै उपचार नगरेमा आफुलाई सक्रिय क्षयरोग हुनुको साथै अरुलाई पनि क्षयरोगका जीवाणु सर्न सक्छ ।

    क्षयरोग (टिबी) का लक्षणहरू प्रायः बिस्तारै देखिन्छन्, त्यसैले सुरुवातमै ध्यान दिनु धेरै महत्वपूर्ण हुन्छ। मुख्य लक्षणहरू यसप्रकार छन्:

    मुख्य लक्षणहरू:

    • लगातार २ हप्ताभन्दा बढी खोकी लाग्नु
    • खोकीसँग कफ वा कहिलेकाहीँ रगत आउनु
    • छाती दुख्नु

    अन्य लक्षणहरू:

    • तौल घट्दै जानु
    • भोक नलाग्नु
    • हल्का ज्वरो (विशेष गरी बेलुका)
    • राति पसिना आउनु
    • कमजोरी र थकान महसुस हुनु

    यदि यीमध्ये कुनै लक्षण देखिएमा ढिला नगरी नजिकैको स्वास्थ्य संस्थामा गएर जाँच गराउनु अत्यन्त आवश्यक हुन्छ। समयमै पहिचान र उपचार गरेमा क्षयरोग पूर्ण रूपमा निको हुने रोग हो।