बुधवार , चैत्र ११, २०८२
काठमाडौं, ११ चैत । प्रधानमन्त्री सुशिला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ ।
बुधवार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । वर्तमान सरकारले जेन–जी आन्दोनलपछिको असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउन सफल भएको बताउनु भयो ।
उहाँकाअनुसार निर्वाचन गराउने कार्य चुनौतिपूर्ण थियो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलले तोकिदिएकै मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरेर संवैधानिक प्रणालीको सुदृढीकरण गरेको दाबी गर्नुभयो । उहाँकाअनुसार निर्वाचनले देशमा लोकतान्त्रिक मूल्य–मान्यता बलियो बनाउँदै नयाँ राजनीतिक अध्यायको ढोका खोलेको छ ।
निर्वाचनमार्फत मतदाताले स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा स्पष्ट जनादेश दिएको उहाँको भनाई छ । सरकार गठनको समयको चुनौतीपूर्ण अवस्थालाई स्मरण गर्दै उहाँले देशको सुरक्षा अवस्था अत्यन्त संवेदनशील रहेको र राजनीतिक दलहरूबीच संवादहीनता रहेको बेलामा आफूले सरकारको नेतृत्व गरेको उल्लेख गर्नुभयो ।
कानूनी–राजनीतिक शुन्यता सिर्जना भएको अवस्थामा ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने कार्य सहज नभएको उहाँको भनाइ छ । उहाँले सरकारले निर्वाचन सम्पन्न गराउन सम्पूर्ण शक्ति र स्रोत परिचालन गरेको र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा निर्वाचन आयोगको कार्यले सफलता हासिल गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जेन–जी आन्दोलनपछिको असामान्य अवस्थालाई सामान्यकरण गर्दै तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सक्नु हाम्रो लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धी हो । निर्वाचनले मुलुकमा संवैधानिक प्रणालीको जगेर्ना गर्दै लोकतान्त्रिक मूल्य मान्यता सुदृढ बनाउन नयाँ अध्यायको ढोका खोलेको छ ।
यस निर्वाचनमार्फत आम मतदाताले स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा प्रष्ट जनादेश दिनुभएको छ । वर्तमान सरकार गठन हुँदा पाएको जिम्मेवारी निर्वाचन सम्पन्न गराउनु थियो तर हामीले जिम्मेवारी लिँदा देशको सुरक्षा अवस्था संवेदनशील थियो । सुरक्षाकर्मीका हतियार खोजिएका थिए, राजनीतिक दलहरु बीच संवादहीनता थियो ।
समग्रमा एकप्रकारको कानूनी राजनीतिक शुन्यता थियो । यी सबै परिदृश्यका बीच ६ महिनाभित्र निर्वाचन सम्पन्न गरेर देशलाई संविधान र लोकतन्त्रको मार्ग ल्याउने प्रतिवद्धताका हामीले जिम्मेवारी लिएका थियौँ, जुन सहज कार्य थिएन । तर सरकारले सम्पूर्ण शक्ति, स्रोत र प्रतिवद्धता यस कार्यमा समर्पित ग¥यो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको कुशल नेतृत्वमा निर्वाचन आयोगले प्रष्ट कार्ययोजना, व्यवसायिक दक्षता र दृढ विश्वासले सफलता पाएको छ, यो कति चुनौतीपूर्ण थियो भन्ने हामीलाई राम्रो ज्ञान छ ।’
प्रधानमन्त्री कार्कीले यसपटकको निर्वाचनले सुरक्षा, स्वच्छता, मितव्ययिता र समयपालनामा नयाँ मानक स्थापित गरेको बताउनु भयो । उहाँले निर्वाचन घोषणापछि समेत मतदाता नामावली संकलन गरी ठूलो संख्यामा युवा मतदातालाई समेटिएको जानकारी दिनुभयो । राष्ट्रिय परिचयपत्र प्रणालीसँग तथ्यांक अन्तरआवद्धता गरी मतदाता प्रक्रियालाई सहज बनाइएको उहाँको भनाइ छ ।
उहाँले निर्वाचनमा मौज्दात सामग्रीको पुनःप्रयोग, सकेसम्म स्वदेशी सामग्रीको प्रयोग र सरकारी संयन्त्रमार्फत पारदर्शी खरिद प्रक्रियाले खर्च नियन्त्रणमा ऐतिहासिक उदाहरण प्रश्तुत गरेको दाबी गर्नुभयो । आगामी सरकारले पनि यस कार्यलाई अनुशरण गर्ने उहाँको विश्वास छ । उहाँले आचारसंहिताको कडा निगरानी तथा सुदृढ सुरक्षा व्यवस्थाका कारण कुनैपनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था नआएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यसपाली हामीले केवल एक थान निर्वाचन मात्रै गराएका छैनौँ, सुरक्षा स्वच्छता, मितव्ययिता र समयको पालनामा एउटा मानक नै स्थापना गर्न सफल भएका छौँ ।
विशेष परिस्थितिमा सम्पन्न यो निर्वाचनले थुप्रै नविन र सकरात्मक अभ्यासहरु स्थापित गरेको छ । निर्वाचन घोषणापश्चात पनि मतदाता नामावली संकलन गरि ठूलो संख्यामा युवा मतदातालाई समेट्न सफल भयौँ, राष्ट्रिय परिचयपत्रको तथ्याङ्क प्रणाली अन्तरआवद्धता गरि मतदाता प्रक्रियालाई सहज बनायाँै ।
मौज्दातमा रहेका सामग्रीको पुनःप्रयोग ग¥यौ, उपलब्ध भएसम्म सबै स्वदेशी सामाग्री उपयोग ग¥यौँ । आयोगले सरकारी निकायमार्फत आवश्यक सामग्री खरिद गरेको पाइयो । तसर्थ मितव्ययितामा पनि ऐतिहासिक नजिर कायम गर्न सफल भएका छौँ । निर्वाचन खर्चको लागि अलग्गै खाता सञ्चालन, निर्वाचन आचारसंहिता उल्लङ्घन हुन नदिन आयोगले कडा निगरानी ग¥यो । सुरक्षा व्यवस्था कडाई गरेर कुनैपनि मतदानस्थलमा फेरि मतदान गर्ने अवस्था आउन दिएनौ ।’
उहाँले निर्वाचनको लागि सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदाय, सुरक्षाकर्मी, निर्वाचन आयोग लगायत सबैलाई धन्यावाद दिनुभयो । निर्वाचनले नेपालको लोकतान्त्रिक व्यवस्थालाई अझ मजबुत बनाएको उल्लेख गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij