२०८२, चैत्र १२ गते

Mar 26 2026 | २०८२, चैत्र १२ गते

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्डमा नेपालमै पहिलो

बिहिवार , चैत्र १२, २०८२

  • 322
    Shares
  • 322
    Shares
  • बुटवल, १२ चैत । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले न्यूनतम सेवा मापदण्ड मूल्यांकन (एमएसएस) मा लगातार उत्कृष्ट नतिजा प्राप्त गरेको छ । अस्पतालले यस वर्ष पनि ‘सेकेण्डरी बी’ लेभल अस्पतालहरुको उक्त मूल्यांकनमा सुधार गर्दै ९० अंकसहित लगातार तेस्रोपटक नेपालमै पहिलो हुन सफल भएको हो । 

    अस्पतालले गत वर्ष ८९ अंक प्राप्त गरेर नेपाल प्रथम हुन सफल भएको थियो । अस्पतालमा बुधबार आयोजित सेवा मूल्यांकन समीक्षा कार्यक्रममा यहाँ उपलब्ध सेवा, उपकरण, भौतिक संरचना तथा जनशक्ति लगायतको बारेमा जानकारी गराइएको थियो । यस अस्पतालसँगै भक्तपुर अस्पतालले समेत समान ९० अंक प्राप्त गरेको छ ।

    सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले सरकारी अस्पतालमा सेवा लिन जाँदा नाक खुम्च्याउनपर्ने अवस्थाको अन्त्य हुँदै गइरहेको बताउनुभयो । उहाँले मूल्यांकनको अंकमा मात्र नभइ जनताले पनि महसुस गर्ने गरी काम गर्न निर्देशन समेत दिनुभयो । उत्कृष्टता हासिल गर्नुभन्दा पनि यसलाई निरन्तरता दिनु चुनौतिपूर्ण भएको बताउँदै उहाँले थप सुधारका काममा लाग्न आग्रह गर्नुभयो । 

    Khem Saru.jpeg

    स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रोशनलाल चौधरीले सेवालाई थप विस्तार विशिष्टीकृत गर्दै लैजान आग्रह गर्नुभयो । उहाँले प्रदेश सरकारले अस्पतालका लागि आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा बजेट व्यवस्थापनमा तयार रहेको उल्लेख गर्नुभयो ।

    अस्पतालका मेडिकल सुपरीटण्डेण्ट डा. इन्द्र ढकालले न्यूनतम स्वास्थ्य सेवा मापदण्ड मुल्यांकनमा प्राप्त अहिले नतिजा प्रयाप्त नभएकोले थप सुधारका योजनासाथ काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले न्यूनतम सेवा मूल्यांकनका मापदण्ड अनुसारका आधारभूूत कुराहरुको व्यवस्थापनमा सरकारले समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सरकारले नीति बनाउँदा कार्यन्वयनको पाटोलाई समेत ध्यान राख्न उहाँले आग्रह गर्नुभयो ।

    त्यसै गरी अस्पतालको निर्माणाधिन भवनबाट स्वास्थ्य सेवा सञ्चालनका लागि अहिलेदेखि नै सञ्चालन कार्यविधि (ओएमएस) निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । अस्पतालमा सेवा विस्तार कार्यक्रम अन्तरगत एमआरआई सेवा सञ्चालन, गाइनोतर्फ डेडिकेटेट अपरेशन थिएटर सञ्चालन, डिजिटल पेमेन्ट सेवा, एसएमएसमार्फत मेडिकल रिपोर्ट सेवा, फार्मेसी सेवा विस्तार, चौबिसै घण्टा बीमा सेवा कार्यक्रम, सामाजिक सेवा इकाई सञ्चालन लगायतका कार्यहरु भएको जानकारी गराउनुभयो । वेस्ट म्यानेजमेन्टका लागि अटोक्लिप मेशिनको प्रयोग तथा प्रशोधन गरी बाहिर पठाउने व्यवस्था, आइभिएफ सेवा सञ्चालनका लागि अध्ययन सुरु लगायतका काम भइरहेको बताउनुभयो ।

    अस्पतालमा हाल ५१ जना विशेषज्ञ चिकित्सकसहित ८५० बढी स्वास्थ्यकर्मी तथा कर्मचारीबाट सेवा प्रदान भइरहेको उल्लेख गर्नुभयो । अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।