२०८२, चैत्र १३ गते

Mar 27 2026 | २०८२, चैत्र १३ गते

प्रथम बटौली कप : बुटवल गोलपार्क र एमएसएमटी विजयी

बिहिवार , चैत्र १२, २०८२

  • 244
    Shares
  • 244
    Shares
  • भैरहवा, १२ चैत । प्रथम बटौली कप–२०८२ टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारका दुई खेलमा बुटवल गोलपार्क क्रिकेट क्लब र एमएसएमटी क्रिकेट एकेडेमी विजयी भएका छन् । बुटवल गोलपार्कले जेआर क्रिकेट एकेडेमीमाथि ३७ रन र एमएसएमटीले बुद्ध क्रिकेट क्लबमाथि ३१ रनको जीत निकालेका हुन् ।

    पृथ्वीनारायण शाह स्पोर्टस प्रतिष्ठानको आयोजना, रुपन्देही क्रिकेट संघको व्यवस्थापन र बुटवल उपमहानगरपालिकाको सहयोगमा भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङमा आएको बुटवल गोलपार्कले ९ विकेट गुमाएर १ सय ३० रन बनायो । उसका लागि सुदीप अर्यालले २६, दीपेश रोकाले २५, सन्दीप खत्रीले २२, कलम अलीले १६ र ऋषभ बेल्बासेले १२ रन बनाए । बलिङमा जेआरका अनमोल श्रीस थापा, शिव कुमार र विष्णु भुसालले २–२ तथा कृष्ण पन्थीले १ विकेट लिए । 

    जवाफी ब्याटिङ गरेको जेआरले ८ विकेट गुमाएर ९३ रन मात्रै बनायो र हार व्यहोर्यो । उसलाई सस्तैमा रोक्न बलिङमा बुटवल गोलपार्कका सुप्रिम कंडेलले २ तथा सागर गैरे, सुदीप अर्याल र कलम अलीले १–१ विकेट लिए । जेआरका शिव कुमारले अविजित ४८, विशाल भुसालले १३ र युशिल भुसालले १२ रन बनाए । खेलमा सुदीप अर्याल प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

    त्यस्तै दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको एमएसएमटीले ६ विकेट गुमाएर १ सय ८४ रनको बलियो योगफल बनायो । उसका लागि राहुल यादवले ५८, आर्यन अग्रहरीले ५२, अर्मन खानले अविजित २३, प्रधुमन निषादले २० र कमरन खानले १५ रनको योगदान गरे । बलिङमा बुद्धका हरिकेष मौर्यले ३, शैलेन्द्र यादवले २ तथा अजय त्रिपाठीले १ विकेट लिए । 

    प्रतित्तउरमा बुद्धले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५३ रन बनायो । उसका लागि अजित यादवले ७१, शैलेन्द्र यादवले २२ र सफिउल्लाह मुसलमानले ११ रन बनाए । बलिङमा एमएसएमटीका अंस सिंहले ५, रितिक कुमारले २ तथा प्रधुमन निषादले १ विकेट लिए । खेलमा अंस सिंह प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे । 

    चैत १५ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका गरी १६ टीम सहभागी छन् । आयोजकका अनुसार प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 

    त्यस्तै उपविजेताले नगद २५ हजारसहित मेडल, म्यान अफ द सिरिजले ट्रफी र १० हजार, बेष्ट बलर र ब्याटरले ट्रफी र जनही ५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।