
शुक्रवार , बैशाख २४, २०७८
भैरहवा, २४ वैशाख ।
प्रेस चौतारी नेपाल, रुपन्देहीले आफ्ना सदस्यहरुका लागि मास्क तथा सेनिटाइजर वितरण गरेको छ । समाचार संकलनमा खटिएका प्रेस चौतारीका सदस्यहरुलाई स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रम अन्तरगत दोस्रो चरणमा सैनामैना नगर क्षेत्रमा खटिएका पत्रकार तथा सञ्चारकर्मीहरुलाइ मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको हो । सोही अभियान अन्तरगत बुधबार भैरहवा क्षेत्रमा कार्यरत प्रेस चौतारीका सदस्य पत्रकारहरुका लागि मास्क लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।
प्रेस चौतारी रुपन्देहीले जिल्लाका सबै स्थानीय तहमा रहेर समाचार संकलन गरिरहेका पत्रकारहरुलाई मास्क सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउने कार्यक्रम रहेको प्रेस चौतारी नेपाल, रुपन्देहीका अध्यक्ष अमृत गिरीले बताए । ‘हामीले बुधबार र बिहीबार गरेर भैरहवा क्षेत्र र सैनामैना क्षेत्रका सदस्यहरुलाई उपलब्ध गरायौं, शुक्रवार देवदह र तिलोत्तमा क्षेत्रका चौतारी आबद्ध पत्रकारहरुलाई वितरण गरिनेछ, गिरीले भने ।’
प्रेस चौतारीले सम्पूर्ण सञ्चारकर्मीहरुलाई सकेसम्म घरमै बसेर वैकल्पिक उपायको खोजी गरी फोन र इमेलका माध्यमबाट समाचार संकलन गर्न र फिल्डमै जान परे अत्यन्त सावधानीका साथ स्वास्थ्य सामग्रीहरुको प्रयोग गरेर मात्र जानका लागि आग्रह गरेको छ । चौतारीले आम सर्वसाधारणलाई समेत कोभिड–१९ को बढदो जोखिमबाट बच्नका लागि संघीय सरकार र स्थानीय सरकारले जारी गरेको निर्देशिका र निषेधाज्ञाको पालना गरेर सुरक्षित साथ घरमै बस्न आग्रह गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij