२०८२, चैत्र १४ गते

Mar 28 2026 | २०८२, चैत्र १४ गते

गोलपार्क र खुकुरी प्रथम बटौली कपको फाइनलमा

शनिवार , चैत्र १४, २०८२

  • 289
    Shares
  • 289
    Shares
  • भैरहवा, १४ चैत । प्रथम बटौली कप–२०८२ टी–२० क्रिकेट प्रतियोगितामा बुटवल गोलपार्क क्रिकेट क्लब र लुम्बिनी खुकुरी क्रिकेट क्लब उपाधिका लागि भिड्ने भएका छन् । शनिबार भएको सेमिफाइनलमा गोलपार्कले एमएसएमटी क्रिकेट एकेडेमी नौतनवालाई ३१ रन र खुकुरीले न्यु होराइजन क्रिकेट क्लबलाई ५ विकेटले हराउँदै फाइनल यात्रा पक्का गरेका हुन् । अब यी दुई टीमबीच आइतबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

    पृथ्वीनारायण शाह स्पोर्टस प्रतिष्ठानको आयोजना, रुपन्देही क्रिकेट संघको व्यवस्थापन र बुटवल उपमहानगरपालिकाको सहयोगमा भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो सेमिफाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको बुटवल गोलपार्कले ७ विकेट गुमाएर १ सय २४ रन बनायो । उसका लागि हरजीत सिंहले अविजित ५० र ऋषभ बेल्बासेले १२ रन बनाए । बलिङमा एमएमएमटीका प्रद्युमन निषादले ३, रितिक कुमार, अंकु यादव, राज यादव र आर्यनचन्द अग्रहरीले समान १–१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको एमएसएमटीले ९ विकेट गुमाएर ९३ रन मात्रै बनायो र हार व्यहोर्यो । उसका लागि अर्मन खानले २९, प्रिन्सले २१ र कमरन खानले १७ रन बनाए । बलिङमा बुटवल गोलपार्कका सुदीप अर्याल र कलम अलीले समान २–२ तथा ईश्वर क्षेत्री, सुप्रिम कंडेल र सुमित थापाले १–१ विकेट लिए । खेलमा हरजीत सिंह प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

    यस्तै, दोस्रो सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको होराइजनले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ६ रन बनायो । उसका लागि प्रिन्स पालले २४, तुलाराम थापाले २३, महेश भरले १९ र अमर मिश्राले १७ रन बनाए । बलिङमा खुकुरीका जितेन्द्र केवटले ४, पिन्टु साहनी, बैतुल्लाह खान र रोशन गौतमले २–२ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेकको लुम्बिनी खुकुरीले १९ ओभर १ बलमा ५ विकेट गुमाएर १ सय ७ रन बनाउँदै जित निकाल्यो । उसको जितमा जितेन्द्र केवटले अविजित २१, निश्चल चौधरीले १९, सुमनराज पाण्डेले १६ तथा समिर अली मुसलमान र रोशन गौतमले समान १५–१५ रन बनाए । बलिङमा न्यु होराइजनका तुलाराम थापाले २ र आइसन अधिकारीले १ विकेट लिए । खेलमा जितेन्द्र केवट प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

    प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, उपविजेताले नगद २५ हजारसहित मेडल, म्यान अफ द सिरिजले ट्रफी र १० हजार, बेष्ट बलर र ब्याटरले ट्रफी र जनही ५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् ।